काठमाडौं । यस सिजनको हिमाल आरोहण अन्तर्गत सर्वाेच्च शिखर सगरमाथा आरोहणमा एक पटक एक सय ७० जना आरोहीले मात्र आरोहण गर्ने पाउने भएका छन् ।
पर्यटन विभागले सगरमाथा आरोहणका क्रममा बढी भिडभाड हुने भन्दै आरोहणलाई व्यवस्थित गर्न र ट्राफिक जाम कम गर्न भन्दै कोटा प्रणाली लागु गरेको हो ।
विभागले एक सूचना जारी गर्दै आरोहणका लागि रोप फिक्सीङ (डोरी टाग्ने) काम सम्पन्न भएपछि अनुकुल मौसम अनुसार पहिला अनुमति लिने आरोहीले पहिलो चरणमा आरोहण गर्न सक्ने जनाएको हो । विभागको सूचना अनुसार पहिलो चरणमा आरोहण अनुमति पत्र नम्बर ६, ७, ९, १४, १७, १९, २०, २२, २३, २४, २५, २६, २७, ३२, ३४, ३६, ३७ र ३८ मार्फत अनुमति लिएका आरोही र दलले पहिलो चरणमा चुचुरोमा जान पाउने छन् ।
उनीहरु आरोहणबाट फर्किसकेपछि आरोहण अनुमति पत्र नम्बर ४०, ४१, ४३, ४५, ४६, ४७, ४९, ५०, ५१, ५२, ५५, ५७, ५९, ६२, ६३, ६७ र ६८ मार्फत अनुमति लिएका आरोहीले चुचुरोमा जान पाउनेछन् । यसले सबै आरोही एकै पटक आरोहणमार्गमा लामबद्ध हुँदा हुने जाम कम गर्न सहयोग पुग्ने विभागको अपेक्षा छ ।
कोटा प्रणालीले आरोहणमा असहज अवस्था आएमा सम्बन्धित एजेन्सीलाई आपसी सहमति र समन्वयमा १५० देखि १७० जनाको संख्यामा आरोहणमा असर नपर्ने गरी आरोहीहरुलाई आरोहणमा पठाउने जिम्मा दिईएको विभाग अन्तरर्गतकाे पर्वतारोहण शाखाले जनाएको छ ।
यस्तैगरी विभागले यस सिजनमा कुनै एक हिमाल आरोहण गरेका वा कुनै क्षेत्रमा पदयात्रा गरी फर्किएका आरोहीलाई अर्काे हिमालमा आरोहण गर्नुअघि अनिवार्य रुपमा पीसीआर परीक्षण गरेर हिमाल आरोहण गर्न अनुरोध गरेको छ ।
अनुमति प्राप्त हिमालको लस्कर मार्गमा यात्रारत रहँदा, आधार शिविरमा बस्दा साथै सो भन्दा माथिल्लो लस्कर मार्गमा यात्रामा रहदाँ आफ्नो समूहमा मात्र रहने, अनावश्यक भिडभाड नगर्ने व्यवस्था मिलाउन सम्बन्धित स्थानीय आरोहण व्यवस्थान गर्ने एसेन्सी र पर्वतीय पथ प्रदर्शकले मिलाउनुपर्नेछ ।
६५९ आरोहीलाई आरोहण अनुमति
यस सिजनको आरोहण अन्तर्गत पर्यगन विभागबाट १६ वटा हिमाल आरोहण गर्न ६ सय ५९ जना आरोहीले आरोहण अनुमति लिएका छन् । मंगलबार साँझसम्मको तथ्यांक अनुसार ५११ पुरुष र १४८ महिला आरोहीले आरोहण अनुमति लिएका हुन ।
विभागको तथ्यांक अनुसार सगरमाथा आरोहणमा सबैभन्दा धेरै ३७१ जना आरोहीले अनुमति लिएका छन् । यस्तै, ल्होत्सेमा १०४, अन्नपूर्णमा ४४, आमादब्लमा २७, धौलागिरीमा ३० र नुप्सेमा २३ जना आरोहीले आरोहण अनुमति लिइसकेका छन् ।
यस वर्षको आरोहण अन्तरगत अन्नपूर्ण हिमालको सफल आरोहण भइसकेको छ भने आरोहीहरु अन्य हिमाल आरोहणको तयारी गरिरहेका छन् ।
१६ वटा हिमाल आरोहणको अनुमतिबाट विभागले ४९ करोड रुपैयाँ बढी राजश्व संकलन गरिसकेको छ ।