अब क्यूआर कोर्ड मार्फत निगमको टिकट खरिद गर्न सकिने

काठमाडौं । अब डिजिटल भुक्तानी प्रणाली (क्यूआर कोर्ड) मार्फत नेपाल वायुसेवा निगमको टिकट खरिद गर्न सकिने भएको छ । निगमले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा क्यूआर स्क्यान प्रणाली आजदेखि सुरु गरेको हो । निगमको केन्द्रीय कार्यालयमा आयोजित एक समारोहकाबीच निगमका महाप्रवन्धक डिम प्रकाश पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रुपमा उक्त सेवाको सुभारम्भ गरेका हुन् । निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले बदलिंदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरु जोड्दै जाने कुरा बताएका थिए । उनले नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालिमा जोडिन पाएकोमा खुशी व्यक्त गर्दै यसबाट दुर्गम र गाँऊ गाँऊबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने बताए । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाईएको बताएका थिए ।

निषेधाज्ञाको तयारीपछि बुद्ध एयरले थप्यो उडान संख्या

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले विभिन्न गन्तव्यमा उडान संख्या थप गरेको छ । सरकारले बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाकामा निषेधाज्ञाको तयारी गरेको भन्दै बुद्धले उडान संख्या थप गरेको जनाएको छ । सोमबार बुद्ध एयरले एक विज्ञप्ती जारी गर्दै निषेधाज्ञापछि आउजाउ गर्न नसक्ने भन्दै आजैबाट सबै गन्तव्यमा उडान संख्या थप भएको जनाएकोे हो। उडान संख्था थपिएपछि यात्रुहरुले आउजाउ गर्न सहज र सरल हुने अपेक्षा रहेको जनाईएको छ । बुद्ध एयरका उडानहरु संक्रमणरहित छन्, यसले हरेक उडान अगाडी जहाजलाई संक्रमणरहित सरसफाई गर्ने गरेको छ । उडानका क्रममा तापक्रम चेकजाँज, फेशशिल्ड तथा मास्कको अनिवार्य प्रयोग तथा ह्याण्ड सेनिटाइज गर्ने गरेको छ, विज्ञप्तीमा भनिएको छ । बुद्धले हाल विभिन्न गन्तव्यमा ९ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र २ वटा विचक्राफ्ट गरी १४ जहाजबाट उडान गरिरहेको छ । भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । यी बाहेक पोखराबाट भैरहवा र चितवनको उडान र काठमाडौं, पोखराबाट माउन्टेन फ्लाईट गरिरहेको छ ।

बन्द हुदैँछ काठमाडौं-नयाँदिल्ली उडान ?

काठमाडौं । पछिल्लो समय भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्यामा वृद्धि भएसगैँ धेरै देशले भारतमा हुँदै आएका उडानहरु स्थगीत गरेका छन् । धेरै देशले कोरोना भाइरस फैलन नदिन भन्दै उडान नै स्थगीत गरेपनि काठमाडौबाट दैनिक एक/एक उडान हुँदै आएका छन् । धेरै देशले अस्थायी रुपमा उडान बन्द गरेपछि नेपाल सरकारले उडान पुनर्विचारको तयारी गरेको छ । पछिल्लो समय भारतबाट धेरै भारतीय नागरिकहरु नेपाल भित्रिएपछि नेपालमा संक्रमितको संख्या बढ्न सक्ने भन्दै उडान सम्बन्धनमा छलफल भएको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले जनाएको छ । ‘भारतमा अवस्था भयावह छ । भारतबाट काठमाडौं उडानको अकुपेन्सी फुल (जहाज भरीभराउ) छ । हाम्रो ध्यान तत्काल काठमाडौं–नयाँदिल्ली उडान बन्द गर्नपर्छ भन्ने छ’, क्यान स्रोतले भन्यो, ‘हामीले तत्काल उडान बन्द गर्नुपर्छ भनेर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग जानकारी माग गरेका थियौँ । छलफल भएपनि मन्त्रालयबाट अनुमति पाईएको छैन ।’ क्यानका प्रवक्ता राजकुमार क्षेत्री नयाँदिल्लीमा हुदैँ आएको उडान पुनर्विचार गर्ने सम्बन्धमा छलफल भएपनि कुनै निर्णय नभएको बताउँछन् । ‘धेरै देशले भारत उडान स्थगित गरेका छन, हामीले पनि उडान सुचारु गर्ने कि बन्द गर्ने विषयमा छलफल गरेका छौँ, उडान पुनर्विचारको सम्बन्धमा छलफल भएपनि निर्णय भएको छैन’, उनले भने । नेपाल सरकारले कोरोना भाइरसका कारण बन्द गरेको उडान धेरै देशमा सुचारु भएपछि गत मंसिरबाट मात्र भारत उडान सुचारु गरिएको थियो । एयर बबल (दुई देशका राष्ट्रिय ध्वजावाहकको दैनिक एक/एक उडान) मार्फत उडान सुरु गरिएको थियो । हाल काठमाडौं–दिल्ली दैनिक एक/एक उडान हुन्छ । जसमा भारत सरकारको स्वामित्वमा सञ्चालित एयर इण्डिया र नेपाल सरकारको स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले दैनिक १–१ उडान गर्दै आएका छन् । अधिकांश देशले रोके भारत उडान पछिल्लो समय भारतमा दोस्रो लहरको संक्रमण देखिएपछि अधिकांश देशले उडान भारत उडान बन्द गरेका छन् । हालसम्म क्यानडा, बेलायत, फ्रान्स, अष्ट्रेलिया, हङकङ, संयुक्त अरब इमिरेट्स, सिंगापुर, न्यूजील्याण्ड, साउदी अरब लगायतका देशले भारतमा उडान रोकेका हुन् । धेरै देशले भारतमा हुदैँ आएको उडान रोकेपछि भारतीय नागरिकका ट्राजिट हव काठमाडौँ विमानस्थल बनेको छ । साउदी सरकारले भारतमा हुँदै आएको उडान कोरोनाका कारण बन्द गरेपछि नेपाल हुँदै भारतीयहरु साउदी जाने गरेका छन् । धरै भारतीयहरु काठमाडौं–नयाँदिल्ली उडान मार्फत साउदी लगायतका विभिन्न गन्तव्यमा जाने गरेका छन् । भारतबाट नेपाल आएका भारतीय ७२ घन्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोटका आधारमा निफिष्की रुपमा घुम्दा नेपालमा संक्रमितको संख्यामा वृद्धि हुने अनुमान गरिएको छ ।दैनिक तीन सयभन्दा बढी भारतीयहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (काठमाडौं विमानस्थल) हुँदै नेपाल भित्रने गरेका छन् ।