नेपालमा अप्रिल महिनामा भित्रिए हालसम्मकै बढी विदेशी पर्यटक
काठमाडौं । गत अप्रिल महिनामा नेपालमा हालसम्मकै बढी विदेशी पर्यटक भित्रिएका छन् । अध्यागमन विभागले जारी गरेको अप्रिल महिनाको तथ्यांक अनुसार कोरोना महामारीका कारण नेपाल सरकारले गत वर्ष गरेको बन्दाबन्दीपछि हालसम्मकै उच्च मात्रामा विदेशी नेपाल आएका हुन् । विभागको तथ्यांक अनुसार अप्रिल महिनामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै विभिन्न १ सय ४४ देशबाट २२ हजार ४५० जना विदेशी नेपाल भित्रिएका छन् । जसमा १७ हजार ५९४ जना पुरुष, ४ हजार ८१९ जना महिला र ३७ जना अन्य नागरिक नेपाल भित्रिएका हुन् । एक महिनामा सबैभन्दा धेरै भारतबाट १३ हजार २०२ जना भारतीय पर्यटक नेपाल भित्रिएका छन् । जसमा एघार हजार ८०४ पुरुष, एक हजार ३६२ महिला र ३६ जना अन्य नागरिक रहेका छन् । यसैगरी चीनबाट ८०३ जना पर्यटक नेपाल भित्रिएका छन् । जसमा ६६५ जना पुरुष र एक सय ३८ जना महिला रहेका छन् । गत जनवरीमा ८ हजार ८ सय ७४ जना र फेब्रअरीमा ९ हजार १ सय ४६ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यस्तैगरी, गत मार्चमा १४ हजार ९७७ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।
सोमबारको आन्तरिक उडान यथावत, बुधबार रातीदेखि केही देशका अन्तराष्ट्रिय उडान बन्द
काठमाडौं । पछिल्लो समय नेपालमा दोस्रो चरणको कोरोना भाइरसको संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले आन्तरिक तथा अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । आईतबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार मध्यरातीदेखि आन्तरिक हवाई उडान तथा बुधबार मध्यरातीदेखि अन्तर्राष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको हो । बैठकले बैशाख मसान्तसम्म उडान बन्दको निर्णय गरेको हो । आन्तरिक उडान बन्दको निर्णयसँगै सोमबारका लागि तय भएका सबै उडानहरु सुचारु हुने भएका छन् । वायुसेवा प्रदायक कम्पनीले आजका लागि तय भएको सेड्युल अनुसारका सबै उडान सुचारु हुने जनाएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै विमानस्थलको भीड कम गरी आन्तरिक उडान सुचारु गर्ने जनाएको छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएपछि पछिल्लो समय आन्तरिक टर्मिनलमा यात्रुहरुको भिडबढी बढी भएको गुनासोका आधारमा विमानस्थल कार्यालयले प्रतिघन्टा तीन वटा उडानको निर्णय गरेको थियो । कार्यालयले हाल आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीलाई उडानको कोटा तोकेको थियो । उक्त कोटा अनुसार आज ४१ वटा उडान हुनेछन् । जसमा बुद्ध एयरले १८, यतीले १०, श्रीले ५, स्टले २ र साना जहाजले लागि ६ वटा उडानको कोटा पाएका छन् । सोमबारमध्यरातीदेखि आन्तरिक उडान बन्दको निर्णयसगैँ वायुसेवा कम्पनीहरुले विमानस्थल कार्यालयमा उडान थपको आग्रह गरेका छन् । ‘हामीलाई धेरै यात्रुले आजका लागि थप उडान गर्न अनुरोध गर्नुभएको छ । भोलीदेखि उडान बन्द हुन्छ । आजका लागि केही उडान थप हुनसकेमा अतिआवश्यक परेका यात्रुहरुले सेवा पाउन सक्थे । यात्रुको अनुरोधका आधारमा हामीले विमानस्थल कार्यालयलाई अनुरोध गरेका छौँ’, बुद्ध एयर स्रोतले भन्यो । तीन देशका उडान बन्द आईतबार बसेको मन्त्रिपरिषद् बैठकले तीन देशमा हुँदै आएको अन्तराष्ट्रिय उडान बन्दको निर्णय गरेको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार भारत, ब्राजिल र दक्षिण अफ्रिकामा हुने सबै उडान बन्द हुनेछ । ‘हामीलाई तीन देशको उडान बन्द भएको मौखिक जानकारी आएको छ । केही सञ्चारमाध्यममा सबै अन्तराष्ट्रिय उडान बन्दको निर्णय भन्ने आएको छ । आज हामीलाई आधिकारीक पत्र आएपछि मात्र कति देशको भन्ने जानकारी आउँछ’, प्राधिकरण स्रोतले भन्यो, ‘आज मध्यरातदेखि आन्तरिक उडान सबै बन्द हुन्छ ।’
हवाई सेवा बन्द गर्ने सरकारकाे निर्णय
काठमाडौं । सरकारले हवाई सेवा बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हवाई सेवा बन्द गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए । ‘अहिले पनि बैठक जारी छ, हवाई उडान बन्द गर्नुपर्छ भन्ने राय सबैले राखेपछि बन्द गर्ने निर्णय भयो, उडान बन्द गर्ने बारे सबै मन्त्रीज्यू सकारात्मक हुनुहुन्छ, पछिल्लो समय झन कोरोना फैलिँदै गएपछि सकैले बन्द गर्नुपर्छ भन्ने राय राखे,’ ती मन्त्रीले विकासन्युजसँग भने । काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि आन्तरिक तथा बाह्य हवाई सेवा भने निरन्तर चलिरहेको छ । सरकारले हवाई उडान बन्द गर्ने निर्णय गरेसँगै अब आन्तरिक र बाह्य हवाई उडान बन्द हुनेछ । नागरिक उड्डयन प्राधिकरणले सेड्युल पास भएका उडान संख्यामध्ये ५० प्रतिशत घटाउन हवाई सेवा प्रदायकहरुलाई भनिसकेको छ ।