त्रिभुवन विमानस्थलमा आन्तरिक तर्फको आगमन टर्मिनल भवन शिलान्यास
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक यात्रुका लागि नयाँ आगमन टर्मिनल भवन निर्माण गर्न लागेको हो । एक वर्षमा काम सम्पन्न गरि सक्ने गरी पाँच करोडको लागतमा उक्त भवन निर्माण गरिन लागेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शिविल इन्जिनियरङ शाखाका प्रमुख हरि अधिकारीले जानकारी दिए । पछिल्लो समयमा थपिँदै गएको आन्तरिक हवाई यात्रुको चापलाई मध्यनजर गर्दै अस्थायी टर्मिनल विकास गर्न लागिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बताए । उक्त भवन निर्माणको जिम्मा ब्राइट मल्टि कन्ट्रक्सनले लिएको छ । उक्त भवन निर्माणपछि यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ । आन्तरिक क्षेत्रमा ट्याक्सी पार्किङ स्थलमा नयाँ आगमन टर्मिनल भवन बनाइने छ भने हालको टर्मिनल भवनलाई प्रस्थान भवनमा मात्र विकास गरिने भएको छ । सो नयाँ टर्मिनल हल ४१ मिटर लामो र २४ मिटर चौडा हुनेछ । करिब ३५ मिटर लामो ब्यागेज कन्भेयर बेल्ट (दुईतर्फी ब्याग लिन मिल्ने) हुनेछ ।
पर्वतारोहण संघको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित
काठमाडाैं । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा निमा नुरु शेर्पा निर्वाचित भएका छन् । गए राति सम्पन्न अन्तिम मत परिणाम अनुसार शेर्पाले ७३५ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी राजेन्द्रमान श्रेष्ठले १२२ मत ल्याए । सङ्घको उपाध्यक्षमा ठाकुरराज पाण्डे ४२८ मत ल्याएर निर्वाचित भए । उपाध्यक्षका अर्का प्रतिस्पर्धी माया शेर्पाले ४२३ मत ल्याए । प्रथम उपाध्यक्षमा आङ दावा शेर्पा, द्वितीय उपाध्यक्षमा दावा जाङ्बु शेर्पा निर्वाचित भएका छन् । यसैगरी महासचिवमा मोहन लम्साल ४८९ मतका साथ विजयी भए । महासचिवका अर्का प्रत्यासी आङ पेम्बा शेर्पाले ३२३ मत प्राप्त गरे । सचिवमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मुक्ति पाण्डे निर्वाचितभएका छन् । यस्तै, सदस्यमा आङदावा शेर्पा, हिसखद गुरुङ, सिंगी लामा, पिताम्बर गुरुङ, राजेन्द्रबहादुर लामा, रामचन्द्र धमला, नम्ग्याल जाङ्बु शेर्पा, पाशाङदावा शेर्पा र दिनेश तामाङ निर्वाचित भए । नयाँ नेतृत्व चयनका लागि शुक्रबार प्रज्ञा भवनमा बिहान ८ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चलेको थियो । सङ्घको दुई हजार ४९ सदस्यमध्ये नवीकरण भएका कूल एक हजार २१५ मतदाता रहेका थिए । अध्यक्षसहित पदाधिकारी र सदस्य गरी २७ सदस्यीय कार्यसमितिका लागि निर्वाचन भएको सङ्घले जनाएको छ ।
युएनडिपी र पर्यटन बोर्डको सहकार्यबारे छलफल
काठमाडौं । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम युएनडिपीका सहायक महासचिव तथा एशिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजाले युएनडिपीअन्तर्गत पर्यटन बोर्डद्वारा सञ्चालित कार्यक्रमबारे छलफल गरेका छन् । वाग्नाराजाले पछिल्लो समय युएनडिपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गर्दै दिगो पर्यटन विकासमा जोड दिन आग्रह गरेकाे बोर्डले विज्ञप्तिमार्फत जनाएको छ । उनले पर्यटन आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएको चर्चा गर्दै बोर्डले गरेका पर्यटन मजदुरका लागि रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्य विस्तारजस्ता कार्यले दिगो पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरिन् । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले युएनडिपीजस्ता संस्थाको सहकार्यले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै सरकार पर्यटन बोर्ड दिगो पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकास र रोजगारी सिर्जनामा ध्यान दिइरहेको जानकारी दिए । कार्यक्रममा बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले नेपालमा पर्यटनको संस्थागत विकासमा युएनडिपीको लामो समयदेखि योगदान निरन्तर रहने विश्वास व्यक्त गरे । उनले युएनडिपीको सहयोगमा सञ्चालिन जीविकोपार्जनका लागि पर्यटन पुनःरुत्थान कार्यक्रम (एसटीएरआरपी) बाट कोभिडबाट पर्यटन क्षेत्रमा परेको असर न्यूनीकरण गर्दै अल्पकालीन रोजगारी सिर्जना तथाा पर्यटकीय गन्तव्यको विकासमा सहयोग पुगको जानकारी दिए । यस्तै बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डले एसटीएलआरपी कार्यक्रमका माध्यमबाट करिब छ हजारलाई अल्पकालीन रोजगारी दिन सकिएको जानकारी दिँदै यो कार्यक्रममा स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संस्थासँग सहकार्यमा गरिएको बताए ।