गुल्मीको धुर्कोटमा ट्रान्सफर्मर चोरी काण्ड, गाउँपालिका अध्यक्षका दाइसहित ६ जना पक्राउ
काठमाडौं । गुल्मीको धुर्कोट गाउँपालिकामा भएको विद्युत ट्रान्सफर्मर चोरी प्रकरणमा गाउँपालिका अध्यक्ष भूपाल पोखरेलका सहोदर दाइ विष्णु पोखरेल पक्राउ परेका छन् । नेपाल विद्युत प्राधिकरणमा करारका कर्मचारी समेत रहेका विष्णु हाल जिल्ला प्रहरी कार्यालय, गुल्मीको हिरासतमा रहेका छन् । धुर्कोट गाउँपालिकाबाट केही समयको अन्तरालमा तीनवटा ट्रान्सफर्मर हराएको विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गंगा बहादुर सारूका अनुसार खोजीका क्रममा ती ट्रान्सफर्मर स्थानीय कबाडी व्यवसायीहरूबाट बरामद भएका थिए । प्रहरीले अनुसन्धानका क्रममा तीन जना भारतीय कबाडी व्यवसायीहरूलाई पक्राउ गरी सोधपुछ गर्दा उनीहरूले ट्रान्सफर्मर विष्णु पोखरेलले बेचेको बताएका थिए । सोही आधारमा पोखरेललाई समेत पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका भारतीय नागरिकहरू बिकेस, पवन र अनिल कुमार रहेको जिल्ला प्रहरीको मुद्दा शाखाले जानकारी दिएको छ । विष्णु भुसाल र मधु नेपालीलाई पनि प्रहरीले पक्रिएर अनुसन्धान अगाडि बढाएको प्रवक्ता सारुले जानकारी दिए ।
अलैँचीको मूल्य निरन्तर उकालो : प्रतिमन एक लाख पुग्यो
झापा । अलैँचीको भाउ यस वर्षको सबैभन्दा उच्चबिन्दुमा पुगेर ओरालो लागेको छ । बुधबार प्रतिमन (४० केजी) अलैँची अधिकतम एक लाख रुपैयाँमा किसानबाट खरिद भइरहेको नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले जानकारी दिए । व्यवसायीले किसानबाट ‘चालू’ र ‘जेजे’ गरी दुई गुणस्तरको अलैँची खरिद गर्दै आएका छन् । जेजे अलैँचीको मूल्य बुधबार एक लाख प्रतिमन कायम भएको हो भने चालू अलैँची ९७ हजार रुपैयाँ प्रतिमनका दरले खरिदबिक्री भइरहेको उनले जानकारी दिए । यस वर्ष अलैँचीको भाउ मंगलबार सबैभन्दा उच्चबिन्दुमा पुगेको थियो । उनका अनुसार मङ्गलबार जेजे अलैँची प्रतिमन एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो । हिजोको तुलनामा बुधबार प्रतिमन दुई हजार रुपैयाँका दरले मूल्यमा गिरावट आएको छ । 'अलैँचीको भाउ निरन्तर उकालो लागिरहेको थियो, आजमात्र दुई हजार रुपैयाँका दरले ओरालो लागेको हो', उनले भने, 'अहिले किसानहरूले औलो क्षेत्रको अलैँची बजारमा ल्याइसकेका छन् भने लेकाली क्षेत्रको अलैँची भर्खर भट्टी लगाउन सुरु भएको छ ।' अलैँचीको बजार मूल्य उच्च हुने भएकाले यसलाई ‘खोल्साको सुन’ भनेर चिनिन्छ । पूर्वी पहाडका किसानहरू अहिले बढेको भाउले प्रत्यक्ष लाभान्वित भएका छन् । अध्यक्ष नेपालका ४२ जिल्लामा अलैँची खेती हुने गरे तापनि कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा धेरै उत्पादन हुने गरेको छ । नेपालमा उत्पादित अलैँचीको ९० प्रतिशतमात्र निर्यात हुने गरेको छ । नेपालबाट भारत पुगेको अलैँची त्यहाँबाट ‘ब्रान्डिङ’ भएर विश्व बजारमा पुग्ने गरेको छ । विश्वबजारमा नेपाली अलैँचीले सोझो पहुँच पुर्याउन सकिरहेको छैन । कोशी प्रदेशमा सात हजार ५०० हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँचीखेती हुँदै आएको छ । आर्थिक वर्ष २०८१÷८२ मा काँकरभिट्टा नाका भएर सात अर्ब ६७ करोड रुपैयाँको अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयले जनाएको छ । चालु आव २०८२/८३ को प्रथम त्रैमासिक अवधिमा अलैँचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको मेची भन्सार कार्यालयले जनाएको छ । विगत साउन, भदौ र असोज महिनामा काँकरभिट्टा नाका भएर एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँ मूल्यबराबरको एक हजार ७२ मेट्रिक टन अलैँची भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । रासस
प्रतिनिधि सभा विघटनमाथि सुनुवाइ सुरू, सर्वोच्चको संवैधानिक इजलासमा आजदेखि बहस प्रारम्भ
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटहरूमा सर्वोच्च अदालतले आजदेखि औपचारिक सुनुवाइ सुरू गरेको छ । अदालतको एनेक्स भवनमा विशेष तयारीसहित संवैधानिक इजलास गठन गरी सुनुवाइ अघि बढाइएको हो । यस विषयमा दायर भएका १६ वटा रिटहरूलाई एउटै मुद्दाका रूपमा संयुक्त सुनुवाइमा ल्याइएको सर्वोच्च अदालतले जनाएको छ । संविधानको गम्भीर व्याख्या–व्यवहारसँग जोडिएको यो मुद्दा हालको राजनीतिक दिशालाई नै प्रभावित गर्नसक्ने भएकाले देशको ध्यान सर्वोच्चमा केन्द्रित भएको छ । सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा सम्मिलित पाँच सदस्यीय संवैधानिक इजलास गठन गरिएको छ । रिट निवेदक पक्षबाट आजको दिन अधिवक्ता प्रेमराज सिलवालले बहस प्रारम्भ गरेका छन् । प्रारम्भिक बहसपछि सरकारी पक्ष र अन्य रिट निवेदकका तर्फबाट पनि क्रमशः बहस चल्नेछ । यो मुद्दाको फैसलाले आगामी राजनीतिक स्थायित्व र सत्ता–संरचनामा निर्णायक प्रभाव पार्ने अनुमान विधि विज्ञहरूले गरेका छन् ।