रसुवाको बाढीको कारण ‘सुप्राग्लेसियल लेक’ विस्फोट

काठमाडौं । भू-उपग्रह तस्बिरको विश्लेषणको आधारमा रसुवाको बाढीको कारण तिब्बती क्षेत्रको हिमताल विस्फोट रहेको प्रारम्भिक निष्कर्ष सार्वजनिक भएको छ।  जलवायु परिर्वतन र मौसममा अध्ययन गरिरहेका विभिन्न संस्थाहरूले तिब्बती क्षेत्रमा रहेको ‘सुप्राग्लेसियल’ ताल विस्फोट भएका कारण बाढी आएको प्रारम्भिक निष्कर्ष निकालेका हुन् । जल तथा मौसम विज्ञान विभागले बाढीको सम्भावित कारण हिमताल विस्फोट हुनसक्ने प्रबल सम्भावना भएपनि कुन ताल विस्फोट भएको भन्ने सम्बन्धमा अध्ययन भइरहेको बताइएको छ । स्वतन्त्र विज्ञहरूको अध्ययन टोलीले यसबारे पुष्टि गरेका छन् । जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले स्याटलाईट तस्बिरको प्रारम्भिक अध्ययनबाट तिब्बती क्षेत्रमा रहेको सुप्राग्लेसियल ताल विस्फोटका कारण बाढी आएको देखिने बताए । सो क्षेत्रमा अन्य तालहरू पनि रहेकाले ती तालको परिर्वतनको अवस्थितिको सूक्ष्म विश्लेषण भने भइरहेको पनि उनले जानकारी दिए । साथै यो ताल धेरै पुरानो पनि नभएको देखिएको उनले स्पष्ट पारे । स्याटलाईट तस्विरहरू हेर्दा सो क्षेत्रमा धेरै ताल रहेको देखिएको पनि उनले बताए ।  ‘सुप्राग्लेसियल लेक विस्फोट भएर यो घटना भएको भन्ने अहिले सम्मको प्रारम्भिक अध्ययनले देखिन्छ । त्यो स्थानमा भारी बर्षा पनि नभएको र स्याटलाईट तस्बिरका आधारमा सोही ताल विस्फोट भएको देखिन्छ', उनले भने, 'विस्फोट अघि र पछिको सो स्थानको वस्तुस्थिति विश्लेषण गर्दा यो देखिन्छ। पहिला र पछिको तस्बिरमा बाढीका तहगत संकेतहरू देखापरेको छ । यो नै  विस्फोटकै कारण बाढी आएको भन्ने भनाइको सत्यता नजिक छ ।’

खेलाडीहरू अब खेल खेलेरे बाँच्नसक्ने स्थिति निर्माण भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद क्षेत्रमा वर्तमान सरकारले पर्याप्त ध्यान दिएको बताएका छन् । बुधबार विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरूलाई आज सम्मान र पुरस्कार प्रदान गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।  उनले नेपालले खेलकुदलाई अघि बढाउन थालेको धेरै समय नभएको बताए । धेरै देशहरूमा संगठित रुपले खेल अघि बढाएको लामो समय भइसक्दा नेपालमा संगठित रुमपा खेल अघि बढेको धेरै समय नरहेको बताए । खेलाडीहरु अब खेल खेलेरे बाँच्न सकिन्छ भन्ने स्तरमा पुगेको बताए । पहिला व्यवसायिक खेलाडी वा सम्पूर्ण रुपमा खेलमै समर्पित खेलाडी हुनसक्ने स्थिति नरहेकोमा अहिले समर्पित खेलाडी हुनसक्ने परिस्थिति निर्माण भएको बताए । परिणामतः नेपालले सफलता हाँसिल गर्दै गएको जिकिर गरे ।  प्रधानमन्त्री ओलीले भने, ‘खेललाई अघि बढाउन थालेको धेरै भएको छैन । अरु धेरै देशहरुमा संगठित रुपले खेल अघि बढाएको लामो समय भइसक्दा हाम्रोमा संगठित रुमपा खेल अघि बढाएको थिएन । पछिल्लो समयमा बढाएपनि त्यसमा पर्याप्त ध्यान गएको थिएन । खेलकुद सुविधाको हिसावले पनि हामीसँग जम्मा एउटा दशरथ रंगशाला थियो, फुटबलका लागि, केही इण्डोर्स खेलहरुका लागि पनि । तर क्रिकेटले पछि आएपनि धेरै राम्रो सफलता प्राप्त गर्दै गएको छ ।’ प्रधानमन्त्री ओलीले गत कात्तिक ७ देखि १२ गतेसम्म जापन उसु ताइजी महासङ्घको आयोजनामा जापानमा भएको तेस्रो थाउलो वल्र्ड कपमा कास्य पदक विजेता विजय सिँजालीलाई नगद ६५ लाख पुरस्कार–प्रमाणपत्र प्रदान गरे । यस्तै गत फागुन २० देखि २५ गतेसम्म इरानमा भएको छैटौँ एशियन कबड्डी च्याम्पियन (महिला) मा काँस्य पदक विजेता खेलाडी मनमति विष्टसहितलाई एक लाख ५० हजारका दरले पुरस्कार दिइएको छ ।  यस्तै गत असोज २० देखि २६ गतेसम्म श्रीलङ्का भलिबल सङ्घको आयोजनामा श्रीलङ्कमा भएको काभा यु–२० पुरुष भलिबल च्याम्पियनसिपमा रजत पदक विजेता अर्जुन नेपालीसहितलाई तीन लाखका दरले पुरस्कार दिइएको छ । उनीहरुलाई राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को व्ववस्थाबमोजिम यही असार ९ गतेको मन्त्रिपरिषद्को बैठकको निर्णयबाट सम्मान तथा नगद पुरस्कार दिइएको हो । साथै यही असार ८ देखि २१ गतेसम्म मलेसियामा भएको एसिसी यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा सिङ्गापुरलाई हराएर उपाधि जित्न सफल विपिनप्रसाद शर्मासहितको टोलीलाई प्रधानमन्त्री ओलीले बधाई तथा स्वागत गरे ।   

‘पानी पर्‍यो भने रातभर निन्द्रा लाग्दैन, बच्चाहरूले घर छोडेर जाउँ भन्छन्, जाने ठाउँ छैन’

काठमाडौं । तीन वर्ष अघिको बाढीले कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगु, सोरु गाउँपालिका वडा नम्बर ८, तारापानीकी स्थानीय चन्दा योगीको ५ कठ्ठा जग्गासहित घर बगाइदियो । अहिले पनि आकाशमा कालो बादल मडारिँदा मन आत्तिन्छ । घर छोडेर जाने सुरक्षित ठाउँ देख्दिनन् । पहाडको खोँचबाट आएको बाढीले फराकिलो बनाएको रुम खोलो बस्ती नजिकै भएर बगेको छ । बस्तीको तलपट्टी मुगु कर्णाली गड्गडाएर झनै डरलाग्दो छ । तारापानीसँगै जोडिएको सीप गाउँको विजय आधारभूत विद्यालयको भवन जिर्ण छ । नजिकै अस्थायी प्रहरी चौकी छ । चौकीको दुईतर्फ खोला छन् । अस्थायी प्रहरी चौकी पनि कतिखेर कटानमा पर्ने हो थाहा छैन । अगाडि मुगु कर्णाली सुसाइरहेको छ । सम्भावित जोखिम सम्झेर बोल्दाबोल्दै आँखा चिम्म गर्छिन् चन्दा, ‘राति ठूलो पानी पर्‍यो भने हामीलाई निन्द्रा आउँदैन । घरभित्र र घरबाहिर गरेर बस्छौँ । घर छोडेर जाउँ भनेर बच्चा कराइरहन्छन् । कता जाने ? हामी सबै जोखिममा छौं । खोलो तटबन्ध गरेर हामीलाई सहयोग गरे हुन्थ्यो ।’ पहिरोले खेतबारी बगाएपछि स्थानीय जीएसएस नामको गैह्रसरकारी संस्थाले गरेको सहयोगले प्रभावितको जीविकोपार्जनलाई सहयोग त पुगेको छ तर जोखिम टरेको छैन । त्यसैले खोलामा तटबन्ध भए ढुक्कसँग निदाउन सकिने थियो भन्ने लागेको छ चन्दालाई । हरेक वर्षको मनसुनमा धार परिवर्तन गरी खोला बस्तीतर्फ सोझिएको छ । त्यसैले राति पानी पर्‍यो भने तारापानीबासी निदाउन सक्दैनन् । ‘खोला नजिकको बस्ती भएकाले पानी पर्नेबित्तिकै हामी जोखिममा पर्छौं । त्यसैले तटबन्ध गरिदिए हुन्थ्यो भन्ने लाग्छ,’ स्थानीय विजय रावल भन्छन्, ‘तटबन्ध गर्न संघ, प्रदेश, पालिका, वडा सबैसँग हारगुहार गरियो तर कसैले सुनेनन् ।’ २०७९ सालभन्दा अघि तारापानी गाउँ हराभरा थियो । १८ असोज २०७९ को बाढीले गाउँको हरियाली मात्रै नष्ट गरेन स्थानीयको सम्पत्तिमा पनि क्षति गर्‍यो । ६० घरधुरी रहेको तारापानीका ७ घर पूर्णरूपमा ध्वस्त भए । तर पीडितको तथ्यांक मिलेन भनेर स्थानीय सरकारले ३ वर्ष भइसक्दा पनि राहत वितरण प्रक्रिया अघि नबढाएको पीडितको गुनासो छ । तारापानी विपद् समूह गठन गरी स्थानीय आफैं विपद् प्रतिकार्यमा जुटेका छन् । त्यसमा जीएसएस नामक गैरसरकारी संस्थाले सहयोग गरेको छ । खोलाको पानी डाइभर्सन गरेर सिँचाइ, पहिरो नियन्त्रणका लागि वृक्षारोपण, विपद् प्रतिरक्षाको तालिम, विपद् उद्धारका सामग्री हस्तान्तरण गरेको छ । स्थानीय मानबहादुर बुढा भन्छन्, ‘२०८० साल साउनको ६ गते हामीले तारापानी विपद् समूह गठन गर्‍यौं । पहिरोलाई रोकथाम गर्न माथिल्लो क्षेत्रमा बोटबिरुवा लगायौं । हामीलाई सरकारले भन्दा संस्थाले ठूलो सहयोग गरेको छ ।’ जीएसएस भन्ने संस्थाबाट समूहका ८ जनालाई कृषि औजार दिने निर्णय गर्दा आफूहरू बैठक बसेर सबैभन्दा कमजोर सदस्यलाई त्यो औजार दिने निर्णय गरेको उनी बताउँछन् । संस्थाले बेमौसमी तरकारी खेतीका लागि टनेल, बीउ लगायतका सामग्रीहरू पनि दिएको र सिँचाइका लागि बनाइदिएको कुलोबाट ६० जनाले सुविधा पाएको उनी बताउँछन् । संस्थाले विपद् उद्धार सामग्री पनि दिएको छ । स्थानीयले ती सामग्री चोरी हुने डरले अस्थायी प्रहरी चौकीमा राखेका छन् । अस्थायी प्रहरी चौकी तारापानीका प्रहरी हवलदार चन्द्रबहादुर जिसी भन्छन्, ‘विपद्को समयमा समन्वय गर्न सजिलो होस् भनेर समूहले उद्धारका सामानहरु जिम्मा लगाउनुभएको छ । त्रिपाल, लाइफ ज्याकेट, डोरी, बुट, रेनकोट लगायत विपद् उद्धारका सामानहरू संस्थाले हामीलाई जिम्मा लगाउनुभएको छ । विपद्को समयमा छिटो छरितो होस् भन्नका लागि हामीले तयारी अवस्थामा राखेका छौं ।’ सोरु गाउँपालिकाका अध्यक्ष धरमबहादुर शाही दुर्गम कर्णाली प्रदेशका हिमाली जिल्लाका गाउँपालिकाहरूमा पर्याप्त बजेट अभावका कारण जन चाहनाअनुसार विकास गर्न नसकिएको बताउँछन् । दुर्गम क्षेत्रको विकास निर्माणको काममा गैह्रसरकारी संस्था र निजी क्षेत्रलाई आकर्षित गर्न केन्द्र सरकारले राम्रो सहजीकरण गर्नुपर्ने उनले बताए । ‘म आफैँ पनि स्थानीय सरकारको प्रमुख हो । तीनै तहको सरकारसँग मेरो अनुरोध छ, हामीले निजी क्षेत्र र संघसंस्थालाई सहजीकरण गरेर विकास निर्माणका कामहरुमा सहकार्य गर्नुपर्छ ।’ विपद् तथा आकस्मिक घटनाहरुमा स्थानीय महिलाहरु सजग हुन थालेका छन् । जसले जनधनको क्षति कम गर्न मद्दत पुगेको छ ।