काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा जाने भएको छ । बैंक सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले मर्जरमा जाने निर्णय गरेको हो ।
मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न बैंकले असार १४ गते बिहान ११ बजे विराटनगर, मोरङस्थित होटल रुविजमा १५औँ वार्षिक साधारण सभा बोलाएको छ ।
बैंकको सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग गाभिने वा प्राप्ति (मर्जर/एक्विजिसन) सम्बन्धी सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिनेछ । साथै मर्जर प्रक्रियाका लागि आवश्यक मूल्याङ्कनकर्ता नियुक्ति तथा सम्पत्ति-दायित्व मूल्याङ्कनसम्बन्धी अधिकार पनि समितिलाई नै दिने प्रस्ताव छ ।
यस्तै, सभामा गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव पेश गरिनेछ । साथै चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ ।
बैंकले साधारण सभा प्रयोजनका लागि असार २ देखि असार १४ गतेसम्म सेयरधनी दर्ता पुस्तिका बन्द रहने जनाएको छ । असार १ गतेसम्म कारोबार भई नामसारी भएका सेयरधनीहरू सभामा सहभागी हुन सक्नेछन् ।