ग्राहकका लागि डिशहोमको उपहार : वर्षदिनको इन्टरनेट सित्तैमा

काठमाडौं । डिशहोमले आफ्ना इन्टरनेट ग्राहकहरूका लागि ‘खुशीको बोनस – ३६५ दिन नै बोनस !’ शीर्षकको विशेष योजना सार्वजनिक गरेको छ । यो अफर अन्तर्गत नयाँ वार्षिक इन्टरनेट जडान वा रिचार्ज गर्ने ग्राहकहरू प्रत्येक हप्ता हुने लक्की ड्र मा सहभागी हुनेछन् । कम्पनीका अनुसार प्रत्येक हप्ता १४ जना विजेता छनोट हुनेछन् । जसमध्ये १० जना नयाँ ग्राहक र ४ जना हालका रिचार्ज गर्ने ग्राहक हुनेछन् । विजेताहरूले ३६५ दिनको इन्टरनेट सेवा सित्तैमा पाउनेछन् । डिशहोमले यो अफर आफ्ना ग्राहकहरूसँगको सम्बन्ध अझ प्रगाढ बनाउने र उनीहरूको निरन्तर साथप्रति आभार प्रकट गर्ने उद्देश्यले ल्याएको हो । लक्की ड्रको नतिजा डिशहोमको आधिकारिक फेसबुक पेज तथा रमाइलो एचडी च्यानलमार्फत हरेक शुक्रबार साँझ ५ बजे सार्वजनिक गरिनेछ । विशेष परिस्थितिमा, नतिजा आईतवार साँझ ५ बजे गरिनेछ । ग्राहकहरूले नजिकको डिशहोम डिलरमार्फत वा खल्ती, ईसेवा, माइडिशहोम एप प्रयोग गरेर सेवा जडान वा रिचार्ज गर्न सक्नेछन् । डिशहोमले प्रदान गर्ने वार्षिक प्याकेजहरूमा १०० एमपीबीएस देखि ३०० एमपीबीएससम्मको गति उपलब्ध छ । यस योजनाले ग्राहकहरूलाई उच्च मूल्यमा उत्कृष्ट अनुभव दिन सहयोग पुर्‍याउने कम्पनीको विश्वास छ ।

डिशहोम सोलिडारिटी फुटसल कप २०२५ सम्पन्न,  उपाधि सीजी कम्युनिकेसनलाई

काठमाडौं । डिशहोमले आयोजना गरेको पहिलो ‘डिशहोम सोलिडारिटी फुटसल कप २०२५’ सम्पन्न भएको छ। भैँसेपाटीस्थित वन ट्री हिल फुटसलमा व्यावसायिक साझेदार कम्पनीहरूबीच असार १४ र २१ गते आयोजित फुटसल प्रतियोगितामा १४ कम्पनीलाई प्रतिनिधित्व गर्दै १७ टिम सहभागी भएका थिए । सहभागी टिमलाई ४ वटा समूहबीच विभाजन गरी समूह चरणको खेल खेलाइएको थियो । प्रतियोगिताको फाइनल खेलमा सीजी कम्युनिकेसन लिमिटेडले नेपाल डिजिटल सर्भिसलाई पराजित गर्दै उपाधि हात पारेको थियो ।   तेस्रो स्थानका लागि भएको खेलमा अप्टिनेट सोलुसनले आईएमई कर्पोरेटिभलाई हराउँदै तेस्रो स्थान हासिल गरेको थियो । विजेता सीजी कम्युनिकेसन, दोस्रो भएको नेपाल डिजिटल सर्भिस, र तेस्रो स्थान प्राप्त गरेको अप्टिनेट सोलुसनले क्रमशः नगद राशी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए । उत्कृष्ट खेलाडीमा धिरज बास्कोटा (अप्टिनेट सोलुसन) बाट र उत्कृष्ट गोलकिपर लोकेन्द्र तामाङ (सीजी कम्युनिकसेन) बाट चयन भए । समापन समारोहमा डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले पुरस्कार वितरण गरेका थिए ।

साउने सङ्क्रान्ति पर्व देशभर मनाइँदै, राक्षसको पूजा गरी अगुल्टो फाल्ने

काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली असार महिना भर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यस क्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् ।  एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रूपमा भगवान शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ ।  महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन् । साउन महिनामा विशेषगरी हरियो कपडा, चुरा बढी बिक्री हुने गरेको छ । यो महिनामा धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन् ।