ओलीमाथि लगाइएको स्थानहद विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । काठमाडौं उपत्यकाबाट बाहिर जान नपाउने गरी नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि तोकिएको स्थानहद निर्णयविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दायर गरिएको छ । अधिवक्ता डा. प्रेमराज सिलवालले सार्वजनिक सरोकारको विषयका रूपमा मंगलबार उक्त रिट सर्वोच्च अदालतमा दर्ताका लागि पेश गरेका हुन् । उनले ओलीमाथि लगाइएको स्थानहद असंवैधानिक र कानूनी प्रावधानविपरीत रहेको दाबी गरेका छन् । सर्वोच्च अदालतका एक कर्मचारीका अनुसार रिट निवेदन अध्ययनको चरणमा रहेको छ । उनले भने, 'रिट पेश भइसकेको छ, हाल अध्ययन भइरहेको छ। अध्ययन पूरा भएपछि दर्ता हुने वा नहुने भन्ने निर्णय हुनेछ ।' यसअघि काठमाडौं उपत्यका प्रशासनले ओलीलाई उपत्यका बाहिर जान नपाउने गरी स्थानहद तोकेको थियो, जसको विरोधमा यो रिट सर्वोच्चमा दायर गरिएको हो ।  

‘नेपाल लिबरल पार्टी’ गठनको घोषणा

काठमाडौं । आर्थिक उन्नतिको लक्ष्यसहित डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा डा. न्यौपानेको नेतृत्वमा नेपाल लिबरल पार्टी गठनको घोषणा गरिएको हो ।      आम नागरिकको व्यक्तिगत स्वतन्त्रता र आर्थिक सुधार गर्ने पार्टीको मुख्य लक्ष्य रहेको सभापति डा न्यौपानेले बताए । 'नेपाली जनतालाई सदाका लागि गरिबी, भय–त्रास बेरोजगारीबाट मुक्त गर्न, तत्काल न्यायको प्रत्याभूति दिन,  कानुनी शासन बहाल गर्न, सुशासनमार्फत जनताको दैनिकी सजिलो पार्न र आर्थिक उदारवादमार्फत आर्थिक समृद्धि हासिल गर्न यो पार्टी गठन गरिएको हो', उनले भने ।      पार्टीले उदारवादी अर्थव्यवस्था, कर–कटौती, खुलापन, पारस्परिक सम्मान, उत्तरदायी प्रशासन, बजार विनियमन, आधुनिकीकरण, औद्योगिकीकरण, शहरीकरण, नैतिक राजनीति र विश्वव्यापीकरणको व्यावहारिक प्रयोगको नीति रहेको सो पार्टीका महासचिव डा. सुशील पौडेलले बताए । 'हाम्रो पार्टीको एउटै एजेन्डाः आर्थिक उन्नति हो', उनले भने ।    

विप्लव नेतृत्वको नेकपा नाम परिवर्तन गरेर दल दर्ताको तयारीमा, निर्वाचन आयोग पुग्यो विप्लवको टीम

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेकपा दल दर्ताका लागि मंगलबार निर्वाचन आयोगमा पुगेकाे छ । पार्टी स्रोतका अनुसार महासचिव विप्लवको नेतृत्वमा मंगलबार दिउँसो आयोगमा पुगेर दल दर्ताको प्रक्रिया सुरु गरेकाे छ ।  यसअघि नै नेकपाले दल दर्ता प्रक्रियालाई अघि बढाउन स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो । समितिमा केन्द्रीय सदस्य तथा काठमाडौं सेक्रेटरी चिरञ्जीवी ढकाल र वरिष्ठ अधिवक्ता कपिलचन्द्र पोखरेल सदस्यका रूपमा रहेका छन्।  आयोगमा यस अघिनै नेकपा नामको दर्ता भइसकेकाले विप्लव नेतृत्वको समूहले पार्टीको नाम परिवर्तन सहित नयाँ रूपमा दर्ता गर्ने तयारी गरेको बताइएको छ ।