टेम्पो खसालेको प्रकरण : पीडित पक्षसँग छलफल, वार्ता नमिलेमा प्रक्रिया अगाडि बढ्छ

फाइल तस्विर

काठमाडौं । टेम्पो भीरबाट खसालिएको आरोपमा १२ जना वन कर्मचारीलाई कैलाली प्रहरीले आइतबार नियन्त्रणमा लियो । कैलाली जिल्ला प्रहरी कार्यालयले उनीहरूले सोधपुछका लागि नियन्त्रणमा लिइएको बताएको छ । 

वनका १२ जना कर्मचारीहरू प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

'पीडित पक्षलाई बोलाएका छौँ । छलफल गरेर निष्कर्षमा पुगेमा यतिकै छाड्छौँ । वार्ता नमिलेमा प्रक्रिया अगाडि बढाइने छ, ' उनले भने ।

वन कार्यालय कैलालीका कर्मचारीले शनिबार गोदावरीमा एउटा टेम्पो धकेलेर भीरबाट खसालेको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो नै सार्वजनिक भएपछि सर्वसाधारणदेखि सांसदहरूले वन कर्मचारीहरूले गरेका व्यवहारको आलोचना गरेका थिए । 

गोदावरी नगरपालिका–४ बासपानीकी ४४ वर्षीया धनादेवी धामीको टेम्पो वन कार्यालयका कर्मचारीहरुले भीरबाट धकेलेर खसालिदिएका थिए । धामीले घर नजिकै भीमदत्त राजमार्गको गाइमारे डाँडास्थित सडक छेउमा टेम्पोमा सामान लिएर बेच्ने गर्थिन् । 

Share News