कांग्रेस कार्यवाहक सभापति खड्काले भने - प्रतिनिधिसभा विघटन असंवैधानिक

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा असंवैधानिक रूपमा विघटन भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् । सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित नेपाल तरुण दलको ७३औँ स्थापना दिवस समारोहमा उनले आफ्नो विचार राख्दै असंवैधानिक कदमको कडा आलोचना गरेका हुन् । खड्काका अनुसार जनआन्दोलनको माध्यमबाट गठन भएको अन्तरिम सरकारले देशको लोकतान्त्रिक प्रक्रियामा चोट पुर्‍याएको छ । उनले भने, 'हाम्रो संविधान र लोकतान्त्रिक मान्यताहरूको मर्मलाई बेवास्ता गर्दै प्रतिनिधिसभा विघटन गर्नुले जनताको विश्वासमा ठूलो धक्का पुगेको छ ।' सभापतिले पार्टीको भातृ संगठन नेपाल तरुण दलका सदस्यहरूलाई लोकतन्त्रको रक्षामा सक्रिय भूमिका खेल्न र सचेत नागरिकका रूपमा अघि बढ्न प्रेरित गरेका छन् । उनले वर्तमान राजनीतिक परिस्थितिमा संवाद र सहकार्यको महत्त्वमा पनि जोड दिएका छन् । कार्यवाहक सभापति खड्काले युवाहरूलाई असंवैधानिक कदमहरूलाई नसहन र संविधानको सर्वोच्चता कायम राख्ने लडाइँमा अनवरत लाग्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्की कमलपोखरीमा छठ पूजा गर्न जाने

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्की सोमबार कमलपोखरीमा छठ पूजा गर्न जाने भएकी छन् । छठ पर्वको अवसरमा प्रधानमन्त्रीको उपस्थितिमा पूजा हुने भएकाले कमलपोखरी क्षेत्रलाई विशेष रूपमा सजावट गरिएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार प्रधानमन्त्री कार्कीले आज दिउँसो ४:१५ बजे कमलपोखरीमा विशेष पूजा गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको आगमनलाई लक्षित गरी कमलपोखरी र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैन : संयोजक प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताएका छन् । सोमबार पत्रकारसँग उनले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको विकल्प नभएकाले सबै त्यसमा होमिनुपर्नेमा जोड दिए ।      संयोजक दाहालले निर्वाचन सफल पार्नु पार्टीको पहिलो कार्यभार भएकाले पार्टीको तल्लो तहसम्मका नेता कार्यकतालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिइएको बताए । उनले भने, 'चुनाव हुन्छ वा हुँदैन भन्ने होइन । चुनावको विकल्प छैन । त्यसैले पार्टी यसको तयारीमा लागिसकेको छ', उनले भने, 'मैले नेपाली कांग्रेसलगायत दलका नेताहरूसँग पनि निर्वाचनको विकल्प नरहेको विषयमा कुराकानी गरिरहेको छु । चुनावको वातावरण बनाउन हामी सबै लागौँ । सरकार चुनावको वातावरण बनाउन लागेको मैले अनुभूति गरेको छु ।'       संयोजक दाहालले अन्य कुरामा नअल्मलिएर निर्वाचनमा केन्द्रित हुन सरकारलाई आग्रह गरे । यस्तै, समाजवादी मोर्चामा रहेका पार्टीहरूसँग एकताका लागि छलफल सकारात्मक भएको उनको भनाइ थियो । 'यही हप्ताभित्र मोर्चाभित्र रहेका दलबीच एकता हुने वा नहुने निष्कर्ष आउँछ । यसबाहेक मधेसवादीसहितका दल र  माओवादी मिलेर निर्वाचनमा जाने सम्भावना पनि छ', संयोजक दाहालले भने ।