शनिबारसम्म वर्षा र हिमपात : ‘मोन्था’ चक्रवातले ल्यायो मौसम परिवर्तन

काठमाडौं । ‘मोन्था’ चक्रवातले शनिबार बिहानसम्म देशका अधिकांश भागमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा  मध्यम वर्षा हुने तथा शनिबार बिहानदेखि मात्र मौसम सुधार आउने जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले बताए । आगामी २४ घण्टा काठमाडौं उपत्यकाका साथै आसपासका क्षेत्रमा वर्षा हुने जानकारी दिँदै उनले सबै स्थानमा निरन्तर वर्षा भने नहुने बताए ।  आगामी २४ घण्टामा कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।   

प्रधानमन्त्रीको सचिवालयले भन्यो - कसैको दबाबमा गृहमन्त्री हटाइँदैन

काठमाडौं । प्रधानमन्त्री शुशिला कार्कीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने विषयमा सञ्चार माध्यममा आएका समाचारहरू भ्रमपूर्ण भएको स्पष्ट गरेको छ । बिहीबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले हाल केही सञ्चार माध्यमले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन दबाब दिएको भन्ने समाचार प्रसारित गरेको उल्लेख गर्दै त्यस्ता विवरणमा कुनै सत्यता नभएको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, 'कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीको विशुद्ध अधिकारक्षेत्रको कुरा हो । कसैको दबाब वा प्रभावमा यस्ता निर्णय हुन सक्दैन ।' प्रधानमन्त्रीको सचिवालयका अनुसार जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुसार बनेको यो सरकारले असामान्य परिस्थितिमा राष्ट्रको जिम्मेवारी सम्हालिरहेको छ । गृहमन्त्री अर्यालले आसन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन, शान्ति–सुरक्षा कायम राख्न र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न निरन्तर खटिरहेको उल्लेख गरिएको छ । यस संवेदनशील समयमा अफवाह नफैलाउन र नपत्याउन सबै पक्षलाई सचिवालयले आग्रह गरेको छ ।

अध्यक्ष नेपालले गरे माओवादी केन्द्रसँग एकताको सैद्धान्तिक आधार प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रसँग सम्भावित पार्टी एकताको सैद्धान्तिक आधार केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेका छन् । बुधबारदेखि सुकेधारामा सुरु भएको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै नेपालले वाम एकता र समाजवादी क्रान्तिको आवश्यकता भएको बताएका छन् । उनका अनुसार क्रान्ति पूरा गर्न समान विचार, सिद्धान्त र कार्यदिशा भएका कम्युनिष्ट घटकबीच एकता अपरिहार्य छ । नेपालले भने, 'एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, रणनीतिक लक्ष्य र संगठनात्मक सिद्धान्तमा समानता हुनुपर्छ । यी विषयमा सहमति बिना एकता सम्भव छैन ।' प्रतिवेदनमा समाजवादी मोर्चा वाम एकताको तयारीको चरण भएको उल्लेख गरिएको छ । उनले माओवादीको मार्गदर्शक सिद्धान्त माओवाद नभई माक्र्सवाद–लेनिनवाद हुनुपर्ने धारणा समेत राखेका छन् । नेपालले नेपाली क्रान्तिको जनवादी चरण पूरा भइसकेको र देश समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको सैद्धान्तिक व्याख्या पनि अध्यक्ष नेपालले गरेका छन् । उनका अनुसार, हाल नेपाली समाजमा आम जनता र दलाल–नोकरशाही पुँजीपति वर्गबीचको अन्तरविरोध नै प्रमुख अन्तरविरोध हो ।  नेपालका अनुसार माओवादीसँग नेकपा एसका सबै निती, विचार र कार्यक्रम मिल्छन् । यहि आधारमा हामी एकताको चरणमा प्रवेश गरेका हौँ । अध्यक्ष नेपालले भने, 'कम्युनिष्ट एकता आजको आवश्यकता हो । समाजवादी क्रान्ति सम्पन्न गर्न बलियो क्रान्तिकारी शक्ति चाहिन्छ, र त्यो शक्ति क्रान्तिकारी कम्युनिष्टहरूबीचको एकताबाटै निर्माण हुन्छ ।' तर, उनले पार्टी एकता भावनात्मक रूपमा नभई स्पष्ट सैद्धान्तिक आधारमा हुनुपर्नेमा जोड दिए । उनका अनुसार, पार्टी एकता हुनका लागि पार्टीको नाम, मार्गदर्शक सिद्धान्त, संगठनात्मक सिद्धान्त, रणनीतिक लक्ष्य, क्रान्तिको कार्यक्रम, कार्यदिशा र कार्यनीति जस्ता मूलभूत विषयमा समानता अनिवार्य छ । उनले थपे, यी विषयहरूमा समान धारणा र सहमति बनेपछि एकता गर्न ढिलाइ गर्नुहुँदैन । समान विचार, सिद्धान्त, कार्यक्रम र रणनीतिक लक्ष्य भएका कम्युनिष्ट घटकसँग एकताको पहल हामीले नै गर्नुपर्छ । नेपालले पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (...) हुनुपर्ने, नेपाली क्रान्ति जनवादी चरण पार गरी समाजवादी चरणमा प्रवेश गरेको मान्नुपर्ने, र माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्तका रूपमा स्वीकार्नुपर्ने धारणा दोहोर्यााए । साथै, उनले साम्राज्यवाद, प्रभुत्ववाद र नवउपनिवेशवादको विरोध गर्दै राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, समानता र जनअधिकारको पक्षमा दृढतापूर्वक उभिनुपर्ने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार, यी सैद्धान्तिक अवधारणाहरूमा समानता बिना एकता हुन सक्दैन, तर समान धारणा भएका शक्तिसँग एकताको सम्भावना देखिए हामी कहिल्यै नकारात्मक हुने छैनौं ।