डा. शेखर राजभण्डारीको परिवारबाट बागलुङमा आश्रम निर्माणमा १० लाख सहयोग
काठमाडौं । नर्भिक अस्पतालका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शेखर राजभण्डारी तथा उनका दाजु–दिदीहरूले स्वर्गीय आमा विद्या लक्ष्मी राजभण्डारीको सम्झनामा बागलुङमा निर्माण हुन लागेको मानव सेवा आश्रमका लागि दश लाख रुपैयाँको सहयोग प्रदान गरेका छन् । उपलब्ध गराइएको सहयोग समाजसेवामा योगदान पुर्याउने प्रेरणादायी उदाहरणका रूपमा रहेको समाजका अगुवाहरूले बताएका छन् । यस सहयोगले स्थानीयस्तरमै मात्र नभई समग्र समाजमा मानव सेवा र करुणाको भावना बलियो बनाउने विश्वास व्यक्त गरिएको छ । डा. राजभण्डारीको यस योगदानले परोपकार र सामाजिक उत्तरदायित्वमा आम नागरिकलाई अगाडि बढ्न उत्प्रेरित गर्ने विश्वास गरिएको छ ।
मंसिर २६ र २७ गते धादिङको खनियाबासमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङको खनियाबास–४, दार्खास्थित खनियाबास ग्रामिण अस्पतालमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । शिविर मङ्सिर २६ गते बिहान ९ बजेबाट साँझ ५ बजेसम्म सञ्चालन हुने छ भने मङ्सिर २७ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म सेवा उपलब्ध हुने आयोजकले जनाएको छ। शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, दन्त रोग (डेन्टल) विशेषज्ञ तथा हड्डी–जोर्नी रोग विशेषज्ञबाट स्वास्थ्य सेवा प्रदान गरिने छ। शिविर संचालनमा धादिङ समाज अमेरिकाले सहकार्य गर्नेछ भने मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले प्राविधिक सहयोग पुर्याउने जनाइएको छ। शिविर सफल बनाउन खनियाबास गाउँपालिका, डेपिन धादिङ तथा स्थानीय स्वयंसेवी समूहहरू सहयोगी संस्थाको रूपमा रहने छन् । स्वास्थ्य शिविरबारे जानकारी दिँदै अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष राजन खनालले ग्रामीण बस्तीका नागरिकलाई घर नजिक विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको बताए। त्यस्तै, यस स्वास्थ्य शिविरले धादिङको खनियाबास आसपासका बासिन्दालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्दै महासचिव बाबुकाजी भण्डारीले यो पहल ग्रामीण स्वास्थ्य पहुँच विस्तारका लागि महत्त्वपूर्ण कदम रहेको टिप्पणी गरे।
शिक्षामन्त्री पुन भन्छन् - विद्यालय कर्मचारीलाई सरकारले तोकेको तलब दिनुहोस्
काठमाडौं । शिक्षामन्त्री महावीर पुनले विद्यालयका बाल शिक्षक तथा कर्मचारीले पाउनुपर्ने सरकारले तोकेको न्यूनतम तलब सुनिश्चित गर्न स्थानीय तहलाई आग्रह गरेका छन् । उनले फेसबुकमा सार्वजनिक स्टाटसमार्फत स्थानीय तहलाई यसबारे ध्यानाकर्षण गराएका हुन् । मन्त्री पुनका अनुसार शिक्षा मन्त्रालयले बाल कक्षा शिक्षकका लागि १२ हजार रुपैयाँ विद्यालय सहयोगीका लागि १० हजार रुपैयाँ र विद्यालय सहायक कर्मचारीका लागि १५ हजार बराबरको बजेट संघीय अनुदानमार्फत स्थानीय तहमा पठाइसकेको छ । उनले भनेका छन्, 'बाँकी नपुग रकम नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा तल नजाने गरी स्थानीय सरकार स्वयंले थप्नु पर्ने हो ।' उनका अनुसार हालसम्म करिब ७०० स्थानीय तहले अतिरिक्त रकम थपेर न्यूनतम पारिश्रमिक अनुसार तलब वितरण गरिरहेको जानकारी शिक्षा मन्त्रालयमा आएको छ । तर, अझै पनि धेरै स्थानीय तहले न्यूनतम तलब वितरण नगरेको भन्दै उनले यसलाई स्थानीय सरकारहरूको जिम्मेवारी भएको स्पष्ट पारे । बाल शिक्षक र विद्यालयका अन्य सहायक कर्मचारीहरूलाई अन्याय हुन नदिन मन्त्री पुनले स्थानीय तहलाई विशेष रूपमा सचेत गराएका छन् । उनले ट्रेड युनियन तथा श्रमिक संगठनका प्रतिनिधिहरूलाई पनि शिक्षक–कर्मचारीको अधिकारका लागि स्थानीय तहलाई ध्यानाकर्षण गराउन अनुरोध गरेका छन् ।