जाडोमा घुँडा, ढाड र काँध दुख्ने समस्या छ ? अपनाउनुहोस् यी पाँच उपाय

काठमाडौं । जाडोमा घुँडा, ढाड र काँध दुख्ने समस्या बढ्ने गर्छ । चिसो मौसमले मांसपेशीहरू साँघुरो बनाउँछ, जसले गर्दा शरीर कडा महसुस हुन्छ र जोर्नीहरूमा बढी दबाब पर्छ । जसकारण जोर्नी वरिपरि सुन्निने र दुखाइ बढ्ने हुन्छ । के तपाईंको पनि जोर्नीहरू जाडोमा कडा हुने र दुखाइ बढ्ने हुन्छ ? आउनूहोस जाडोमा चिसोबाट बच्न र दुखाइबाट राहत दिन सक्ने यी ५ सजिला उपायहरूको बारेमा जानौं ।  आफूलाई न्यानो राख्नूहोस् चिसो हावाले व्यक्तिकोे मांसपेशी र जोर्नीहरूलाई सिधै कडा बनाउँछ ।  घर भित्र होस् वा बाहिर आफ्नो शरीरलाई न्यानो राख्ने प्रयास गर्नुपर्छ । शरीरलाई न्यानो बनाउन न्यानो लुगा लगाउनुपर्छ । तातोपानीले नुहाउँदा मांसपेशीहरूले खुल्छन् र दुखाइ कम हुन्छ । तपाईंको शरीर जति न्यानो हुन्छ यो समस्याबाट पनि बच्न सकिन्छ ।  हरेक दिन थोरै हिँडिरहनूहोस् जाडोमा हामी कम हिँडडुल गर्छौं, जसले गर्दा जोर्नीहरू कडा हुन सक्छन् । हिँड्ने, तन्काउने वा हल्का व्यायाम गर्नाले जोर्नीहरू लचिलो राख्न मद्दत गर्न सक्छ । घरमा योग गर्दा, साधारण व्यायाम वा हल्का हिँडाइ पनि धेरै फाइदाजनक हुन सक्छ । व्यक्तिको शरीर जति धेरै चल्छ, त्यति नै कम कडा हुनुहुन्छ । आफ्नो तौल नियन्त्रणमा राख्नूहोस् जाडोमा व्यक्तिको तौल पनि बढ्छ ।  धेरै खानपान, कम गतिविधि हुँदा तौल बढ्ने गरेको हो । बढ्दो तौलले जोर्नीहरूमा प्रत्यक्ष दबाब दिन्छ । त्यसैले सन्तुलित आहार खाने प्रयास गर्नूहोस् । आफ्नो आहारमा सलाद, फलफूल, तरकारी, दाल र हल्का प्रोटिन समावेश गर्नूहोस् । यसका साथै जामुन, सुख्खा फलफूल, माछा, लसुन आदिले पनि सूजन कम गर्न मद्दत गर्छ । पानी पिइराख्नूहोस् चिसोमा तिर्खा कम लाग्छ, तर शरीरलाई अझै पनि पानी चाहिन्छ । पानीको कमीले जोर्नीको दुखाइ बढाउन सक्छ । पानी, हर्बल चिया, सुप वा ताजा जुसले शरीरलाई हाइड्रेटेड राख्छ र जोर्नीहरूमा लचिलोपन कायम राख्छ । यो समस्याबाट बच्न झोलिलो खानेकुरा र पर्याप्त पानी पिउनूहोस् । दुखाइ हुनेबित्तिकै तुरुन्तै उपचार गर्नूहोस् यदि दुखाइ सुरु भयो भने यसलाई बेवास्ता नगर्नूहोस् । तातो कम्प्रेस वा तताउने प्याडले राहत प्रदान गर्न सक्छ ।  यदि हल्का सुन्निएको छ भने डाक्टरले तोकेको औषधी पनि लिन सकिन्छ ।  यदि दुखाइ बारम्बार हुन्छ वा धेरै बढ्छ भने डाक्टरसँग परामर्श गर्नु महत्त्वपूर्ण छ । तपाईं चिसो मौसम रोक्न सक्नुहुन्न । तर जोर्नी दुखाइलाई निश्चित रूपमा नियन्त्रण गर्न सक्नुहुन्छ । थोरै सावधानी र केही साधारण बानीहरूले सम्पूर्ण जाडो मौसमलाई आरामदायी बनाउन सक्छ ।

नपढ्ने विद्यार्थीलाई भिसा सिफारिस नगर्न विश्वविद्यालयलाई अध्यागमनले दियो निर्देशन

काठमाडौं । अध्यागमन विभागले नेपालमा सञ्चालित विश्वविद्यालय तथा शिक्षण संस्थाले विदेशी नागरिकलाई अध्ययन भिसाको लागि सिफारिस गर्दा ध्यान दिन आग्रह गरेको छ । कानुनले वर्जित गरेका क्रियाकलापमा संलग्न भएका विदेशीहरूलाई समेत अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएको भन्दै  त्यसो नगर्न आग्रह गरेको हो ।  अध्यागमन विभागले गरेको अनुगमनका क्रममा कतिपय शैक्षिक संस्थाहरूले अध्ययन नगर्ने विदेशी नागरिकलाई समेत विद्यार्थी भर्ना गर्ने गरेको पाइएको जनाएको छ ।  ‘कतिपयले संस्थाले आर्थिक आम्दानी गर्ने उद्देश्यले विद्यार्थीको लागि सिफारिस गर्ने गरेको पाइयो भने, कतिपयको बसाइँ अवधि लम्ब्याउने विदेशीहरूलाई अध्ययन भिसा सिफारिस गर्ने गरेको पाइएको छ,’ सूचनामा भनिएको छ।  नेपालका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा उच्च शिक्षाका लागि, कतिपय नेपालको भाषा, संस्कृति, कला, साहित्य र सङ्गीत लगायतका विभिन्न विधामा विदेशी नागरिकहरू अध्ययन गरिरहेका छन् । विभागले यस्ता विद्यार्थी र विभिन्न शैक्षिक एवम् प्राज्ञिक प्रतिष्ठानहरूमा एकेडेमिक र ननएकेडेमिक शिक्षा प्राप्तिका लागि अध्ययन गर्न चाहने विदेशी नागरिकहरूलाई प्रचलित अध्यागमन कानुन बमोजिम अध्ययन भिसा उपलब्ध गराउँदै आएको छ । पछिल्लो समय विदेशी नागरिक आपराधिक गतिविधिमा संलग्न हुने क्रम बढेपछि विभागले अनुगमन गरेको हो ।  विभागले अनुगमन गर्दा अध्ययन भिसा प्राप्त गरेका केही विदेशी नागरिकहरू नियमित रूपमा कक्षामा सहभागी नभएको, अध्ययन भिसाको अवधि थप गर्न नक्कली कागजात पेश गरेको, अध्ययनको कोर्ष पूरा भएपछि शैक्षिक प्रमाणपत्र समेत पेश गर्न नसकेको र कतिपय विदेशी विद्यार्थीहरू गैरकानुनी कार्यमा संलग्न रहेको देखिँदासमेत सम्बन्धित शैक्षिक संस्थाहरूले विभाग तथा स्थानीय प्रशासनलाई सूचना नदिने गरेको पाइएको छ ।  विभागले भिसा तथा आम्दानी प्रयोजनका लागि मात्र आफ्नो शैक्षिक संस्थामा विदेशी विद्यार्थी भर्ना नगर्न, आफ्नो संस्थामा अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा पठनपाठनमा संलग्न भए/नभएको यकिन गरी मात्र भिसा सिफारिस गर्न र पठनपाठन भन्दा बाहेक अन्य शङ्कास्पद गतिविधिमा संलग्न भएको जानकारीमा आएमा तत्काल अध्यागमन विभाग वा स्थानीय प्रशासनलाई सूचना दिन अध्यागमन विभाग सबै शैक्षिक संस्थाहरूलाई अनुरोध गरेको छ ।

नेपाल क्लियरिङ हाउसको १५.७८ प्रतिशत लाभांश घोषणा

काठमाडौं । नेपाल क्लियरिङ हाउसले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १० गते बसेको बैठकले १५ प्रतिशतका दरले १९ लाख २ हजार ४०६ कित्ता बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशतका दरले १ करोड ६ हजार ६५७ रुपैयाँ नगद गरी कुल १५.७८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।  उक्त लाभांश पारित गर्न कम्पनीले पुस ३ गते बिहान ११:४५ बजे काठमाडौंमा १४औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, चालु आव २०८२/८३ का लागि बाह्यलेखापरीक्षक जेबी राजभण्डारी एण्ड डिभिन्सलाई पुन नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्नेछ ।  यस्तै, सभाबाट समूह ‘ख–२’ र समूह ‘ख–३’का सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने १/१ जना सञ्चालकको निर्वाचन गर्नेछ । यस्तै, बोनस सेयरपश्चात् चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्नेछ ।