हजुर एआई एप मार्च १ देखि सेवा सुरु, ‘ठीकठाक’ मा उत्कृष्टलाई मासिक २५ हजार नगद पुरस्कार
काठमाडौं । नेपाली भाषामै केन्द्रित नयाँ डिजिटल एप ‘हजुर एआई’ सार्वजनिक हुने भएको छ । नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै विकास गरिएको यो एप आगामी मार्च १, २०२६ (फागुन १७) गतेदेखि सञ्चालनमा आउने घोषणा गरिएको हो । 'नेपालीका लागि, नेपालीद्वारा निर्मित' भन्ने नारासहित ल्याइएको एपले एउटै प्लेटफर्मबाट बहुआयामिक सेवा उपलब्ध गराउने दाबी गरिएको छ । एपको प्रमुख आकर्षणका रूपमा ‘ठीकठाक’ नामक सामाजिक सञ्जाल फिड प्रस्तुत गरिएको छ । कम्पनीका अनुसार ‘ठीकठाक’ मा प्रयोगकर्ताले राख्ने प्रत्येक पोस्टले ‘ठीकठाक स्कोर’ प्राप्त गर्नेछ । सोही स्कोरका आधारमा हरेक महिना उत्कृष्ट १०० जना प्रयोगकर्तालाई नगद पुरस्कार प्रदान गरिनेछ । महिनाकै उत्कृष्ट क्रिएटरले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउने व्यवस्था गरिएको जनाइएको छ । यस व्यवस्थाले डिजिटल सामग्री निर्माणमा युवाहरूलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ । हजुर एआईले सामाजिक सञ्जालसँगै अन्य विभिन्न सुविधा पनि समेटेको छ । ‘हजुर एआई च्याट’ नामक फिचरमार्फत नेपाली भाषा बुझ्ने र प्रतिक्रिया दिने एआई च्याटबोट उपलब्ध हुनेछ, जसले अध्ययन, जानकारी तथा सामान्य परामर्शमा सहयोग गर्ने बताइएको छ । त्यस्तै, भाषा सिकाइ सम्बन्धी फिचरमा कथामार्फत विभिन्न भाषा सिक्न सकिनेछ । उत्कृष्ट प्रदर्शन गर्ने प्रयोगकर्ताले मासिक १५ हजार रुपैयाँसम्म पुरस्कार पाउने व्यवस्था गरिएको छ । स्वास्थ्यतर्फ ‘प्राणायाम’ फिचर समावेश गरिएको छ, जसले नेपाली भाषामै ध्यान तथा श्वासप्रश्वास सम्बन्धी अभ्यास सिकाउनेछ । मनोरञ्जनका लागि समाचार, संगीत, लाइभ रेडियो, नेपाली चलचित्र तथा टेलिभिजन च्यानलहरू एउटै फिडमार्फत उपलब्ध हुने कम्पनीको भनाइ छ । यसरी सामाजिक सञ्जाल, अध्ययन, स्वास्थ्य र मनोरञ्जनलाई एउटै एपमा समेटेर प्रयोगकर्तालाई सहज डिजिटल अनुभव दिने लक्ष्य राखिएको छ । लन्च अफरअन्तर्गत जुलाई १, २०२६ सम्म सबै प्रयोगकर्तालाई निःशुल्क प्रिमियम सदस्यता उपलब्ध गराइने जानकारी दिइएको छ ।
खाडी मुलुकका उडान रोकिँदा हजारौँ नेपाली यात्रु अन्योलमा
काठमाडौं । बर्दियाका किशोर पुन शनिबार रोजगारीका लागि कतार जाँदै थिए । त्यसैले हातमा पासपोर्ट र नेपाल एयरलाइन्सको टिकट बोकेर उनी समयमै विमानस्थल पुगेका थिए । तर उनी कतार जाने भने पाएनन् । विमानस्थलमा आएपछि उनलाई नेपाल वायुसेवा निगमले हवाई उडान स्थगित भएको सूचना दियो । उनी आइतबार दिउँसो विमानस्थलमा अलपत्र अवस्थामा भेटिए । कुराकानीमा आफूले बर्दियाबाट आउँदा काठमाडौंसम्म आउनका लागि भाडा र खानाका लागि मात्रै पैसा बोकेको सुनाए । उनीसँग अहिले होटलमा बस्न र खानाका लागि पैसा छैन । 'हिजो विमानस्थलमै सुतेर राति बिताएँ, अब कहिले उडान हुन्छ थाहा छैन', उनले भने । पुनको जस्तै अवस्था कैलालीकी सरला विकको पनि छ । रोजगारीका लागि साउदी अरब जान शनिबार विमानस्थल पुगेकी उनी आइतबारसम्म यही छिन् । हवाई उडान कहिले हुन्छ भन्दै बेलाबेलामा निगमका कर्मचारीलाई सोध्छिन् । तर जवाफ चित्तबुझ्दो आउँदैन । निगमका कर्मचारी केही सोध्नुपरे एयरलाइन्सको कार्यालय न्युरोड जान सुझाव दिन्छन् । विक दोस्रो पटक साउदी अरब जाँदै छिन् । दुई महिनाअघि बिदामा घर आएकी उनी अब काठमाडौंबाट कैलाली फर्कने हो भने फेरि साउदी अरब जान नपाइएला भन्ने चिन्ता पनि छ । पुन र विकजस्ता हजारौँ नेपाली यतिबेला विमानस्थलको चक्कर काटिरहेका छन् । उनीहरु जाने मुलुकमा नेपालबाट हवाइजहाजले उडान भरेको छैन । अमेरिका र इजरायलले शनिबार इरानमाथि आक्रमण सुरु गरेपछिको असर नेपाली श्रमिकमा देखिएको हो । खासगरी खाडीमुलुकमा रोजगार गर्न जाने नेपाली बढी प्रभावित भएका छन् । अमेरिका र इजराइलले इरानमा गरेको आक्रमणका कारण युएई, साउदी अरब, कतार, कुवेतलगायत मुलुकका विमानस्थल अस्थायी रुपमा बन्द गरिएको छ । जसकारण विदेश उड्न भनेर आएका नेपाली यात्र अलपत्रमा परेका हुन् । अलपत्र पर्नेमा मोरङका दिलीपप्रसाद राजवंशी पनि रहेका छन् । दुबईको आबुधावीमा श्रमिकका रुपमा कार्यरत उनी तीन महिनाको बिदा मनाएर आइतबार दुबई फर्कने तालिका थियो । दुबईस्थित कम्पनीको मालिकको फोन गर्दा आइतबार बिदाको दिन परेकाले उठेन । कम्पनीले दुबहीबाट नै टिकट काटिदिएको थियो । यसबारेमा अब के हुन्छ भन्ने कुनै आधिकारिक जानकारी प्राप्त गरेका छैनन् । 'दुबईको विमानस्थल बन्द छ, मात्रै भन्छन्, तर अब के गर्ने ? टिकट कसरी रिफण्ड हुन्छ ? र सस्तोमा पाएको टिकट त्यही मूल्यमा पाइन्छ कि पाइँदैन ? कतै महङ्गोमा पर्ने पो हो कि ?', उनले भने । उनले आफूलगायत खाडीमुलुक जाने नेपाली यात्रु सही र आधिकारिक सूचना नपाउँदा अलमलमा पर्नुपरेको बताए । दुबई जान विमानस्थल आएका गणेश मिश्रले पनि जहाँ टिकट काटेको त्यही जानु भनेर सोधपुछ कक्षका कर्मचारीले जवाफ दिएको बताए । आफू अलपत्र र बेवारिसे जस्तै भएको उनले बताए । धनुषाका एमडी रोजेन्दावले आफू कतार जान विमानस्थलमा दुई दिनअघिदेखि नै आइरहेको बताए । 'घर फर्किन पनि सकेको छैन, होटलमा बस्न खर्च पनि छैन, हवाई उडान कहिले खुल्छ भन्ने पनि निश्चित छैन', उनले भने । नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले इरान–अमेरिका तनाव बढेपछि विभिन्न मुलुकका विमान सञ्चालनमा रोक लगाइएकाले उक्त अवस्था समान्य नहुँदासम्म उडान नहुने बताए । यद्यपि यात्रुहरुले टिकट रिफन्ड गर्नुपर्ने अवस्था आएमा कार्यालयमै सम्पर्क गर्न आग्रहसमेत गरे । 'विमानस्थलमा सबै काम गर्न सम्भव नहुने भएकाले कार्यालयमै सम्पर्क गर्न भनेका हौँ', उनले भने, 'यात्रुहरुको सहजताका लागि निगमको काम विमानस्थलमै गर्न भने त्यति सम्भव छैन ।' नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले केही देशका विमानस्थल अनिश्चित रुपमा बन्द भएकाले यात्रुलाई निश्चित सूचना दिन नसकिएको बताए । यद्यपि विमान कम्पनीहरुले यात्रुलाई उडान खुल्नु तीनदेखि चार घण्टाअघि फोन गरेर सूचना दिनुपर्ने भनी सूचना प्रकाशित गरिएको उनले जानकारी दिए । रासस
कामना सेवा विकास बैंकको अनुसन्धान अनुदानको म्याद चैत मसान्तसम्म थप
काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययनरत सोधकर्ता विद्यार्थीहरुलाई प्रदान गर्ने अनुसन्धान अनुदान (रिसर्च ग्रान्ट) को आवेदन म्याद चैत मसान्तसम्म थप गरिएको छ । विभिन्न विश्वविद्यालय र विद्यार्थीको अनुरोधअनुसार म्याद बढाइएको हो । बैंकले अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका विद्यार्थी र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साईन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरुलाई सोध कार्यका लागि अनुसन्धान अनुदान प्रदान गर्नेछ । आवेदकले कुनै पनि विश्वविद्यालयमा व्यवस्थापन वा अर्थशास्त्रमा मान्यता प्राप्त स्नातकोत्तर वा सम्बन्धित विषयमा भर्ना भएको हुनुपर्नेछ । बैंकले एमफिल गर्दै गरेका दुई जना विद्यार्थीलाई बैंकिङ र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यका लागि जनही १ लाख रुपैयाँ र व्यवस्थापन, अर्थशास्त्र, कम्प्युटर साईन्स तथा सूचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका चार जना विद्यार्थीलाई बैंकिङ, अर्थतन्त्र, सूचना र प्रविधि सम्बन्धी सोध कार्यका लागि जनही ५० हजार रुपैयाँ अनुदान प्रदान गर्ने योजना बनाएको छ । अनुदान प्राप्त गर्न इच्छुक विद्यार्थीले सम्बन्धित कलेजको सिफारिससहित १३ अप्रिल २०२६ (चैत मसान्त) भित्र बैंकमा प्रस्तावना पेश गर्नुपर्नेछ । छनौट समितिले सम्बन्धित विषयका विज्ञहरुलाई समावेश गरेर अनुदान प्राप्त गर्ने विद्यार्थीको छनोट गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीका अनुसार विद्यार्थीले गर्ने सोध कार्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दृष्टिले भरपर्दो, प्रमाणित तथ्याङ्कमा आधारित र मौलिक हुनुपर्नेछ । यस अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका विद्यार्थीहरुलाई महत्वपूर्ण सहयोग पुग्ने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विश्वविद्यालय र कलेजका विभिन्न संकायका विद्यार्थीलाई फेलोसिप रिसर्च ग्रान्ट प्रदान गर्न सकिने व्यवस्था भएपछि कामना सेवा विकास बैंकले अनुसन्धान अनुदान उपलब्ध गराउने भएको हो ।