क्षयरोगका बिरामी खोज्दै टीकापुर पालिका

टीकापुर । टीकापुर नगरपालिकामा बसोबास गर्ने नागरिकहरु क्षयरोगी छन् वा छैनन् भनी पहिचान गर्न समूह/समूह बनाइ खकार संकलन अभियान तीव्र पारिएको छ ।       क्षयरोगमुक्त पालिका अभियानअन्तर्गत पालिकाले जोखिममा रहेका समूहको समुदायमै गएर खकार संकलन र परीक्षण थालेको हो ।  असार १ र २ गते अस्नेहरी सहरी स्वास्थ्य केन्द्र, असार २ र ३ गते टीकापुर–७ नयाँबस्तीमा परीक्षण शिविर आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत बलबहादुर रावलले जानकारी दिए ।  'लगातार खोकी लागिरहेका मानिस क्षयरोगी हुनसक्छन, परीक्षण गर्नुपर्छ', उनी भन्छन्, 'सङ्क्रमित मानिसले रोग लुकाउने, तत्काल उपचारमा नजाने समस्याले समुदायमा जोखिम बढ्दै गएको छ ।' नेपालमा क्षयरोगमुक्त पालिका बनाउन स्थानीय तह, समुदाय, स्वास्थ्य संस्थाले विभिन्न प्रयास गरिरहेका छन् । नेपाल सरकारले २०७८/७९ देखि सुरु गरेको ‘क्षयरोगमुक्त नेपाल अभियान’ झन्डै १५० पालिकामा विस्तार भएको छ । टीकापुरमा अहिलेसम्म १७४ जना क्षयरोगका बिरामीले औषधि सेवन गरिरहेका छन् । 'क्षयरोग निवारण पहिचान, निदान, रोकथाम, उपचार, प्रेषण र सहयोगका सबै सेवा निःशुल्क उपलब्ध गराउने गरिएको छ', शाखा प्रमुख रावलले भने, 'हरेक वडामा क्षयरोग निदानका लागि स्वयंसेवक खटाएका छौँ ।' महिला स्वास्थ्य स्वयंसेविका तथा क्षयरोग स्वयंसेवक मीना टमट्टा समुदायमा क्षयरोगी निदानमा अझै समस्या रहेको बताउँछिन् ।       पालिकाले विद्यालय, सामाजिक संस्था, महिला स्वास्थ्य स्वयंसेविका, आमासमूह, टोलविकास संस्था, सहरी स्वास्थ्यकेन्द्र सत्तीका अहेव गोविन्द कठायतले जोखिममा रहेका समूहको क्षयरोग परीक्षण शिविर गरिएको बताइन् ।       'सत्तरी वर्षमाथिका दम तथा श्वासप्रश्वासको समस्या भएका सबैको क्षयरोग परीक्षण गरिरहेका छौँ', उनले भनिन्, 'यसका साथै अन्य जोखिममा रहेकाहरुको परीक्षणमा प्राथमिकता दिएका छौँ ।' टीकापुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत एन्टोन बजगाइँ जोखिममा रहेका समूह र ७० वर्षमाथिका ज्येष्ठ नागरिकको खकार परीक्षण गरेर समयमै उपचारमा ल्याउने प्रयास भइरहेको बताए ।  क्षयरोग भएमा लामो समयसम्म खोकी लाग्ने, खकारमा रगत देखिने, तौल घट्ने, राति अत्यधिक पसिना आउने, लगातार थकान महसुस हुनेु, हल्का ज्वरो र छाती दुख्नेजस्ता समस्या देखा पर्छन् । रासस

बागमती विश्वविद्यालयले सार्वजनिक गर्‍यो स्नातक तह प्रथम सत्रको भर्ना तालिका

काठमाडौं । बागमती विश्वविद्यालयले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातक तह प्रथम सत्रमा नयाँ विद्यार्थी भर्ना कार्यक्रम सार्वजनिक गरेको छ । विश्वविद्यालयले व्यवस्थापन तथा कानुन, विज्ञान तथा प्रविधि तथा शिक्षा शास्त्र एवं सामाजिक विज्ञान सङ्कायअन्तर्गत सञ्चालन हुने विभिन्न शैक्षिक कार्यक्रमका लागि भर्ना प्रक्रिया सुरु गर्ने जनाएको हो । विश्वविद्यालयले असार ३ गते प्रकाशित गरेको सूचनाअनुसार आवेदन फाराम वितरण तथा बुझाउने कार्य असारको पहिलो सातादेखि मसान्तसम्म सञ्चालन हुनेछ । प्रवेश परीक्षा साउनको पहिलो सातामा हुने छ भने दोस्रो सातादेखि भर्ना प्रक्रिया सुरु गरिनेछ । नयाँ शैक्षिक सत्रका कक्षाहरू साउनको तेस्रो सातादेखि सञ्चालन गरिने विश्वविद्यालयले जनाएको छ । सूचनाअनुसार पुसको अन्तिम सातामा प्रथम सत्रको अन्तिम परीक्षा सञ्चालन गरिनेछ भने नतिजा २०८४ माघको पहिलो सातामा प्रकाशन गर्ने कार्यतालिका तय गरिएको छ । विश्वविद्यालयका सम्बन्धन प्राप्त छ वटा क्याम्पसमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन हुनेछन् । जसमा कपनस्थित कपन क्याम्पस, काठमाडौंको कुलेश्वरस्थित जनमैत्री क्याम्पस, चितवनको खैरहनीस्थित भुवानीशङ्कर क्याम्पस, माडी क्याम्पस, हेटौंडा क्याम्पस तथा काभ्रेपलाञ्चोकको बनेपास्थित चैतन्य क्याम्पसमा स्नातक तहका कार्यक्रम सञ्चालन गरिनेछ । विश्वविद्यालयले विद्यार्थीले प्रवेश लिन चाहेको प्रत्येक शैक्षिक कार्यक्रमका लागि सम्बन्धित क्याम्पसमा छुट्टाछुट्टै आवेदन फाराम बुझाउनुपर्ने व्यवस्था गरेको जनाएको छ । साथै, विस्तृत जानकारी सम्बन्धित क्याम्पसबाट प्राप्त गर्न सकिने उल्लेख गरिएको छ । बागमती विश्वविद्यालयले प्रकाशित शैक्षिक क्यालेन्डरअनुसार विद्यार्थी भर्ना, कक्षा सञ्चालन तथा परीक्षा सञ्चालन गर्न सम्बन्धित सबै छ वटा क्याम्पसलाई समेत निर्देशन दिएको छ ।   

नेपाल टेलिभिजनका उपकरण र सेवा खरिदबारे छानबिन सुरु, २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा. सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो ।  समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्न भनिएको छ । छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गरिएका ग्राफिक्स सिस्टम, न्यु मिडिया (डिजिटल प्लेटफर्म) सेवा, अडियो/भिडियो उपकरण, डिजिटल ट्रान्समिटर तथा इटहरी च्यानलका लागि खरिद गरिएको ‘प्लेआउट अटोमेसन सिस्टम’ सम्बन्धमा विस्तृत अध्ययन गर्ने कार्यादेश दिइएको छ ।  यी विषयमा विभिन्न निकायमा गुनासो तथा उजुरी रहेका छन् । त्यस्ता उजुरी तथा गुनासोका सन्दर्भमा मन्त्रालयले आफ्नो आन्तरिक जानकारी प्रयोजनका लागि छानबिन समिति गठन गरेको हो ।  नेपाल टेलिभिजनमा विगत केही वर्षयता प्रविधि तथा प्रसारण प्रणाली आधुनिकीकरणका लागि भएका विभिन्न खरिद प्रक्रियाबारे पारदर्शिता तथा कानुनी प्रक्रियाको पालनासम्बन्धी प्रश्नहरू उठ्दै आएका छन् ।  यसअघि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे पनि छानबिन समिति गठन गरेको थियो ।