स्तन र प्रोस्टेट क्यान्सरबारे जनचेतना फैलाउँदै सिटिजन्स बैंक
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्मचारीहरूको स्वास्थ्यप्रति प्रतिबद्धता जनाउँदै स्तन क्यान्सर र प्रोस्टेट क्यान्सर सम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । यस पहलको उद्देश्य क्यान्सरसम्बन्धी सही जानकारी प्रदान गर्नु, आम भ्रम हटाउनु, समयमै परीक्षण, रोकथाम र चिकित्सकीय परामर्शको महत्वबारे कर्मचारीहरूलाई सचेत बनाउनु रहेको बैंकले जनाएको छ। कार्यक्रम मेदान्त द मेडिसिटी अस्पताल, गुडगांव, भारतसँगको सहकार्यमा सञ्चालन गरिएको थियो, जसले यसलाई अझ प्रभावकारी र विश्वसनीय बनाएको छ । कार्यक्रम अन्तर्गत माघ १३ गते सबै महिला कर्मचारीका लागि 'स्तन क्यान्सर सम्बन्धी महिलाले जान्न र अभ्यास गर्नुपर्ने कुराहरू' विषयक वेबिनार आयोजना गरिएको थियो । वरिष्ठ निर्देशक स्तन क्यान्सर, डा. कञ्चन कौरले वेबिनार सहजिकरण गरेका थिए । उक्त कार्यक्रममा कुल ५१३ जना महिला कर्मचारीहरूले सक्रिय रूपमा सहभागिता जनाएका थिए, जसले वेबिनार अन्तरक्रियात्मक र प्रभावकारी बनाएको बैंकको भनाइ छ । त्यसैगरी, माघ १४ गते ३० वर्ष वा सोभन्दा माथिका पुरुष कर्मचारीहरूका लागि 'प्रोस्टेट क्यान्सरः भ्रम र यथार्थ' विषयक सत्र सञ्चालन गरिएको थियो । वरिष्ठ निर्देशक डा. पुनीत आहुलवालियाले उक्त सत्रको सहजीकरण गर्नुभएको थियो । यसमा कुल ५०९ जना कर्मचारीहरूले सहभागिता जनाएका थिए । दुवै वेबिनारले कर्मचारीहरूको स्वास्थ्यप्रति सचेतना बढाउँदै दीर्घकालीन स्वास्थ्य सुरक्षामा योगदान पुर्याउने अपेक्षा बैंकले गरेको छ । बैंकले कर्मचारी, ग्राहक र अन्य सम्बन्धित निकायहरूका लागि आगामी दिनमा पनि यस्तै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । साथै, बैंकका कार्डवाहक ग्राहक महानुभावहरूले मेडिसिटी अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसअघि पनि 'फोनपे क्रेडिट कार्ड' सञ्चालन, नवयुवा लक्षित 'सिटिजन्स जेन–जी सेभिङ्ग अकाउन्ट', 'सिटिजन्स डिजी बैंक सेवा' एकीकृत अनलाइन प्लेटफर्म, फ्रिलान्सर सेविङ्ज अकाउन्ट, मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी.आर.एन् नम्बर सुविधा, र क्रस बैंक टेलर सुविधा जस्ता नवप्रवर्तनात्मक सेवाहरू सुरु गरिसकेको छ। हाल बैंकले देशैभरी ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ्ग ईकाइमार्फत १९ लाख ७६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
के हो निपा भाइरस, कस्ता देखिन्छन् लक्षण ?
काठमाडौं । निपा भाइरस एक गम्भीर र खतरनाक भाइरस हो, जसले जनावरबाट मानिसमा र मानिसबाट मानिसमा रोग सार्न सक्छ । यसको मृत्युदर उच्च हुने भएकाले यसबारे सचेत रहनु अत्यन्त आवश्यक छ । यो कसरी सर्छ ? निपा भाइरस मुख्यतया ’फ्रुट ब्याट’ (फलफूल खाने चमेरो) बाट सर्ने गर्दछ । संक्रमित फलफूल जस्तै चमेरोले टोकेका वा जुठो हालेका फलफूल (विशेषगरी अम्बा, लिची, खजूर) खाँदा सर्न सक्छ । यो रोग सर्ने अर्को माध्यम भनेको जनावरको सम्पर्क जस्तै संक्रमित सुँगुर वा अन्य जनावरको र्याल र पिसाबको सम्पर्कमा आउँदा सर्छ भने मानिसबाट मानिसमा जस्तै संक्रमित व्यक्तिको थुक, सिंगान वा रगतको प्रत्यक्ष सम्पर्कमा आउँदा विशेषगरी बिरामीको हेरचाह गर्ने कुरुवा वा स्वास्थ्यकर्मीमा सर्ने जोखिम हुन्छ । कस्ता लक्षणहरू देखापर्छन् ? निपा संक्रमण भएको ५ देखि १४ दिनभित्र लक्षणहरू देखिन थाल्छन् । यसको संक्रमण हुँदा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, खोकी लाग्ने र श्वासप्रश्वासमा कठिनाइ हुने गर्छ । यस्तै मांसपेशी दुख्ने र निकै थकाइ महसुस हुने, गम्भीर अवस्थामा मस्तिष्क सुन्निने गर्छ जसले गर्दा मानसिक अलमल हुने, छारे रोग जस्तै काँप्ने वा बिरामी कोमामा जाने हुन सक्छ । बच्ने उपायहरू के हुन ? अहिलेसम्म यो भाइरस विरुद्ध कुनै निश्चित खोप वा औषधि बनिसकेको छैन । सावधानी नै सबैभन्दा ठूलो उपचार हो । फलफूल सफा गरेर मात्र खाने गर्नुपर्छ । भुईँमा झरेका वा चरा–चमेरोले टोकेका जस्ता देखिने फलफूल कहिल्यै खान हुँदैन । फलफूल खानुअघि राम्ररी पखाल्नुपर्छ भन साबुन पानीले नियमित रूपमा हात धुने गनपर्छ । यसबाट बच्न बिरामी देखिएका सुँगुर वा अन्य जनावरहरूको नजिक जान हुँदैन । यदि कोही व्यक्ति संक्रमित छ भने उनीहरूलाई छुँदा मास्क, पन्जा र सुरक्षाका सामग्री प्रयोग गर्नुपर्छ । यदि लक्षण देखिएमा के गर्ने ? यदि तपाईं वा तपाईंको वरपर कसैमा यस्ता लक्षणहरू देखिएका छन् र उनीहरू चमेरो वा संक्रमित क्षेत्रको सम्पर्कमा आएका छन् भने तुरुन्त नजिकैको अस्पतालमा सम्पर्क गर्नुपर्छ । बिरामीलाई अलग्गै (आइसोलेसन) राख्नुपर्छ । स्वास्थ्यकर्मीको सल्लाह बिना जथाभावी औषधि सेवन गर्नुहुँदैन । निपा भाइरसको संक्रमण दर कम भए पनि यसको जोखिम धेरै रहेकाले सरसफाइमा ध्यान दिएर र खानपानमा सतर्कता अपनाए यस्ता संक्रमणबाट बच्न सकिन्छ ।
चिकित्सकको लाइसेन्स परीक्षामा ३९ प्रतिशत उत्तीर्ण
काठमाडौं । चिकित्सकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ३९ दशमलव ४५ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार र बुधबार काउन्सिलले लिएको परीक्षामा सहभागी ९ सय ४३ मध्ये ३ सय ७२ अर्थात् (३९.४५) जना चिकित्सक उत्तीर्ण भएका हुन् । परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९ सय ६७ जनाले फारम भरेपनि २४ जना अनुपस्थित रहेको काउन्सिलले जनाएको छ । एमबीबीएस तर्फ कुल ७ सय ९३ जनाले फारम भरेकोमा ७ सय ७५ जना सहभागी थिए । जसमध्ये ३ सय जना मात्र उत्तीर्ण भएका हुन् । बीडीएस तर्फ फारम भरेका कुल १ सय ७४ मध्ये १ सय ६८ जना मात्र सहभागी भएका थिए । जसमध्ये ७२ जना उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।