साउनदेखि चौथो पुस्ताको फोरजी आउने
काठमाडौं, ४ चैत । साउनदेखि फोरजी सेवा सुरु हुने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले चालु आर्थिक बर्षको अन्त्यसँगै फोरजी सेवाको सुभारम्भ गर्न लागेको हो । ‘उपभोक्ताले २०७३ साल भित्रै फोरजी प्रयोग गर्न पाउँछन, साउन महिनाबाट सुरु गर्ने तयारी भैरहेको छ ।’ नेपाल दुर सञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने ।प्राधिकरण फ्रिक्वेन्सी व्यवस्थापन विभागका प्रमुख विजय कुमार रोयले १८०० मेगाहर्जमा वितरण भैरहेको टुजी सर्भिसलाई टेक्नोलोजी न्युट्रल(प्रबिधी तटस्थता) गरेर पहिलो चरणमा फोरजी सेवा सुचारु गर्ने योजना रहेको बताए । हाल प्राधिकरणले नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम र नेपाल स्याटेलाइटलाई १८०० मेगाहर्जमा फ्रिक्वेन्सी वितरण गरेको छ । नेपाल टेलिकमले १५ मेगाहर्ज, एनसेललाई ११ मेगाहर्ज र स्मार्ट तथा नेपाल स्याटेलाइटलाई क्रमशः १२ र ९ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराइएको छ । प्राधिकरणसँग यो ब्याण्डमा ७५ मेगाहर्ज फ्रिक्वेन्सी रहेको छ । सोमध्ये ४७ मेगाहर्ज वितरण भैसकेको छ भने बाँकी रहेको २८ मेगाहर्ज पनि नेपाल टेलिकम र एनसेललाई थपिदिने सोँच बनाएको छ । नेपाल टेलिकमले थप पाँच मेगाहर्ज फ्रिक्वेन्सी माग गरेको छ भने एनसेलले टेलिकमकै बराबर आफुलाई पनि फ्रिक्वेन्सी चाहिने भन्दै आएको छ । २१०० मेगाहर्जमा थ्रीजी र २३०० मेगाहर्जमा वाइम्याक्स सुबिधा उपलब्ध गराउने गरि लाइसेन्स दिएको छ । १८०० मेगाहर्जलाई फोरजी र २३०० मेगाहर्जलाई मोबाइल सेवासहित एलटीई प्रबिधीमा टेक्नोलोजी न्युट्रल गराउन लागिएको हो । भ्वाईस, भिडियो, डाटा र मोबिलीटीसहितको फोरजीलाई चौथो जेनेरेशन पनि भनिन्छ । प्राधिकरणले ७०० र २६०० मेगाहर्जमा फोरजीको नयाँ फ्रिक्वेन्सी फेला पारेको छ । यसलाई टेण्डर आव्हानद्धारा वितरण गर्नेबारे परामर्शदाता मार्फत काम अघि बढिरहेको प्राधिकरणका प्रवक्ता अर्यालले बताए । पहिलो चरणमा काठमाडौं उपत्यका, पोखरा, बिराटनगर, धरान, बुटवल लगायतका शहरहरुमा फोरजी सेवा विस्तार हुने उनले बताए ।
मोबाइल चोरी भएर हैरान हुनुभएको छ ? चिन्ता नगर्नुस, अब मोबाइल चोरी हुन्न
काठमाडौं, २ बैशाख । के तपाईँ मोबाइल चोरी भएर/हराएर हैरान हुनु भएको छ ? यदि त्यस्तो हो भने चिन्ता नगर्नुस अब मोबाइल हराउने छैन् । किनकी अबको केहि समयपछि नै मोबाइल चोरी बन्द हुँदैछ । नेपाल दुर सञ्चार प्राधिकरणले सुरक्षा चुनौती घटाउन र भन्सार छलीलाई समाप्त पार्न भन्दै आइएमई नम्बर दर्ता अनिवार्य गरेसँगै मोबाइल चोरीका घट्नाको अन्त्य हुन लागेको हो । प्राधिकरणले बैशाख १ गतेदेखि नै नयाँ मोबाइल आयातका क्रममा आइएमई कोड दर्ता अनिवार्य गरिसकेको छ । अब नयाँ मोबाइल आयात गर्नु पुर्व नै सम्बन्धीत फर्महरुले ती प्रत्येक सेटको आइएमई कोडलाई प्राधिकरणबाट पुर्व स्विकृत गराउनु पर्छ । प्राधिकरणले उपलब्ध गराएको पुर्व स्विकृतिका आधारमा मात्रै मोबाइलले भन्सार प्रवेश पाउँछ । कसरी अन्त्य हुन्छ मोबाइल चोरी ? प्राधिकरणले हाललाई नयाँ मोबाइल आयातमा आइएमई कोडको पुर्व स्विकृति गरेको छ । नेपालमै रहेका पुराना मोबाइलहरुको पनि ६ महिना भित्रै आइएमई नम्बर प्राधिकरणलाई बुझाउन निर्देशन दिईसकेको छ । त्यसको अर्काे ६ महिनासम्म आइएमई नम्बर रि–रजिष्ट्रेशनको समय तोकेको छ । अर्थात अर्बको एक बर्ष भित्र नेपाल भित्र प्रयोगमा आउने सबै मोबाइलको आइएमई कोड प्राधिकरणमा दाखिला भैसक्नेछ । त्यसपछि भने चोरीका मोबाइलहरु आफैं बन्द हुनेछन् । जब चोरीका मोबाइलहरुले काम गर्न छाड्नेछन् तब मोबाइल चोरी आफैं समाप्त हुनेछ । ‘एक बर्ष भित्र सबै नेपालीका मोबाइलको आइएमई कोड हामीसँग हुनेछ, त्यतिबेला चोरी र भन्सार छलीका मोबाइल आफैं बन्द हुनेछन्, जब चोरीका मोबाइलले कामै गर्नेछैनन्, तब मोबाइल चोरी आफैं बन्द हुनेछ ।’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले भने । भन्सार छली पनि समाप्त एक बर्ष भित्रै नेपालमा भन्सार छलेर ल्याइएका मोबाइल समेत बन्द हुनेछन् । बैशाख १ गतेबाटै भन्सारमा मोबाइलको आइएमई कोड अनिवार्य भैसकेको छ । यस अघि मोबाइल सेट र त्यसको भेरिफिकेशन मात्रै हुँदै आएको थियो । अपराध नियन्त्रणमा सहयोग सबै मोबाइलको आइएमई कोड दर्ता गरिसकेपछि अपराध नियन्त्रणमा समेत ठुलो सफलता प्राप्त हुनेछ । आइएमई कोडका माध्यमबाट मोबाइल प्रयोग कर्ताहरुको गतिबिधी नियमन गर्न सहज हुने र आपराधिक गतिबिधीलाई तुरुन्तै नियन्त्रण गर्न सकिने प्रवक्ता अर्यालले बताए । आइएमई कोड व्यवस्थापनका लागि कम्पनी खोजिँदै प्राधिकरणले तत्कालका लागि आइएमई कोडको व्यवस्थापन आफैं गरिरहेको छ । तर दिर्घकालिन व्यवस्थापनका लागि भने उसले कुनै कम्पनी आवश्यक पर्ने देखिसकेको छ । ‘प्राधिकरणले तत्कालिन व्यवस्थापन मात्रै गर्ने हो, दिर्घकालिन व्यवस्थापनका लागि टेण्डरद्धारा कम्पनी खोज्दैछौं, त्यसको तयारी सुरु भैसकेको छ ।’ प्रवक्ता अर्यालले भने ।
पर्यटन क्षेत्रका लागि २०७३ सालः निराशा छिचोल्दै पुनरुत्थान
काठमाडौं, १ बैशाख । नयाँ संबिधान प्राप्त गर्नु बाहेक २०७२ सालले नेपाली जनतालाई केहि दिएन् । बर्षको दोश्रो हप्ता नलाग्दै आएको ७ दशमलब ६ रेक्टर स्केलको महाभूकम्पको पीँडा बिर्साउने प्रयास भैरहेको थियो । अकस्मात भारतले नाका बन्दी लगायो । त्यसको कारकका रुपमा मधेशका असन्तुष्ठ राजनीतिक दलले सुरु गरेको नाका केन्द्रित धर्नालाई देखाईयो । नाका बन्दीले आम नेपाली जनतालाई युद्धको भन्दा भयानक अवस्थामा पुर्यायो । १० बर्ष चलेको माओवादी युद्धका बेलामा समेत खासै प्रभावित नबनेको नेपाली पर्यटन क्षेत्रलाई भूकम्प र नाकाबन्दीले थिलोथिलो बनाईदियो । पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको पर्यटन बोर्डले नेपाली बर्षहरुको तथ्यांक राख्ने गरेको छैन् । तर सन २०१४ को तुलनामा सन २०१५ मा पर्यटन आगमन ३२ प्रतिशतले घटेको छ । ‘हामीले नेपाली क्यालेण्डरमा तथ्यांक राख्ने गरेका छैनौं तर २०१४ भन्दा २०१५ मा पर्यटक आगमन ३२ प्रतिशतले घटेको छ ।’ नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले भने । भूकम्पले पर्यटन क्षेत्रमा ६२ अर्ब ३७ करोड मुल्य बराबरको क्षति पुर्यायो । विश्व सम्पदा सूचिमा परेका अधिकांश सम्पदा ढलेर भग्नावशेषमा परिणत भए । बसन्तपुर, भक्तपुर र पाटन दरबार स्क्वायर ढले भने चाँगुनारायण, बुङमति, बोद्ध स्तुपा समेत सकुशल रहेनन् । १६ अर्ब ९० करोड मुल्य बराबरको सांस्कृतिक सम्पदामा क्षति पुगेको देखिन्छ । चलनचल्तीका पदमार्ग पनि भूकम्प र त्यसलगत्तै आएका पहिरोहरुले अवरुद्ध बने । दर्जनौं पर्यटकले भूकम्पमा ज्यान गुमाए । मुलत १४ जिल्लाको पर्यटन करिब करिब ठप्प भयो । त्यसमा लाङटाङ, गोर्खा–मनास्लु, चरिकोट, जिरी, कालिञ्चोक, धादिङ, रोल्वालिङ लगायतका गन्तब्य थिए । नगरकोट लगायतका अन्यकेहि गन्तब्यका होटलहरुमा समेत ठुलै क्षति पुग्यो । एउटै मात्र अन्तराष्ट्रिय विमानस्थल मात्रै रहेका कारण अन्य गन्तव्यहरुमा समेत पर्यटकको आगमन रोकियो । नेपाल आउने पर्यटकले औसत प्रतिदिन ४३ डलर खर्च गर्थे तर अब केहि बर्ष त्यो अनुपात घटेर ३५ डलरमा सिमित हुने पर्यटन सम्बद्ध व्यवसायीहरुको निष्कर्ष छ । नेपालको पर्यटक आगमनमा ४० प्रतिशतले १२ महिनासम्म असर पारेको थियो भने त्यसपछिका २४ महिनासम्म २० प्रतिशतले कमी आउने अनुमान गरिएको छ । ह्यारीको आगमनले उत्साह बर्षको अन्तिम महिनामा बेलायती राजकुमार ह्यारीले नेपाल भ्रमण गरे । निर्धारित समय भन्दा एक हप्ता बढि नेपाल बसेका उनले विश्वभर नेपालको पर्यटन प्रवद्र्धनमा सघाए । बेलायत तथा अमेरिकाका सञ्चार माध्यमहरुले ह्यारीको नेपाल बसाइलाई राम्रै महत्व दिए जसले नेपालको पर्यटन क्षेत्रप्रति विश्व समुदायलाई आकर्षित गर्न मदत नै गर्यो । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशी भन्छन–२०७२ साल निरासै निरासाले भरिएको बर्ष बन्यो, २०७३ लाई पर्यटन पुनरुत्थानको अवधी बनाउनु पर्छ ।