युवा पलायन रोक्न एआई र आईटीमा रोजगारी विस्तार अपरिहार्य: राजेन्द्र मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले कृत्रिम बुद्धिमत्ता (एआई) र सूचना प्रविधि क्षेत्रलाई नेपालका आर्थिक समृद्धि, रोजगारी सिर्जना र डिजिटल रूपान्तरणका प्रमुख आधार बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । 

कास्कीको पोखरामा सूचना प्रविधिमा आधारित कम्पनी ‘टेक पाईला’को उद्घाटन कार्यक्रममा बोल्दै उनले विश्व तीव्र गतिमा एआई केन्द्रित अर्थतन्त्रतर्फ अघि बढिरहेको अवस्थामा नेपालले पनि समयमै आवश्यक पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति उत्पादन र नीतिगत सहयोगमा लगानी गर्न ढिला गर्न नहुने बताए । 

उनले नेपालसँग पर्याप्त युवा जनशक्ति र सम्भावना भए पनि उचित नीति र अवसरको अभावमा ती प्रतिभा विदेश पलायन भइरहेको उल्लेख गरे । ‘यदि नेपालले एआई पूर्वाधार, अनुसन्धान, दक्ष जनशक्ति र नीतिगत समर्थनमा पर्याप्त लगानी गर्न सक्यो भने एआई आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा डिजिटल नेपालको निर्माणको प्रमुख आधार बन्न सक्छ,’ मल्लले भने । 

मल्लका अनुसार एआई केवल प्रविधि मात्र नभई भविष्यको अवसर हो, जसले नेपाललाई डिजिटल अर्थतन्त्रतर्फ रूपान्तरण गर्न सक्ने क्षमता राख्छ ।

उनले एआई कम्प्युटर केन्द्र स्थापना गर्न सके विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता तथा स्टार्टअप उद्यमीहरूलाई विश्वस्तरीय प्रविधि र स्रोतसाधनमा पहुँच उपलब्ध गराउन सकिने बताए । यस्ता केन्द्रले नेपालमा एआई अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताको वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ।

मल्लले एआई सिक्ने, प्रयोग गर्ने र नवप्रवर्तनमा सक्रिय हुने युवाहरू नै भविष्यको डिजिटल अर्थतन्त्रका नेतृत्वकर्ता हुने उल्लेख गर्दै एआई शिक्षा र अनुसन्धानलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । 

उनले बढ्दो युवा विदेश पलायनप्रति चिन्ता व्यक्त गर्दै कक्षा १२ पछि नै स्वदेशमै अवसर सिर्जना गर्नुपर्ने आवश्यकता औँल्याए । ‘कमाउँदै, रमाउँदै र सिक्दै करिअर बनाउने वातावरण नेपालमै बनाउनुपर्छ,’ उनले भने । 

अध्ययनसँगै पार्टटाइम रोजगारी, डिजिटल सीप, इन्टर्नसिप र उद्यमशीलताका अवसर विस्तार गर्न सके विदेश पलायन उल्लेख्य रूपमा घटाउन सकिने उनको भनाइ छ । 

मल्लले सूचना प्रविधि उद्योग, शैक्षिक संस्था र निजी क्षेत्रबीच सहकार्य बढाएर युवालाई रोजगारीसँग जोड्ने कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिए । उनका अनुसार नेपालमा प्रतिभाको कमी छैन, तर अवसर र वातावरण अभावका कारण युवाहरू विदेशिन बाध्य छन् ।

नेपालले एआई, डाटा विज्ञान, सफ्टवेयर विकास, डिजिटल सेवा र प्रविधिमूलक उद्यमशीलतामा केन्द्रित रणनीति अपनाउन सके निकट भविष्यमा दक्षिण एसियाकै महत्वपूर्ण डिजिटल गन्तव्यका रूपमा स्थापित हुन सक्ने मल्लको भनाइ छ।

Share News