एक सातामै १ अर्ब ३ करोड निकासा, २१७ अस्पतालले पाए रोकिएको बीमा भुक्तानी

काठमाडौं । स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी अब सहज हुन थालेको छ । वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बीमा बापतको रकम भुक्तानीले तीव्रता पाएको हो । पछिल्लो सातामात्र सरकारले स्वास्थ्य बीमा बापत १ अर्ब ३ करोड रुपैयाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ । जसबाट १५५ सरकारी, २५ सामुदायिक तथा ३७ निजी गरी २१७ अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन् । सरकारले अघिल्लो वर्षको बक्यौता बीमा रकमसमेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटकपटक गरी १ अर्ब ३ करोड रुपैयाँ पठाएपछि स्वास्थ्य बीमाको रकमसम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको हो ।  स्वास्थ्य बीमा बोर्डबाट सार्वजनिक गरिएको जानकारीअनुसार दुई दिनअघि मात्र विपन्न वर्ग लक्षित ३२ करोड ६ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको छ ।  बोर्डका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. पवन शाहले केही समयअघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बापतको रकम भुक्तानी गर्ने गरिएकामा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिए ।  यसरी भुक्तानी पाउने अस्पतालहरूमा मध्य विन्दु जिल्ला अस्पताल, भेरी अञ्चल अस्पताल, नारायणी अस्पताल, नेपाल मणिपाल शिक्षण अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका ढेड सयभन्दा बढी अस्पतालहरू रहेका छन् । त्यस्तै राष्ट्रिय ट्रमा सेन्टर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र झापाको बीएण्डसी शिक्षण अस्पताल लगायतका निजी अस्पतालमा उपचार गराउने विपन्न समेत बीमा रकम सरकारले भुक्तानी गर्नका लागि पठाएको छ । उक्त रकम राष्ट्रिय बीमा बोर्डको  निर्णयअनुसार विपन्न  नागरिकको मिर्गौलाको डायलाइसिस सेवा, मुटुरोगको उपचार, टाउकोको गम्भीर चोटपटक, स्पाइनल इन्जुरी आदि रोगको शोधभर्ना बापत भुक्तानी गरिएको हो । स्वास्थ्य संस्थाबाट प्राप्त दाबीहरूमध्ये कागजात पूरा भएका दाबीहरूको भुक्तानी पठाइएको हो । भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रमको भविष्यमा अन्योल छाउने अवस्था आउन नदिन सरकारले यसपटक १५ अर्ब रुपैयाँ छुट्याएको छ । यसका साथै स्रोतको परिधिभित्र आउनेगरी बीमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कडा अनुगमन गर्नेजस्ता उपाय अपनाउने  सोचाइ सरकारले बनाएको छ ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा जस्तो कल्याणकारी कार्यक्रमलाई अन्योलमा पर्न नदिन सरकारले अहिलेसम्मका बक्यौता रकम भुक्तानी गर्दै जाने बताइन् । समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बीमालाई कडाइका साथ निगरानी र नियमन गरिने उनको भनाइ छ । 

७० देश सम्मिलित अन्तर्राष्ट्रिय आईटी प्रतियोगितामा नेपाली विद्यार्थीले जिते पुरस्कार

काठमाडौं । विश्वका ७० भन्दा बढी देशका विद्यार्थी सम्मिलित एआई, रोबाष्टिक र कोडिङसम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन् । इन्डोनेसियाको राजधानी जाकार्तामा जेठ २ र ३ गते सम्पन्न प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने ६ विद्यार्थी टोली पुरस्कार जित्न र तीन टोली ३० उत्कृष्ट भित्र पर्न सफल भएका हुन् । संयुक्त राष्ट्रसंघले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भई वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापनजस्ता विषयमा नवीनतम् अवधारणा पेस गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन् । सूचना प्रविधिको क्षेत्रमा क्रियाशील नीमा एजुकेसन फाउन्डेसनले यस वर्ष पनि विभिन्न विद्यालयहरूसँग समन्वय गरी ८ वर्षदेखि १८ वर्षसम्मका ९८ विद्यार्थीलाई सो प्रतियोगितामा समावेश गराएको थियो । यसै सन्दर्भमा नीमा एजुकेसन फाउन्डेसनले जाकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित नेपालको प्रतिष्ठा बढाउने विद्यालय तथा विद्यार्थीलाई आइतबार सम्मान तथा पुरस्कृत गरेको छ । सो अवसरमा काठमाडौं विश्वविद्यालयका आईटी विभाग प्रमुख प्रा.डा. सुदन झाले नेपाली परिवेशमा ३० वर्ष अघिको कम्प्युटर शिक्षाजस्तै अहिले सूचना प्रविधि क्षेत्र अन्तर्गत एआई, रोबास्टिक र कोडिङले बजार लिएको बताए । सूचना प्रविधिको क्षेत्रमा अहिले समग्र विश्वमा नै प्रतिस्पर्धा गर्न सक्ने क्षमावान् जनशक्ति नेपालमा उत्पादन भएकामा गर्व गर्दै प्रा.डा. झाले समयको चापलाई दृष्टिगत गरी विद्यालय शिक्षामा आईटीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।  फाउन्डेसनका प्रमुख कार्यकारी अधिकृत निश्चल प्रधान र निर्देशक किरणकुमार श्रेष्ठले विद्यालय तथा कलेजहरूसँग समेत समन्वय गरी सूचना प्रविधिसँग सम्बन्धित सीप तथा शिक्षा प्रदान दक्ष जनशक्ति उत्पादन गरिरहेको जानकारी दिए । हरेक वर्ष विद्यालयहरूसँगको सहयोग र सहकार्यमा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनका लागि फाउन्डेसनले आवश्यक शैक्षिक गतिविधिसहित तालिम प्रदान गर्दै आएको बताउँदै उनले यस किसिमको सिकाइ र प्रतियोगिताबाट नेपाली विद्यार्थी लाभान्वित भई समग्र आईटी क्षेत्रको विकास हुने विश्वास व्यक्त गरे । फाउन्डेसनले अर्को वर्ष हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको स्थान अझ राम्रो बनाउन आगामी महिनादेखि नै चरणबद्ध रूपमा सिर्जनात्मक तथा नवप्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आयोजकका अनुसार जाकार्तामा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वका करिब एक हजार ५०० विद्यार्थीको सहभागिता रहेको थियो ।

अब निजामती कर्मचारीले प्रदेश अस्पतालमै ‘सिभिल अस्पताल’को स्वास्थ्य सेवा पाउने

काठमाडौं । अब निजामती कर्मचारीहरूले प्रदेशस्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् ।  भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल, काठमाडौं)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।  काठमाडौं उपत्यका बाहिर कार्यरत तथा बसोबास गर्ने निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र आश्रित परिवारहरूको सहजताका लागि प्रदेशमै स्वास्थ्य सेवा पुर्‍याउन लागिएको सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।  मन्त्रालयका अनुसार निजामती कर्मचारी, अवकाशप्राप्त निजामती कर्मचारी तथा निजहरूको आश्रित परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य रूपमा उपलब्ध गराउने उद्देश्यले प्रदेश अस्पतालहरूसँग सम्झौता सुरु भएको छ ।  पहिलो चरणमा मधेस प्रदेशका लागि नारायणी अस्पताल वीरगन्ज, पर्सा र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनबाट निजामती कर्मचारीले निजामती अस्पताल काठमाडौंबाट पाउने  छुट तथा सहुलियत सहित स्वास्थ्य सेवा पाउने छन् ।  आइतबार मन्त्रालयले दुई अस्पतालसँग सम्झौता गरेसँगै सोमबारबाटै सेवा सुरु हुने मन्त्रालयले जनाएको छ ।  सेवा प्राप्त गर्न निजामती कर्मचारी वा अवकाशप्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा हुनुपर्ने छ ।  मधेस र बागमतीबाहेक अन्य प्रदेशमा समेत सेवा विस्तार गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वय भई सेवा प्रदायक अस्पतालहरूको सूचीकरण समेत भैसकेको छ ।  आवश्यक तयारी चलिरहेकाले कहिदिनमै सबै प्रदेशबाट निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारीहरूलाई उपलब्ध गराउँदै आएको छुट, सहुलियत सहितको स्वास्थ्य उपचार सेवा उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।