एसइईमा उत्कृष्ट विद्यार्थीलाई १ लाख २० हजार पुरस्कार

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई १ लाख २० हजार रुपैयाँ नगद पुरस्कार वितरण गरिएको छ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ पिप्लेका समाजसेवी कमल शाहीले राखु क्षेत्रमा सञ्चालित तीन सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरेका हुन् । 

रघुगङ्गा गाउँपालिका–२ र ३ स्थित रघुगङ्गा मावि, मुक्तिधाम मावि र ज्ञानोदय माविबाट एसइई परीक्षा २०८२ मा ए प्लस ग्रेड प्राप्त गर्ने विद्यार्थीलाई जनही १० हजार रुपैयाँ तथा ए ग्रेड ल्याउनेलाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको छ।

यस वर्ष रघुगङ्गा माविबाट ए प्लस ग्रेड ल्याउने एक जना र ए ग्रेड ल्याउने ७ जना, मुक्तिधाम माविबाट साधारण तथा प्राविधिक धारतर्फ ए प्लस ग्रेड ल्याउने ३ जना र ए ग्रेड ल्याउने ६ जना तथा ज्ञानोदय माविबाट ए ग्रेड ल्याउने एक जना विद्यार्थी पुरस्कृत भएका छन् । साथै दृष्टिविहीन दुई विद्यार्थीलाई समेत नगद पुरस्कार प्रदान गरिएको छ ।

शाहीले ए प्लस ग्रेड ल्याउने चार जनालाई जनही १० हजार रुपैयाँ र ए ग्रेड प्राप्त १४ जना तथा २ दृष्टिविहीन गरी १६ जनालाई जनही ५ हजार रुपैयाँका दरले पुरस्कार वितरण गरेका हुन् । 

उनले विगत पाँच वर्षदेखि एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई निरन्तर पुरस्कृत गर्दै आएक छन् । साथै, भविष्यमा ४ जीपीए ल्याउने विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरेका छन् । 

मुक्तिधाम माविका विद्यार्थीलाई सोही विद्यालयमा तथा रघुगङ्गा मावि र ज्ञानोदय माविका विद्यार्थीलाई रघुगङ्गा मावि पिप्लेमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रममा रघुगङ्गा गाउँपालिका–३ का वडाध्यक्ष खिमबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ शर्मा तथा प्रधानाध्यापक रमेशसिंह ठकुरीले पुरस्कार वितरण गरे । 

सो अवसरमा कमल शाहीले आफ्ना बुबाको स्मृतिमा स्थापना गरेको ६ लाख ११ हजार रुपैयाँ राशिको ‘देवबहादुर शाही अक्षयकोष’बाट रघुगङ्गा माविका विभिन्न कक्षाका विद्यार्थीलाई समेत विभिन्न विधामा पुरस्कृत गरिएको थियो । 

Share News