ज्योति विकास बैंकका ग्राहकलाई चितवनको राइनो लज एन्ड होटलमा २५ प्रतिशतसम्म छुट
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चितवनको सौराहास्थित राइनो लज एन्ड होटल (Rhino Lodge and Hotel) सँग आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका ग्राहकले उक्त होटलमा उपलब्ध सेवा तथा सुविधामा २५ प्रतिशतसम्म छुट पाउनेछन् । सौराहाको रमणीय प्राकृतिक दृश्य, शान्त वातावरण र उच्चस्तरीय आतिथ्य सेवाका कारण राइनो लोज एन्ड होटल चितवनको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ । बैंक–होटलबीचको सहकार्यले ग्राहकलाई गुणस्तरीय सेवा किफायती दरमा उपलब्ध गराउने विश्वास बैंकले लिएको छ । ज्योति विकास बैंकले संस्थागत सुशासन, सामाजिक उत्तरदायित्व र दिगो विकासलाई प्राथमिकतामा राख्दै विभिन्न नवीन कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । बैंकले आफ्नै मुनाफाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाभन्दा ५० प्रतिशत बढी रकम छुट्याएर समाजमा सकारात्मक योगदान पुर्याउँदै आएको दाबी गरेको छ । स्वस्थ र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको आधार भन्ने मान्यताका साथ बैंकले नवजात शिशुको जीवन रक्षा गर्ने उद्देश्यले ‘न्यानो नानी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । सो कार्यक्रममार्फत हरेक वर्ष २ हजार ५ सय ९० भन्दा बढी नेपाली शिशुको जीवन रक्षा हुँदै आएको बैंकको भनाइ छ । राष्ट्रप्रतिको दायित्व निर्वाह गर्दै ज्योति विकास बैंकले गत आर्थिक वर्षमा ४१ करोड रुपैयाँ कर योगदान गरेको छ । हाल बैंकले उपत्यका तथा उपत्यकाबाहिर गरी ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर र ७५ एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
हाडजोर्नी दुख्ने मात्र होइन, बाथले भित्रभित्रै अंगहरू पनि नष्ट गर्छ
शरीरका कुनै पनि अङ्गको दुखाइ सामान्य नहुन पनि सक्छ । हामीले सामान्य दुखाइ भनेर बेवास्ता गर्दा भोलि शारीरिक अपाङ्गता देखी लिएर शरीरका जुनसुकै अंगमा क्षति पनि पुर्याउन सक्छ । विशेषगरी युवा उमेर समूहमा बढ्दै गएको र चिसो समयमा अझ बढी बिरामीलाई दुःख दिने बाथ रोग के हो ? बाथले नेपालीलाई कति दुःख दिइरहेको छ र यसको उपचार पद्धति नेपालमा कस्तो छ ?लगायतका विषयमा विकासन्युजकी इन्द्रसरा खड्काले बाथरोग विशेषज्ञ डा. अरुणकुमार गुप्तासँग गरेको कुराकानीको सम्पादित अंश : बाथरोग कस्तो किसिमको रोग हो ? यसका लक्षण कस्ता छन् ? बाथरोग शरीरको दुखाइ हो । यो दुखाइ सुतेर उठ्दा बिहानको समयमा अझ बढी हुन्छ । बाथ भएका भएका व्यक्तिलाई हातको आँख्ला दुख्ने, हिँड्न, बस्न र उठ्न निकै गाह्रो हुने गर्छ । बिहान सुतेर उठ्दा जीउ गाह्रो हुन्छ, पहिले सजिलै गरिरहेको काम गर्न अप्ठ्यारो लाग्दै जान्छ । घुँडा सुन्निने, जोर्नीहरू दुख्ने, कम्मरमा दुखाइ, हिँड्न सकिरहेको छैन, विस्तारै अशक्त जस्तै भइरहेको छ भने त्यो बाथरोगको लक्षण हुनसक्छ । सबै दुखाइ बाथको हुँदैन । दुखाइ लक्षण हो । अस्पताल पुग्ने बिरामीहरू यहाँ दुखेको, उता दुखेको भनेर आउँछन् यो दुखाइ कहिलेदेखि भयो भन्ने समय अवधि हेरेर उपचार सुरु गरिन्छ । डा. अरुणकुमार गुप्ता । नेपालमा बाथरोगको अवस्था कस्तो छ ? आजभन्दा करिब २० वर्ष अगाडि बाथरोगका विषयमा धेरैलाई थाहा थिएन । बाथ लाग्दा अभिशाप हो भन्ने सोच मानिसमा थियो । धेरैले भाग्यलाई सराप्दै बस्थे । बिस्तारै चिकित्सा शिक्षाको बिस्तार हुँदै गएपछि बाथरोगका विषयमा पनि थाहा हुँदै गयो । २० वर्षपछि धेरै परिवर्तन आएको छ । त्यो बेलाको यो रोगप्रतिको बुझाइ, उपचार प्रणाली पनि धेरै फरक छ। कुन उमेर समूहका व्यक्तिमा यसको समस्या बढी हुन्छ ? बाथरोग सबै उमेरसमूहका व्यक्तिलाई भइरहेको पाइन्छ । बच्चादेखि युवा र वृद्धवृद्धा पनि यो रोगको जोखिममा परिरहेका हुन्छन् । नेपालमा सबैभन्दा बढी बाथरोग देखिने समूह भएको १५ देखि ४० वर्ष हो । जाडोयाममा यो बढी हुन्छ भने गर्मीयाममा अलिक कम हुने गर्दछ । बाथ दुखाइकै रोग हो तर बाथकै कारण दुखाइ भएको हो वा अन्य कारण भन्ने विषयमा व्यक्तिको उपचार गर्ने क्रममा मात्र थाहा हुन्छ । बाथ कति प्रकारको हुन्छ ? बाथ सयौं प्रकारको हुन्छ । उमेरअनुसार बालबालिकादेखि वृद्धवृद्धालाई पनि यो समस्या भइरहेको पाइन्छ । कति बाथ हड्डी, जोर्नी, नसाबाट सुरु भएको हुन्छ यसको नाम पनि त्यही अनुसार फरक हुन्छ । लक्षणका हिसाबले कुन बाथ हो भन्ने कुरा छुट्याउन सकिन्छ । ओस्टियो अर्थाइटिस (जोर्नी खिइने बाथ), युरिक एसिडजन्य बाथ,(¥युमाटाइट अर्थाइटिस), लुपस, ढाडको बाथ, भास्कुलाईटिसलगायत सय भन्दा बढी प्रकारको हुन्छ । कुन प्रकारको बाथ हो भन्ने कुरा थाहा पाउन व्यक्तिको हिस्ट्रीबारे अध्ययन गरिन्छ । किनकि बाथरोग वंशाणुगत कारणले बढी देखिने गर्छ । बाथरोग सरुवा रोग त होइन तर यो कसरी लाग्छ ? कुनै व्यक्तिलाई जीवाणु, किटाणु र भाइरसबाट कुनै रोग लागेको छ भने त्यस्ता व्यक्तिलाई बाथ हुने सम्भावना बढी हुन्छ । ट्युबरकुलोसिस, चिकेन गुनिया, एचआईभी लगायतका रोग भएका व्यक्तिलाई हुने सम्भावना पनि हुन्छ । कुनै सरुवा रोग नभए पनि यस्ता रोगबाट आक्रान्त छन् भने त्यस्ता व्यक्तिलाई बाथरोग हुनसक्ने सम्भावना बढी हुन्छ । बाथरोग यही कारण हुन्छ भन्ने हुँदैन । बाथरोग भनेको अटोइम्युन रोग हो । हरेक मान्छेको शरीरमा रोगसँग लड्ने प्रतिरक्षा प्रणाली हुन्छ तर बाथरोगीलाई त्यो प्रणालीले आफ्नै शरीरको विरुद्धमा आक्रमण गर्छ । उक्त आक्रमणलाई रगतभित्र रहेको एन्टीबडीले नै डिफेन्स गर्छ, जसले गर्दा शरीरलाई आघात गर्नसक्छ । कुन व्यक्तिलाई कुन प्रकारको ब्याक्टेरिया वा भाइरसले असर गर्छ भन्ने कुरा रगतको परीक्षण र अध्ययन गरेर मात्रै थाहा पाउन सकिन्छ । यो रोगको कारण भनेको एउटा वंशाणुत हो । कतिपय हर्मोनका कारण पनि यो रोग हुन्छ, जो महिलालाई बढी देखिने गर्छ । तर यो यही कारणले हुन्छ भन्ने हुँदैन । के कम्मरको दुखाइ पनि बाथ हुन सक्छ ? अहिले धेरैजसो व्यक्ति कम्मर दुखाइको समस्या लिएर आउने गर्छन् । त्यसमा पनि कुन उमेर समूहको व्यक्ति हो भनेर छुट्याइन्छ । कम्मरको तल्लो भागमा दुखेको हो भने त्यसलाई ‘लोअर ब्याक पेन’ भनिन्छ । जुन समस्या हाडजोर्नी, मांशपेसी र स्नायु रोगको समस्याले हुनसक्छ । तर कम्मरको दुखाइ छ भने यो बाथ हो कि होइन भनेर अध्ययन गरिन्छ । यो दुखाइको प्रकृति कस्तो छ, एक–दुई दिनदेखि भएको हो कि, केही घण्टामा भएको हो कि, केही महिना वा वर्ष बितिसकेको हो भनेर हेरिन्छ । बाथको दुखाइ र मेकानिकल ब्याक पेन छुट्याइइन्छ । बाथको दुखाइ र अरू दुखाइमा फरक कसरी छुट्याउने ? बाथको दुखाइ तपाईं जति आराम गर्नुहुन्छ त्यति बढ्छ । जब शारीरिक व्यायाम गरिन्छ तब कम भएको अनुभव हुन्छ । बाथको दुखाइ करिब ६ हप्तासम्म हुन्छ भने अर्को दुखाइ एक महिना वा दुई महिना नाघिसकेको हुन्छ । मेकानिकल दुखाइ केही दिनदेखि हप्तासम्म रहन्छ । बाथको दुखाइ रातको समयमा बढी हुन्छ भने अन्य दुखाइ दिनचर्यामा बढी हुन्छ । बाथको दुखाइले मोविलिटीलाई नै जाम गराइदिन्छ । दुखाइ बिहान ३० मिनेटदेखि १ घण्टासम्म जारी रहन्छ । अन्य दुखाइको कुनै समय हुँदैन । बाथले बिस्तारै बिस्तारै व्यक्तिलाई अपाङ्गता समेत गराउँछ । अन्य दुखाइले भने यस्तो अवस्था ल्याउँदैन । कम्मरको बाथ बढी पुरुषमा देखिन्छ हो ? यो समस्या बढी पुरुषमा देखिने गरेको छ । यसको दुखाइ कम्मरमा मात्र समिति हुँदैन । कम्मरबाहेक बिस्तारै घुँडा, गोलिगाँड, कुइना हातको आँख्लामा समेत असर गरेको हुन्छ भने गर्दनको हड्डीमा समेत यसले असर गर्छ । यो दुखाइ एक–दुई वर्षदेखि हुँदै आएको छ भने यसले तलमाथि दायाबायाँ, अगाडि पछाडि गर्न नसकिने अवस्थामा पुर्याइदिन्छ । बाथरोगको समयमै उपचार भएन भने यसले शरीरको संरचना नै परिवर्तन गराइदिनसक्छ । अस्पताल उपचारका लागि ढिला पुगेका धेरै व्यक्ति अपांगताको अवस्थामा पुगेका छन् । कुनै किसिमको दुखाइ छ, दुखाइ बढ्दै गएको छ भने त्यस्तो दुखाइ सहेर बस्न हुँदैन, तुरुन्तै अस्पतालमा गई उपचार गराउनुपर्छ । के बाथले शरीरका अरू अंगलाई पनि असर पार्छ ? बाथ एउटा दुखाइबाट सुरु हुन्छ । तर यसको हाँगा शरीरका विभिन्न अंगतिर छरिएको हुन्छ । टाउकादेखि खुट्टा, मुटु मिर्गौला, कलेजो, फोक्सो, आँखा, छाला लगायत हरेक अंगमा यसले असर पु¥याएको हुन्छ । अस्पताल पुगेका सय जनामध्ये एकजना दुखाइ भन्दा अन्य समस्या भएर उपचारका लागि आउँछन्– जस्तै आँखा रातो हुने, बिझाउने, कतिको ज्वोतिमै समस्या आउने । कतिको आँखाको रोग बाथको कारणले पनि भएको पाइयो । यसले मुटुसम्बन्धी समस्या पनि ल्याउँछ, फोक्सोमा पनि असर पार्छ । फोक्सोमा विशेष गरी करङको हड्डीमा पनि असर पार्छ । त्यसैले बाथ दुखाइ मात्र हुँदैन, यसले शरीरका विभिन्न अंगलाई समेत असर पुर्याउँछ । बाथका बिरामीले कस्तो जीवनशैली अपनाउनुपर्छ ? बाथरोग खानपानसँग सम्बन्धित रोग होइन । युरिक एसिडको बाथरोग मात्रै खानपानसँग सम्बन्धित हुन्छ । युरिक एसिडको बाथरोग भएकाहरूले जाँडरक्सी, रातो मासु, जनावरको भित्री अंग, चिनीजन्य पेय पदार्थ नखाएको राम्रो मानिन्छ । अन्य प्रकारका बाथ रोगीहरूले भने खानपान बार्नु पर्दैन । बाथरोगको उपचार कसरी गरिन्छ ? अहिले हरेक बाथका रोगीको उपचार नेपालमा सम्भव छ । सबैभन्दा पहिले कुन बाथरोग हो भन्न कुरा पत्ता लगाउनुपर्छ । यसका लागि चिकित्सकको सल्लाह अनिवार्य चाहिन्छ । अस्पताल पुगेर बाथको प्रकार, स्टेज पत्ता लगाइसकेपछि मात्र उपचार सुरु गरिन्छ । औषधी, इन्जेक्सनसँगै बिरामीलाई फिजियो, शारीरिक व्यायाम, योगाको पनि सल्लाह दिइन्छ । कम्मरको बाथको हकमा युवा अवस्थाको व्यक्ति छ र उसको कम्मरको दुखाइ बाथकै हो भने समयमै उपचार अनिवार्य आवश्यक छ ।
भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा
मुम्बई । भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बङ्गाल राज्यमा निपाह भाइरसका दुई सङ्क्रमण पुष्टि भए पनि अवस्था समयमै नियन्त्रणमा ल्याइएको जानकारी दिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले मङ्गलबार राति जारी गरेको विज्ञप्तिमा उन्नत निगरानी, प्रयोगशाला परीक्षण तथा क्षेत्रीय अनुसन्धानमार्फत सङ्क्रमण फैलिन नदिइएको स्पष्ट पारेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार जनावरबाट मानिसमा सर्ने निपाह भाइरसको हालसम्म कुनै खोप उपलब्ध छैन र यसबाट हुने मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुनसक्ने बताइएको छ । यति उच्च जोखिमका बाबजुद पनि हाल देखिएका दुईवटै सङ्क्रमणलाई समयमै नियन्त्रण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित व्यक्तिहरूसँग सम्पर्कमा आएका १९६ जनाको पहिचान गरी परीक्षण गरिएको छ र सबैको नतिजा नकारात्मक आएको छ । 'स्थिति निरन्तर निगरानीमा राखिएको छ र आवश्यक सबै जनस्वास्थ्यका उपायहरू कार्यान्वयनमा छन्', विज्ञप्तिमा उल्लेख छ । यद्यपि सङ्क्रमित बिरामीहरूको व्यक्तिगत विवरण सार्वजनिक गरिएको छैन । निपाह भाइरस पहिलो पटक सन् १९९८ मा मलेसियामा सुँगुरबाट किसानहरूमा फैलिएपछि पहिचान गरिएको थियो । भारतमा यसको पहिलो प्रकोप सन् २००१ मा पश्चिम बङ्गालमै देखिएको थियो । पछि सन् २०१८ मा केरलामा फैलिएको निपाहबाट कम्तीमा १७ जनाको मृत्यु भएको थियो भने सन् २०२३ मा सोही राज्यमा दुई जनाको ज्यान गएको थियो । यस भाइरसका प्रारम्भिक लक्षणमा उच्च ज्वरो, बान्ता र श्वासप्रश्वाससम्बन्धी समस्या देखिन्छन् । उहाँ फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए । स्वास्थ्य विज्ञहरूका अनुसार फल खाने चमेरा निपाह भाइरसका प्राकृतिक वाहक हुन् र विगतका प्रकोपहरूमा पनि उनीहरूलाई मुख्य स्रोतका रूपमा पहिचान गरिएको छ । हालको अवस्थामा पनि सतर्कता अपनाउँदै निगरानी अझ कडा बनाइएको भारतीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् । रासस