फेसबुक र टिकटक मोनिटाइजेसन गर्ने विज्ञापनको विश्वास नगर्नू : साइबर ब्यूरो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबुक वा टिकटक मोनिटाइजेसन गर्ने विज्ञापनको विश्वास नगर्न सचेत गराएको छ । पछिल्लो समय सामाजिक सञ्जालमा मोनिटाइजेसन सस्तो र ग्यारेन्टीसहितको विज्ञापन गर्ने बढेकाले ब्यूरोले सर्वसाधारणलाई सचेत गराएको हो । ह्याकिङ् गर्नेले फेसबुकलाई भेरिफेकिसन तथा सपोर्ट गर्ने बहानामा फिसिङ लिङ्क पठाइ ओटीपी तथा पासवर्ड माग्ने क्रम बढेको हो । ह्याकरहरूले ओटीपी पाउँनसाथ सामाजिक सञ्जालको च्यानल र पेज कब्जामा लिने गरेको ब्यूरोले जनाएको छ । उनीहरूले आर्थिक तथा व्यक्तिगत क्षतिसमेत गर्ने गरेको ब्यूरोले उल्लेख गरेको छ । ब्यूरोले मोनिटाइजेसनको सम्पूर्ण गतिविधि आधिकारीक प्लेटफार्ममार्फत गर्न अनुरोध गरेको छ । मेटा बिज्नेस र युट्युब स्टुडियोबाट मात्र काम गर्नुपर्ने ब्यूरोले बताएको छ । ब्यूरोले कुनै पनि आधिकारिक कम्पनीले सामाजिक सञ्जालको अकाउन्टको पासवर्ड, रिकभरी कोड वा ओंटीपी म्यासेजमार्फत नमाग्ने जनाएको छ ।  अपरिचित व्यक्ति वा विज्ञापनको प्रलोभनमा परेर कतै पनि आफ्नो गोप्य विवरण वा ओटीपी सेयर नगर्न ब्यूरोले प्रस्ट पारेको छ ।  अनलाईन ठगीमा परेको र यस्तो गतिविधि देखेमा नजिकैको प्रहरी कार्यालयमा वा साइबर ब्यूरोमा सम्पर्क गर्न ब्यूरोले आग्रह गरेको छ ।   

नासोँ गाउँपालिकाको थोँचेमा ५ श्ययाको अस्पताल बन्ने

मनाङ । भारत सरकारको सहयोगमा नासोँ गाउँपालिका–५ थोँचेमा पाँच श्ययाको अस्पताल भवन निर्माण हुने भएको छ ।  बिहीबार थोँचेमा आयोजित एक सङ्क्षिप्त कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका उपप्रमुख राकेश पाण्डे र नासोँ गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले संयुक्त रूपमा शिलान्यास गरे ।       अस्पताल भवन निर्माणका निम्ति ६ करोड ६७ लाख ९६ हजार ९३३ रुपैयाँ विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए । भवन निर्माणमा कूल लागतको पाँच प्रतिशत रकम पालिकाले बेहोर्ने छ ।  भवनमा बहिरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, एक्स–रे विभागलगायत बनाइने छ । रासस

एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रमा सहकार्य

काठमाडौं । विश्वप्रसिद्ध एयरोस्पेस कम्पनी एयरबस र त्रिभुवन विश्वविद्यालयबीच एयरोस्पेस क्षेत्रको क्षमता विकासका लागि समझदारी भएको छ । सम्झौताअनुसार नेपालमा एयरोस्पेस, उड्डयन तथा डिजिटल प्रविधिसम्बन्धी शिक्षा, तालिम, अनुसन्धान र उद्योग अनुभवका अवसर विस्तार गरिनेछ । साथै विद्यार्थीहरूलाई एयरोस्पेस इन्जिनियरिङ, एआई/एमएल, एड्भान्स्ड एनालिटिक्स र साइबर सुरक्षा जस्ता आधुनिक प्रविधिमा दक्ष बनाउने लक्ष्य राखिएको छ । समझदारीपत्रमा एयरबस साउथ एसियाका प्रेसिडेन्ट तथा म्यानेजिङ डाइरेक्टर रेमी मेलार्ड र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुशील बहादुर बज्राचार्यले हस्ताक्षर गरेका हुन् । कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल, नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनी कोर्टेभाल, सरकारी अधिकारी तथा एयरबसका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।