फेसबुक र टिकटक मोनिटाइजेसन गर्ने विज्ञापनको विश्वास नगर्नू : साइबर ब्यूरो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले फेसबुक वा टिकटक मोनिटाइजेसन गर्ने विज्ञापनको विश्वास नगर्न सचेत गराएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालमा मोनिटाइजेसन सस्तो र ग्यारेन्टीसहितको विज्ञापन गर्ने बढेकाले ब्यूरोले सर्वसाधारणलाई सचेत गराएको हो ।

ह्याकिङ् गर्नेले फेसबुकलाई भेरिफेकिसन तथा सपोर्ट गर्ने बहानामा फिसिङ लिङ्क पठाइ ओटीपी तथा पासवर्ड माग्ने क्रम बढेको हो ।

ह्याकरहरूले ओटीपी पाउँनसाथ सामाजिक सञ्जालको च्यानल र पेज कब्जामा लिने गरेको ब्यूरोले जनाएको छ । उनीहरूले आर्थिक तथा व्यक्तिगत क्षतिसमेत गर्ने गरेको ब्यूरोले उल्लेख गरेको छ ।

ब्यूरोले मोनिटाइजेसनको सम्पूर्ण गतिविधि आधिकारीक प्लेटफार्ममार्फत गर्न अनुरोध गरेको छ । मेटा बिज्नेस र युट्युब स्टुडियोबाट मात्र काम गर्नुपर्ने ब्यूरोले बताएको छ ।

ब्यूरोले कुनै पनि आधिकारिक कम्पनीले सामाजिक सञ्जालको अकाउन्टको पासवर्ड, रिकभरी कोड वा ओंटीपी म्यासेजमार्फत नमाग्ने जनाएको छ । 

अपरिचित व्यक्ति वा विज्ञापनको प्रलोभनमा परेर कतै पनि आफ्नो गोप्य विवरण वा ओटीपी सेयर नगर्न ब्यूरोले प्रस्ट पारेको छ । 

अनलाईन ठगीमा परेको र यस्तो गतिविधि देखेमा नजिकैको प्रहरी कार्यालयमा वा साइबर ब्यूरोमा सम्पर्क गर्न ब्यूरोले आग्रह गरेको छ ।   

Share News