राति काम गर्ने नर्सको भत्ता दोब्बर, संयमसेविकाको भत्ता ५० प्रतिशत बढ्यो

काठमाडाैं । सरकारले रात्रीकालीन सेवा दिने नर्स तथा स्वास्थ्यकर्मीहरूको भत्ता वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै राति काम गर्ने नर्सहरूको भत्ता दोब्बर बनाइएको बताएका छन्। त्यसैगरी, समुदायमा स्वास्थ्य सेवा प्रदान गर्दै आएका संयमसेविकाहरूको भत्ता ५० प्रतिशतले वृद्धि गरिएको पनि बजेटमा उल्लेख छ। सरकारका अनुसार स्वास्थ्य सेवामा कार्यरत जनशक्तिको मनोबल बढाउने, सेवा गुणस्तर सुधार गर्ने तथा दुर्गम र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यले भत्ता वृद्धि गरिएको हो। अर्थमन्त्री वाग्लेले स्वास्थ्य क्षेत्रलाई सरकारको प्राथमिकतामा राख्दै स्वास्थ्यकर्मीको प्रोत्साहन बिना गुणस्तरीय सेवा सम्भव नहुने बताए।

सातै प्रदेशका सरकारी अस्पताल शिक्षण अस्पतालमा रूपान्तरण गरिने

काठमाडौं । सरकारले सार्वजनिक–निजी साझेदारी कार्यक्रम अन्तर्गत देशभरका सातै प्रदेशका प्रमुख सरकारी अस्पताललाई चरणबद्ध रूपमा शिक्षण अस्पताल तथा विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा रूपान्तरण गर्ने भएको छ ।  आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले स्वास्थ्य पूर्वाधार, मेडिकल शिक्षा र विशेषज्ञ सेवा विस्तारलाई प्राथमिकतामा राख्दै अस्पतालहरूलाई आधुनिक शिक्षण तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेको हो । यस योजनाअन्तर्गत कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र र सामाजिक सुरक्षा कोषमा रहेको लगानी योग्य स्रोतलाई स्वास्थ्य पूर्वाधार विस्तार, मेडिकल शिक्षा तथा चिकित्सा सेवामा परिचालन गरिने सरकारले जनाएको छ। सरकारले यी कोषमा रहेको दीर्घकालीन पुँजीलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्दै स्वास्थ्य प्रणालीलाई सुदृढ बनाउने र गुणस्तरीय उपचार सेवामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको छ ।

स्वास्थ्य बीमा कार्यक्रममा व्यापक पुनर्संरचना हुन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । सरकारले स्वास्थ्य बीमा कार्यक्रमको पुनर्संरचना गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमा उक्त कुरा उल्लेख गरिएको हो ।  बजेटमा आगामी ३ वर्षमा ९० प्रतिशतलाई स्वास्थ्य बीमाको दायरामा ल्याइने लक्ष्य पनि राखिएको अर्थमन्त्री वाग्लेले बताए । उनले भने,‘स्वास्थ्य बीमा कार्यक्रमको व्यापक पुनर्संरचना गर्नेछौँ । छरिएर रहेका सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम र स्वास्थ्य सम्बन्धि दायित्वलाई एकीकृत गर्दै एकल भुक्तानी विधि अपनाउनेछौ ।’ अर्थमन्त्री वाग्लेले सडक दुर्घटनाबाट हुने जनधनको क्षति न्युनिकरणका लागि राष्ट्रिय ट्रमा नीति तर्जुमा गरी लागू गर्ने पनि बताए ।