हेलिकप्टर बुक पनि पठाओ एपबाट, सिम्रिक एयरलाइन्समा राइड सेयरिङ
काठमाडौं । राइड सेयरिङ हुंदै सुपर एप बनिरहेको पठाओ नेपालले अब मोबाइल एपबाटै हेलिकप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको छ । नेपालको प्रमुख मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुवात गरेको हो । राइड सेयरिङबाट सुरु भएको पठाओ नेपालको यात्रा पार्सल, फुड डेलिभरी र होम सर्भिस हुँदै अहिले पठाओ हेलीसम्म विस्तार भएको कम्पनीले जनाएको छ । अब यात्रुले पठाओ एप अथवा पठाओ हेलीको बेवसाइट पठाओ हेली डट कममार्फत मूल्य निर्धारणसहित सहज रूपमा हेली बुक गर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार मुक्तिनाथ, गोसाईकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरलगायतका धार्मिक, प्राकृतिक र पर्यटकीय गन्तव्यका लागि हेलिकप्टर बुक गर्न सकिनेछ । एउटा हेलिकप्टरमा एकपटकमा चारदेखि पाँच जनासम्मले यात्रा गर्न सक्नेछन् । तीर्थयात्रा, नव विवाहित दम्पतीका लागि रमणिय यात्रा, पारिवारिक भ्रमण तथा साथीभाइसँग मिलेर छोटो समयमा विभिन्न पर्यटकीय गन्तव्य घुम्नका लागि पठाओ हेली उपयुक्त हुने कम्पनीले जनाएको छ । ‘नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउनु हाम्रो लक्ष्य हो, मोबिलिटी, पार्सल डेलिभरी, फुड डेलिभरी र इ–कमर्सलाई एकै प्लेटफर्ममा जोड्दै हामी अघि बढिरहेका छौँ’, पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले भने । नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष, २०८५ लाई समेत मध्यनजर गरी पठाओ नेपालले यस्तो सेवा सञ्चालन गरेको कम्पनीले जनाएको छ ।
८ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ आवेदन, को-को भए योग्य ?
काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले देशका विभिन्न ८ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि प्राप्त आवेदनमध्ये योग्य उम्मेदवारहरूको स्वीकृत नामावली प्रकाशन गरेको छ । मन्त्रालयले बुधबार जारी गरेको सूचना अनुसार विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ बमोजिम कुल २१८ वटा आवेदनहरू प्राप्त भएका थिए । ती आवेदनहरू मध्येबाट सिफारिस समितिको मिति २०८३ जेठ १३ गतेको निर्णयअनुसार विश्वविद्यालयगत रूपमा योग्य व्यक्तिहरूको दरखास्त स्वीकृत गरिएको हो । स्वीकृत नामावली अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि छुट्टाछुट्टै सूची सार्वजनिक गरिएको छ । जसमा त्रिभुवन विश्वविद्यालयका लागि सोम प्रसाद खतिवडा, पुष्पराज अधिकारी, सन्जय पौडेलसहित ४३ जनाको नाम स्वीकृत भएको छ । त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालयका लागि रोजी श्रेष्ठ, विजय अर्यालसहित ३४ जना र पोखरा विश्वविद्यालयका लागि ३३ जना उम्मेदवारको दरखास्त स्वीकृत भएको विवरणमा उल्लेख छ । यसैगरी, मधेश प्रदेश केन्द्रित राजर्षि जनक विश्वविद्यालयका लागि २१ जना, सुदूरपश्चिम विश्वविद्यालयका लागि १८ जना र मध्यपश्चिम विश्वविद्यालयका लागि १९ जना आवेदकहरू योग्य ठहरिएका छन् । प्राविधिक तथा विशिष्टीकृत विश्वविद्यालयतर्फ कृषि तथा वन विज्ञान विश्वविद्यालयमा १३ जना र लुम्बिनी बौद्ध विश्वविद्यालयमा ७ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत भएको मन्त्रालयले जनाएको छ । स्वीकृत सूचीमा परेका यी उम्मेदवारहरूमध्येबाटै अब कार्यविधिले तोकेको प्रक्रिया बमोजिम सम्बन्धित विश्वविद्यालयहरूको उपकुलपति पदका लागि अन्तिम नाम सिफारिस गरिनेछ । यस्ताे छ स्वीकृत भएका व्यक्तिहरूको नामावली :
४१ लाखभन्दा बढीले पाए सवारी स्मार्ट चालक अनुमतिपत्र
काठमाडौं । सार्वजनिक भएको आर्थिक सर्वेक्षण २०८२/०८३ आनुसार चालु आर्थिक वर्षको फागुनसम्म ४३ हजार ७५० थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको छ । हालसम्म (२०८२ फागुनसम्म) ४१ लाख १४ हजार १८१ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट कार्ड) वितरण भएको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएको छ भने पाँच हजार १८६ थान जडान भएको छ । २०८२ फागुनसम्म आठ लाख ३१ हजार ५९ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएकोमा ८८ हजार ३४० थान मात्र जडान भएको छ । इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउने सम्बन्धमा इम्बोस्ड सवारी नम्बर प्लेट जडानसम्बन्धी निर्देशिका, २०८१ स्वीकृति भई कार्यान्वयनमा रहेको छ ।