जलन उपचारका लागि वीर र कीर्तिपुर अस्पतालको क्षमता विस्तार गरिने

काठमाडौं । सरकारले जलन (बर्न) सम्बन्धी उपचार सेवालाई सुदृढ बनाउन देशका प्रमुख दुई अस्पतालको क्षमता विकास गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेको हो । अर्थमन्त्री स्वर्णीम वाग्लेले  शुक्रबार संयुक्त सदनमा बजेट प्रस्तुत गर्दै जलन उपचारका लागि वीर र कीर्तिपुरको पूर्वाधार तथा सेवा क्षमता विस्तार गर्ने लक्ष्य राखिएको जानकारी दिएका हुन् । सरकारले जलन उपचारलाई आपतकालीन र विशिष्टीकृत स्वास्थ्य सेवाको महत्वपूर्ण हिस्सा मान्दै आधुनिक उपकरण, विशेषज्ञ जनशक्ति र उपचार प्रणाली सुदृढ बनाउने योजना अघि सारेको छ । यस योजनाले जलनका बिरामीलाई देशभित्रै गुणस्तरीय उपचार उपलब्ध गराउने र रेफरल प्रणालीमा निर्भरता घटाउने अपेक्षा गरिएको छ ।

नर्सहरूको रात्रिकालीन भत्ता दोब्बर

काठमाडौं । सरकारले नर्सिङ कर्मचारीको रात्रि ड्युटीको भत्ता दोब्बर बनाएको छ ।  शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले नर्सिङ कर्मचारीको रात्रि ड्युटी भत्ता बढाउने घोषणा गरेका हुन् ।  यस्तै, स्वास्थ्य स्वयंसेविकाको यातायात खर्चमा पनि ५० प्रतिशत वृद्धि गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।

‍‍३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।  आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वाग्लेले बजेटमार्फत देशभर निर्माणाधीन ३ सय ३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो । यस्तै, निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ भने दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ।  साथै संघीय स्तरमा विशिष्टीकृत अस्पतालअन्तर्गत जलन उपचार केन्द्र स्थापना गरिने घोषणा गरिएको छ।