डिशहोम इन्टरनेटको ब्रान्ड एम्बेस्डरमा दिव्या रायमाझी नै दोहोरिइन्

काठमाडौं । डिशहोम इन्टरनेटले अभिनेत्री दिव्या रायमाझीसँगको ब्रान्ड एम्बेस्डर सहकार्यलाई निरन्तरता दिएको छ ।  कम्पनी र रायमाझीबीच आज डिशहोमको कपोरेट कार्यालय, भैंसेपाटीमा ब्रान्ड एम्बेस्डर सम्झौता नवीकरण सम्पन्न भएको हो । सम्झौतामा डिशहोमको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रसन्न पोख्रेल तथा अभिनेत्री दिव्या रायमाझीले हस्ताक्षर गरेका हुन् ।  डिशहोम इन्टरनेटले डिजिटल कनेक्टिभिटी, युवा पुस्तासँगको भावनात्मक सम्बन्ध तथा आधुनिक डिजिटल जीवनशैलीलाई प्राथमिकतामा राख्दै आफ्नो ब्रान्ड यात्रालाई निरन्तर अघि बढाइरहेको जनाएको छ ।  कम्पनीका अनुसार, युवामाझ लोकप्रिय, आत्मविश्वासी तथा नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तित्वका रूपमा दिव्या रायमाझीसँगको सहकार्यलाई निरन्तरता दिइएको हो । यस अवसरमा डिशहोमले आगामी डिजिटल अभियानहरू, ग्राहक केन्द्रित सेवाहरू तथा विशेष मनोरञ्जनमूलक कार्यक्रमहरूमा पनि रायमाझीसँग सहकार्य गर्दै जाने जनाएको छ ।  डिशहोमले हाल देशभर उच्च गतिको इन्टरनेट तथा डिजिटल टेलिभिजन सेवा प्रदान गर्दै लाखौँ ग्राहकहरूमाझ आफ्नो सेवा विस्तार गरिरहेको छ ।  सम्झौता नवीकरणपछि अभिनेत्री दिव्या रायमाझीले डिशहोमसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुशी लागेको बताउँदै नेपाली दर्शक तथा डिजिटल प्रयोगकर्तासँग अझ नजिक भएर जोडिन पाउने विश्वास व्यक्त गरिन्।

साब्रिना होटल अब 'ट्राइब काठमाडौं' बन्दै, आईपीओ पनि जारी गर्ने

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठस्थित गणेश चोकमा रहेको साब्रिना होटल अब विश्व प्रसिद्ध फ्रान्सेली होटल समूह एकोर अन्तर्गतको लाइफ स्टाइल ब्रान्ड ‘ट्राइब काठमाडौं’ नामबाट सञ्चालन हुने भएको छ । साब्रिना होटल लिमिटेड र ट्राइब होटलबीच भारतको नयाँ दिल्लीमा सम्झौता भएसँगै अब ट्राइब काठमाडौं नाममा सञ्चालन हुनेछ । यो परियोजना दक्षिण एसियामै ट्राइब ब्रान्डको पहिलो परियोजना हुने कम्पनीको दाबी छ । यसअघि नै नेपालमा एकोर समूहकै मक्र्योर ब्रान्ड सञ्चालनमा रहेको छ । साब्रिना होटल लिमिटेडका अध्यक्ष निराजन थापाले एकोरसँगको सहकार्यमा ट्राइब ब्रान्ड नेपाल भित्र्याउन पाउँदा खुशी व्यक्त गरे । साथै यसलाई नेपालको पर्यटन क्षेत्रका लागि महत्वपूर्ण र ऐतिहासिक उपलब्धि भएको उनको भनाइ छ । ट्राइब ब्रान्डको आगमनले आधुनिक डिजाइन, आरामदायी वातावरण र समुदायमुखी सेवाको बढ्दो मागलाई पूरा गर्ने उनले विश्वास व्यक्त गरे ।  ‘काठमाडौंमा आधुनिक यात्रुहरूको आवश्यकताअनुसार डिजाइन, सुविधा र सामाजिक स्पेसलाई जोड्ने सेवा आवश्यक छ, जसलाई ट्राइब ब्रान्डले पूरा गर्नेछ । यो परियोजनाले कम्पनीको लाइफस्टाइल होटल गन्तव्य बनाउने लक्ष्यलाई पनि अघि बढाउने छौं,’ उनले भने । ट्राइब ब्रान्ड विश्वभर आधुनिक डिजाइन, व्यावहारिक सुविधा, सामाजिक स्पेस र सुलभ मूल्यमा गुणस्तरीय सेवाका लागि परिचित छ । यो ब्रान्ड विशेषगरी युवा पुस्तालाई लक्षित गर्दै स्मार्ट डिजाइन र जीवन्त वातावरण प्रदान गर्ने मानिन्छ । हाल विश्वका विभिन्न देशमा ट्राइब ब्रान्डका २७ होटल सञ्चालनमा छन् । दक्षिण एसियामा प्रवेशअघि नै नेपालमा यसको उपस्थिति सुरु भएको हो । यो ब्रान्ड थाइल्याण्ड, इन्डोनेसिया, कम्बोडिया लगायतका एसियाली देशहरूमा पनि विस्तार भइसकेको छ ।  हाल उक्त होटल पाँचतारे स्तरमा स्तरोन्नति भइरहेको छ । स्तरोन्नतिपछि होटलमा ११० वटा कोठा रहनेछन् । साथै, तीनवटा रेस्टुरेन्ट सञ्चालनमा आउनेछन्, जसमा रुफटप रेस्टुरेन्ट काठमाडौंकै सबैभन्दा ठूला र आकर्षक रुफटप स्पेसमध्ये एक हुने थापाको भनाइ छ । प्रत्येक कोठाको औसत आकार करिब ३० वर्ग मिटर हुनेछ । होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा र जिमजस्ता सुविधा पनि रहनेछन् । यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १० किलोमिटर दूरीमा रहेको छ । साथै, पर्यटकीय क्षेत्र ठमेल र शिवपुरी राष्ट्रिय निकुञ्ज पनि नजिकै रहेका छन् । साब्रिना होटलले निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँबाट बढाएर १ अर्ब २२ करोड रुपैयाँ पुर्याइएको छ । जसमध्ये ७४ करोड ९६ लाख रुपैयाँ संस्थापक समूहको रहनेछ भने ४७ करोड ४ लाख रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि आईपीओमार्फत निष्कासन गरिनेछ । अध्यक्ष थापाले पर्यटन तथा होटल क्षेत्रलाई उद्योगका रूपमा मान्यता दिनुपर्ने, एयरलाइन्सको क्षमता विस्तार गर्नुपर्ने, पोखरा र भैरहवा विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । उनले घरेलु उडानमा नेपाली र विदेशी यात्रुका लागि फरक भाडादर हटाएर एकरूपता ल्याउनुपर्ने बताए । साथै, होटल क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र स्पष्ट मापदण्ड आवश्यक रहेको उनको भनाइ छ । 

केएमसी अस्पतालद्वारा छालारोग तथा सौन्दर्यसम्बन्धी सेवा विस्तार

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालले छाला, कपाल र नङसँग सम्बन्धित रोगहरूको निदान तथा सौन्दर्य अभिवृद्धिका लागि अत्याधुनिक चिकित्सा सेवा विस्तार गरेको छ । काठमाडौंको सिनामंगलस्थित अस्पतालले ‘डर्माटोलोजी’ र ‘प्लास्टिक सर्जरी’ विधाअन्तर्गतका जटिल समस्याहरूको वैज्ञानिक र सुरक्षित उपचार पद्धति सञ्चालनमा ल्याएको हो ।  पछिल्लो समय अस्पतालमा छालासम्बन्धी उपचारका लागि आउने सेवाग्राहीको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । अस्पतालले सामान्य एलर्जीदेखि छालाको क्यान्सर, फंगल इन्फेक्सन, सोरायसिस, एक्जिमा, डन्डीफोर र दुबीजस्ता समस्याहरूको प्रभावकारी उपचार गर्दै आएको छ । आधुनिक ’डर्माटोलोजी’ सेवालाई केवल रोगको उपचारमा मात्र सीमित नराखी सौन्दर्य प्रसाधन (एस्थेटिक) का रूपमा समेत विकास गरिएको अस्पतालले जनाएको छ ।  उपचार प्रक्रियालाई गुणस्तरीय बनाउन अस्पतालले विशेषज्ञ चिकित्सकहरूसहित करोडौँ मूल्यका अत्याधुनिक लेजर उपकरणहरू प्रयोगमा ल्याएको छ । यस प्रविधिमार्फत अनुहारको छाया–पोतो, चाउरीपना तथा ट्याटु हटाउने सेवा उपलब्ध छ । छालारोग विशेषज्ञ डा. गरिमा रेग्मीकाअनुसार अहिले केएमसीमा दैनिक सयौँको संख्यामा सेवाग्राही आउने गरेका छन् । उपचारका लागि आउनेहरूमा महिलाका साथै पुरुषहरूको संख्या पनि बढ्दो क्रममा रहेको डा. रेग्मीले जानकारी दिइन् ।  अस्पतालले अनावश्यक स्थानमा पलाएका रौँ हटाउने र कपाल झर्ने समस्याको वैज्ञानिक उपचार गरिरहेको छ । साथै, निकट भविष्यमै सहुलियतपूर्ण दरमा अत्याधुनिक उपकरणका माध्यमबाट कपाल प्रत्यारोपण (हेयर ट्रान्सप्लान्ट) सेवा शुरु गर्ने तयारी अस्पतालले गरेको पनि उनले बताइन् ।  केएमसीमा प्लास्टिक सर्जरी सेवासमेत उपलब्ध रहेकाले दुर्घटनाबाट क्षतिग्रस्त अंग, क्यान्सरको उपचारपछि काटिएका भाग वा जन्मजात समस्या भएका अंगहरूको पुनर्निर्माण गरिँदै आएको छ । यसका साथै, नाक, ओठ वा स्तनको बनावट परिवर्तन गर्न चाहनेहरूका लागि चिकित्सकीय मापदण्डअनुसार ‘कस्मेटिक सर्जरी’ सेवा उपलब्ध गराइएको छ । सौन्दर्य सुधारदेखि जटिल पुनर्निर्माणसम्मका सम्पूर्ण सेवा एकै छानामुनि उपलब्ध भएपछि सेवाग्राहीलाई थप सहज भएको छ । डा.सुनिल शर्माद्वारा सञ्चालित यस अस्पतालले पछिल्लो समय आफ्नो सेवालाई प्रविधिमैत्री र विशिष्टीकृत बनाउँदै लगेको छ । छाला र अंगहरूको प्राकृतिक सन्तुलन कायम गरी बिरामीको आत्मविश्वास बढाउन अस्पतालले दक्ष जनशक्ति र आधुनिक प्रविधिलाई प्राथमिकतामा राखेको छ ।