केन्द्रीय समितिको अवैज्ञानिक तालिका, तोकिएको मितिमा महाधिवेशन असम्भव : केसी

काठमाडौं । कांग्रेसको केन्द्रीय समिति बैठकले सहमतिमा सार्वजनिक गरेको तालिकाअनुसार १५ औं महाधिवेशन हुनेमा कांग्रेसकै नेताहरूले आशंका व्यक्त गरेका छन् ।  संस्थापन इतर पक्षका नेता जगदीश्वर नरसिंह केसीले सार्वजनिक गरेको तालिकामा महाधिवेशन गर्न सम्भव नरहेको बताएका हुन् । केसीले एक वर्षमा नसकिएको क्रियाशील सदस्यता नवीकरण र वितरण अब केही दिनमा नसकिने दावी गर्छन् ।  केन्द्रीय समितिले गर्न नसकिने महाधिवेशनको निर्णय गरेको उनको भनाइ छ । ‘एक सातामा वडादेखि प्रदेशसम्मको अधिवेशन सम्भव हुँदैन । वडाबाट सुरु भएको दश दिनमा केन्द्रीय महाधिवेशन सकाउने तालिका अवैज्ञानिक छ । महाधिवेशन नगर्ने र विशेष महाधिवेशनको प्रस्तावलाई भुत्ते बनाउने उद्देश्यसहित यो तालिका आयो,’ उनले भने ।

५० अर्बको परियोजना अघि बढाउने काम थालिएको छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा केही हुँदैन भन्ने भाष्य सिर्जना गर्न खोजिएको बताउँदै त्यसलाई चिर्न जरुरी रहेको बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिक साधारण सभामा अध्यक्ष ढकालले यस्तो बताएका हुन् । अध्यक्ष ढकालका अनुसार नेपालकै पुँजीबाटै धेरै ठूला आयोजना निर्माण गर्न सकिने सम्भावना छ । ठूला पूर्वाधार निर्माणका लागि नेपाल डेभलपमेन्ट पब्लिक (एनडीपी) स्थापनाको उद्देश्य पनि यही रहेको उनले बताए । उनका अनुसार व्यवसायीलाई समेटेर नेपालकै पुँजी परिचालन गरी ४०–५० अर्ब रुपैयाँका परियोजना अघि बढाउने काम थालिएको छ । नेपालमै लगानीको सकारात्मक वातावरण रहेको सन्देश दिनका लागि पनि एनडीपीको योजनालाई अघि बढाइएको उनले स्पष्ट पारे । ढकालले आम व्यवसायीसँगै नागरिकको मनोबल उकास्ने गरी अब सरकारले काम गर्न जरुरी रहेको पनि बताए । महासंघ अध्यक्ष ढकालले भने– ‘वास्तवमा सुरक्षाको कुरा अत्यन्तै महत्वपूर्ण छ । आउने दिनमा कुनै एउटै व्यवसायी वा व्यक्तिभन्दा पनि आम नागरिकलाई आत्मविश्वास दिलाउने खालको सुरक्षा व्यवस्था मिलाइनुपर्छ ।’ सोही कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष वीरन्द्रबहादुर पाण्डेले मुलुकमा चुनावपछि निजी क्षेत्रले लगानी वातावरणमा सुधार हुने अपेक्षा राखेको बताए । निर्वाचनअघि बनेको यो सरकारले नीतिगत विषयहरूलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष पाण्डेले भने– ‘अर्थतन्त्रको कुनै एउटै क्षेत्रमा समस्या आउँदा त्यसको असर समग्र अर्थतन्त्रमा पर्छ । आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै दीगो विकासका लागि नीतिगत तथा कानुनी सुधार अनिवार्य छ ।’ उनका अनुसार जेनजी आन्दोलनपछिको सिथिलतालाई सबैले मिलेर सामना गर्दै सबल अर्थतन्त्रका लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको छ ।

कांग्रेसले टुंग्यायो महाधिवेशनको मिति, देउवा नेतृत्वको कार्यसमितिको म्याद दुई महिना थपियो

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको मिति टुंग्याएको छ । कांग्रेसले आगामी पुस २६ देखि २८ गतेसम्म १५औं महाधिवेशन गर्ने भएको हो ।  शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकले महाधिवेशन मिति सर्वसम्मत रूपमा तय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् । उनका अनुसार केन्द्रीय समितिको छलफलपछि तीनदिने महाधिवेशन औपचारिक रूपमा घोषणा गरिएको हो ।  प्रवक्ता महतका अनुसार सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको म्याद माघ मसान्तसम्म थप गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टीभित्रको तयारी र आगामी योजनालाई ध्यानमा राख्दै कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरिएको हो । महाधिवेशन तयारीका अन्य विषयमा भने थप निर्णय क्रमशः गरिने नेपाली कांग्रेसले जनाएको छ ।