काठमाडौं । सामाजिक सञ्जालमा ट्राफिक नियम पालना नगरी सवारी साधन चलाएको भिडियो तस्विर सार्वजनिक भएपछि श्रम संकृति पार्टीका सभापति तथा सांसद हर्क साम्पाङ कारबाहीमा परेका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीले उनलाई नियमविपरीत सवारी चलाएको कसुरमा कानुनी कारबाही गरेको हो ।
नेपाल प्रहरीले आफ्नो आधिकारिक फेसबुक पेज र सूचनामार्फत यसको पुष्टि गरेको छ । प्रहरीद्वारा जारी सूचनामा भनिएको छ, सामाजिक सञ्जालमार्फत ट्राफिक नियम पालना नगरी सवारी चलाएको सम्बन्धमा प्राप्त जनगुनासोका आधारमा माननीय हर्कराज राईलाई आवश्यक कानुनी कारबाही गरिसकेको जानकारी गराइन्छ ।
प्राप्त विवरण अनुसार मेयर राईलाई इटहरीमा लापरबाही साथ सवारी चलाएको (सवारी तथा यातायात व्यवस्था ऐन २०४८ को दफा १६४ (१) क) कसुर अन्तर्गत ट्राफिक प्रहरीले चिट काटेर कारबाही गरेको हो ।
यसका साथै प्रहरीले आगामी दिनमा यस्ता ट्राफिक नियमविपरीतका गतिविधि नगर्न र नगराउन सम्पूर्ण चालक, सहचालक तथा यात्रु महानुभावहरूलाई सचेत र जिम्मेवार बन्नसमेत अनुरोध गरेको छ ।