ईभी भ्यान दुर्घटना हुँदा १३ यात्रु घाइते

काठमाडौं । कञ्चनपुरको बेदकोट नगरपालिका-३, दैजीस्थित पूर्व-पश्चिम राजमार्गमा गाडी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । सोमबार धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु. प. प्र. ०२-००१ ज ४९६ नम्बरको ईभी भ्यान अनियन्त्रित भएर नालामा पल्टिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

भ्यानमा चालकसहित १७ जना सवार रहेका थिए, उनीहरूमध्ये १३ जना घाइते भएका हुन् । घाइते हुनेहरूमा कञ्चनपुरको कृष्णपुर नरपालिका-९, पिपरियाका ४३ वर्षीय पुष्करराज गिरी, वेदकोट-१० नयाँगाउँका २० वर्षीय जीवनसिंह कडाल, कैलालीको टीकापुर नगरपालिका-९ खैरीफाटाकी ४५ वर्षीया राधादेवी शाह, धनगढी उपमहानगरपालिका-५ हसनपुरकी २५ वर्षीया सम्झना सिंह, धनगढी-४ उत्तरबेहडीकी ६१ वर्षीया सरस्वतीदेवी कुँवर र धनगढी-६ हसनपुरकी ५५ वर्षीया विष्णु सिंह छन् । 

त्यस्तै, हसनपुरकै १७ वर्षीया आशिका कुँवर, १६ वर्षीया पुष्पा बोहरा, दार्चुलाको महाकाली नगरपालिका-१ फापरीका ६० वर्षीय गजेन्द्रसिंह कुँवर, ३२ वर्षीया सुमित्रा कुँवर, डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ बडमकी ५५ वर्षीया ईश्वरीदेवी भुल, उनका छोरा २२ वर्षीय सुनिल भुल र अजयमेरु गाउँपालिका-६ कानाकोटका २८ वर्षीय पुष्पराज पन्त घाइते भएका छन् । 

उनीहरूको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल उपचार भइरहेको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । 

Share News