भट्ट, अग्रवाल र गोल्छाको मुद्दा ४ सरकारी वकिलले अध्ययन गर्दै

साढे ४ अर्ब बढी बिगोको दाबी

काठमाडौं । दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत विरुद्धको अभियोगपत्र सरकारी वकिल कार्यालयमा अभियोजन क्रममा रहेको छ । 

उनीहरूविरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेकाले अभियोगपत्र पेश हुन बाँकी रहेको हो ।

विभागले बुधबार तीन व्यवसायीविरुद्ध मुद्दाको अनुसन्धान प्रतिवेदन विशेष सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ । त्यसैगरी, सीआईबी ले पनि धितोपत्र सम्बन्धी कसुरमा प्रतिवेदन बुझाइसकेको छ । 

अभियोजनका लागि पेस भएको उक्त अनुसन्धान प्रतिवेदन अहिले अध्ययन क्रममा रहेको विशेष सरकारी वकिलको कार्यालयका सूचना अधिकारी पूर्णेन्द्र पाण्डेयले जानकारी दिए । 

‘यो मुद्दा अभियोजनकै क्रममा छ। हामी प्रतिवेदन अध्ययन गर्दैछौं । अभियोजन सकेर मुद्दा अदालत लैजान्छौं,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण कसुर मात्र होइन, यससँग विविध मुद्दाहरू जोडिएका छन् ।’

कार्यालयका चार जना कर्मचारीले मुद्दा अध्ययन गरिरहेका छन् । चारजनामध्ये दुई उपन्यायाधिवक्ता र दुई सहायक न्यायाधीवक्ता रहेका छन् । एक साताभित्रमा अब अदालतमा अभियोग पत्र पेश गरिसक्ने गरेर अध्ययन भइरहेको पाण्डेयको भनाइ छ ।

उनका अनुसार सम्पत्ति शुद्धीकरण, बीमा ऐन र धितोपत्र बोर्डको कसुरमा उनीहरूविरुद्ध अनुसन्धान गरिएको छ । एउटै कसुरमा मात्र अनुसन्धान गर्नु पर्ने भएमा यति लामो समयसम्म नलाग्ने उनले बताए ।

‘धितोपत्र बोर्ड कसुरमा सेयर किनबेचमा कहीँ पनि फेयर तरिकाले काम भएको देखिएको छैन,’ उनले भने, ‘फेक सेयर कारोबार गरिएको देखिएको छ । कारोबारमा प्रस्ट प्रमाण खुल्ने गरेर कहीँ पनि कसैले काम गरेको देखिँदैन ।’

सबैभन्दा बढी हिमालयन रि–इन्स्योरिन्यस प्रकरणमा अनुसन्धान गर्दा गलत गरिएको देखिएको कार्यालयका एक कर्मचारीले बताए ।

उनका अनुसार बीमा ऐन, २०७९ अनुसारको कसुरमा भट्ट, अग्रवाल र गोल्छासहित ४० जनालाई प्रतिवादी कायम गरिएको छ । कार्यालयमा विभाग र प्रहरीले कसुरमा प्रहरीले साढे ४ अर्ब रूपैयाँभन्दा बढीको बिगो कायम गरेको छ ।

त्यस्तै, धितोपत्रसम्बन्धी कसुरमा एक अर्ब रूपैयाँभन्दा बढी बिगो कायम गरिएको छ। यसमा उनीहरू तीनै जनासहित ७५ जना प्रतिवादी कायम छन् ।

बैंकिङ कसुरमा भने ५४ करोड रूपैयाँभन्दा बढी बिगो कायम गरी तीन जनाभन्दा बढीलाई प्रतिवादी कायम गरिएको छ ।

सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अनुसन्धानका लागि दीपक भट्टलाई विभागले चैत १९ गते पक्राउ गरेको थियो । त्यसको तीन दिनपछि चैत २२ गते अग्रवाललाई पक्राउ गरिएको थियो।

शेखर गोल्छालाई वैशाख १० गते पक्राउ गरिएको थियो । उनलाई सर्वोच्च अदालतले हिरासतमुक्त गर्न आदेश दिएको थियो ।

Share News