जेनजी आन्दोलनले फाइलहरू जलेर नष्ट, ट्रेडमार्क दर्ताका लागि उद्योग विभागको आह्वान

काठमाडौं । सरकारले ट्रेडमार्क दर्ताका लागि आह्वान गरेको छ । जेनजी आन्दोलनबाट फाइलहरु जलेर नष्ट भएपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत उद्योग विभाग त्रिपुरेश्वरले ट्रेडमार्क दर्ताका लागि आह्वान गरेको हो ।  भदौ ३ गते ट्रेडमार्क दर्ता सम्बन्धी सूचना जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते देशव्यापी रूपमा भएको आगजनी, तोडफोड, लुटपाटका घटनाबाट विभागको औद्योगिक सम्पत्ति शाखामा रहेका भौतिक फाइलहरू जलेर नष्ट भई असहज परिस्थिति सिर्जना भएकाले गत असोज ८ गतेबाट स्थगित गरिएको थियो । विभागमा ट्रेडमार्क दर्ताका लागि निवेदन दिएका र कागजात पूरा नभएका दरखास्तवालाहरूको हकमा यसपूर्व आवेदन गरेका सम्पूर्ण दरखास्तवालाहरूले अबको ९० दिनभित्र आवश्यक कागजात साथ राखी पुन निवेदन पेश गर्नुपर्ने विभागले जनाएको छ । अन्यथा उक्त समयभित्र निवेदन पेश नगरेका सात वर्षभन्दा अघिदेखि आवेदन भई बसेका सबै पुराना दरखास्तहरू ९० दिन पश्चात् स्वतः खारेज हुनेछन् ।  साथै, औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशित भई दाबी विरोधको उजुरी नपरेका ट्रेडमार्क दरखास्तवालाको हकमा यो सूचना प्रकाशित भएको ६ महिनाभित्र प्रमाणपत्र लिनका लागि आवश्यक कागजात सहित विभागमा निवेदन पेश गर्नुपर्नेछ । सो अवधिभित्र दरखास्त पेश नगरेमा त्यस्ता आवेदनहरू खारेज भई जाने विभागले जनाएको छ ।

२५ वर्ष अगाडि कुमारी घरबाट चोरिएको पुरातात्त्विक वस्तु बेलायतबाट फिर्ता

काठमाडौं । पुरातत्व विभागले कुमारी घरबाट करिब २५ वर्ष अगाडि चोरिएको पुरातात्त्विक वस्तु तोरण बेलायतबाट नेपालमा फिर्ता ल्याएको छ । विभागले स्वदेशी तथा विदेशी सम्पदा अभियन्तासँग समन्वय गरी उक्त सम्पदा फिर्ता ल्याएको हो । मल्लकालीन समयमा निर्माण भएको उक्त सम्पदा विसं २०५७ मा कुमारी घरबाट चोरी भएको थियो । बेलायतस्थित सङ्ग्रहालयमा फेला परेपछि सरकार, विभिन्न संस्था तथा विद्वानबीचको सहकार्यबाट नेपाल फिर्ता गरी सोही स्थानमा हालै प्रतिस्थापन गरिएको हो । प्रतिस्थापन अगाडि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको थियो । अन्तर्राष्ट्रिय कानुनअनुसार कुनै पनि मुलुकको सम्पदा विश्वका अन्य देशमा रहेमा आवश्यक कानुनी प्रकृया पूरा गरी सम्बन्धित मुलुकमा फिर्ता गर्नुपर्ने प्रावधानअनुसार सो सम्पदा ल्याइएको पुरातत्व विभागकी अधिकृत सरिता सुवेदीले जानकारी दिए । उनका अनुसार नेपालबाट चोरिएका विभिन्न मूर्तिहरू, कलावस्तु, सम्पदा विश्वका कुनै मुलुकमा फेला परेको सूचना प्राप्त भएपछि फिर्ताका लागि प्रकृया अघि बढाइन्छ । विभिन्न देशका सङ्ग्रहालय, लिलामी घर वा निजी सङ्ग्रहमा पुगेको सम्पदा फिर्ता गराउँदा सम्बन्धित मुलुकले ढुवानी खर्च व्यहोर्ने व्यवस्था छ । अन्तरराष्ट्रिय तहमा बसेका नेपाली समुदाय, सम्पदा क्षेत्रमा क्रियाशिल सङ्घसंस्थाले पनि सहयोग गर्दै आएका छन् । काठमाडौं उपत्यकामा मध्यकालीन समयमा निर्माण भएका काष्ठकला, मूर्तिकला, प्रस्तरकला, वास्तुकलाका नमूना विशेषगरी विभिन्न मठमन्दिरमा सजिएका छन् । त्यसले तत्कालीन समाजको कला शैली निर्माणको अवस्था अध्ययनमा सहयोग पुगेको छ । कला क्षेत्रको विकासमा गर्विलो इतिहास बोकेको सम्पदा संरक्षणले समग्र राष्ट्रको गौरव बढाएको अधिकृत सुवेदीले बताए । 

डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल/मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार मध्यरातदेखि लागू हुने गरी डिजेल/मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १४३.५० रुपैयाँ, दोस्रो वर्गका लागि १४५ रुपैयाँ र तेस्रो वर्गका लागि १४६ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगञ्ज डिपोलाई पहिलो वर्ग, सुर्खेत र दाङ डिपोलाई दोस्रो वर्ग र काठमाडौँ, पोखरा र दिपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । निगमको डिपोदेखि १५ किलोमिटरसम्मका लागि उक्त खुद्रा बिक्री मूल्य लागू हुनेछ । निगमले हवाई इन्धन (आन्तरिक र अन्तर्राष्‍ट्रियतर्फ) को मूल्य भने बढाएको छ । निगमका अनुसार आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँ र अन्तर्राष्‍ट्रियतर्फ काठमाडौंमा प्रतिकिलोलिटर अमेरिकी डलर ४२ बढाइएको छ । मूल्य बढेसँगै आन्तरिक तर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर १३४ रुपैयाँ र अन्तरराष्ट्रिय तर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार १५ पुगेको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेलमा  प्रतिलिटर १.४४ रुपैयाँ घटेर तथा हवाई इन्धनमा प्रतिलिटर ५.६२ रुपैयाँ बढेर आएकाले खुद्रा बिक्री मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।