काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुखमा एसएसपी सुरेश काफ्ले, अधिकारीको साइबर ब्यूरोमा सरुवा
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथको प्रमुख फेरिएका छन् । सरकारले नयाँ कार्यालय प्रमुखको रूपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेलाई जिम्मेवारी दिएको छ । नवनियुक्त एसएसपी काफ्लेले सोमबारदेखि नै कार्यालयमा हाजिर भई आफ्नो कार्यभार सम्हालिसकेका छन् । यसअघिका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीको केन्द्रीय साइबर ब्यूरोमा सरुवा भएपछि काफ्लेले यो जिम्मेवारी पाएका हुन् । साइबर ब्यूरोमा सरुवा भएका एसएसपी अधिकारीले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखका रूपमा करिब १ वर्ष सेवा गरेका थिए । जिम्मेवारी हेरफेर भएसँगै सोमबार एक कार्यक्रमका बीच ट्राफिक प्रहरी कार्यालयमा एसएसपी अधिकारीलाई बिदाइ गरिएको छ भने नयाँ प्रमुख काफ्लेलाई स्वागत गरिएको छ । प्रमुख काफ्लेले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि (मंगलबार) मध्यान्ह १ बजेसम्मका लागि स्थगित गरिएको छ । सोमबार (आज) दिउँसो १ः१५ बजे १५ मिनेटका लागि स्थगित गरिएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेपछि सभामुखले अर्को बैठक भोलिका लागि तोकेका हुन् । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम ९३० बमोजिम सभामुखले मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरी निर्धारण गरेको जनाएको छ। सचिवालयद्वारा जारी सूचनामा विशेष कारणले बैठक बस्न नसकेको उल्लेख छ। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले केही दिनयता संघीय संसद्का दुवै सदनमा विरोध जनाउँदै आएका छन् । यही विषयलाई लिएर सत्ता पक्ष र विपक्षी दलबीच सहमति जुटाउने प्रयास जारी रहे पनि हालसम्म निष्कर्ष निस्कन सकेको छैन । विपक्षी दलका नेताहरूले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे प्रतिपक्षी दलहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने र आवश्यक स्पष्टीकरणसहित माफी माग्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीबाट त्यसो नभएसम्म सदनको अवरोध हट्ने अवस्था नरहेको उनीहरूको भनाइ थियो ।
गाडी आयातमा घोटाला भएको छ : एमाले
काठमाडौं । नेकपा (एमाले) ले आर्थिक विधेयकमा करका दर परिवर्तन गरिएको विषयलाई लिएर सरकारको आलोचना गर्दै गाडी आयातसँग सम्बन्धित प्रक्रियामा अनियमितता भएको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद्मा प्रस्तुत गरिएको आर्थिक विधेयक र अन्तिम रूपमा पारित गरिएको दस्तावेजबीच फरक देखिएको दाबी गरिन् । उनले विधेयकका केही पृष्ठमा संशोधन गरिएको उल्लेख गर्दै करका दर हेरफेर गरिएको विषय गम्भीर भएको बताइन् । अर्यालले चिनियाँ विद्युतीय सवारीसाधन निर्माता बीवाईडीसँग सम्बन्धित आयात प्रक्रियामा समेत शंका उत्पन्न भएको बताउँदै यसबारे निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन् । उनका अनुसार भन्सार प्रक्रिया र कर निर्धारणसँग जोडिएका विषयमा सार्वजनिक रूपमा विभिन्न प्रश्न उठिरहेका छन्, जसले पारदर्शितामाथि नै प्रश्न खडा गरेको छ । सांसद अर्यालले करसम्बन्धी व्यवस्थामा अपारदर्शी ढंगले हस्तक्षेप गरिए राज्यको राजस्वमा असर पर्ने र यसलाई आर्थिक अनुशासनविपरीतको कार्यका रूपमा लिनुपर्ने बताइन्। उनले विवादित विषयमा सम्बन्धित मन्त्रालय तथा अर्थमन्त्रीले संसद्लाई स्पष्ट जवाफ दिनुपर्ने मागसमेत गरिन् ।