कांग्रेस केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक सुरु, महाधिवेशन कार्यतालिका आजै प्रस्तुत हुने
काठमाडौं । नेपाली कांग्रेसको सोमबार (आज) दिउँसो बस्ने केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक सुरु भएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा अनौपचारिक पदाधिकारी बैठक सुरु भएको हो । पार्टीभित्र चलिरहेको आगामी महाधिवेशनको तयारी र समय निर्धारणसम्बन्धी अन्तिम छलफलका लागि पदाधिकारीको बैठक आयोजना गरिएको बताइएको छ । बैठकमार्फत केन्द्रीय समितिमा प्रस्तुत गरिने एजेन्डा र प्रस्तावहरूलाई अन्तिम रूप दिने तयारी भएको स्रोतले जनाएको छ । यसअघि लामो समयदेखि पार्टीभित्र महाधिवेशन मिति निर्धारणका विषयमा रस्साकस्सी चल्दै आएको थियो । अन्ततः शीर्ष नेतृत्वबीच पछिल्ला दिनमा भएको छलफलपछि पुस महिनाभित्र नियमित महाधिवेशन गर्ने सहमति जुटेको छ । आज दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा यही सहमतिको आधारमा महाधिवेशनको कार्यतालिका र तयारीका खाका औपचारिक रूपमा प्रस्तुत गरिने कांग्रेस नेतृत्वले जनाएको छ । संक्षिप्त मोडेलमै कांग्रेसको १५ औं महाधिवेशन, निर्वाचन अगाडि तीन तहको अधिवेशन
सडकबाट कसैलाई अपराधिकरण गर्न मिल्दैन : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले सडकबाट कसैलाई अपराधिकरण गर्न नमिल्ने बताएका छन् । सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) २९औँ वार्षिक साधारण सभामा उनले गल्ती गर्नेलाई कानूनले सजाय दिने बताएका हुन् । उनले प्रत्येक आन्दोलनमा निजी क्षेत्रमाथि प्रहार हुने गरेको उल्लेख गर्दै कानूनी राज्यमा कसैको सम्पत्तिमाथि हमला गर्नु सह्य नहुने चेतावनी दिए । नेपालमा नेपाली वा विदेशी जसले सम्पत्ति सिर्जना गरे पनि त्यो मुलुकको सम्पत्ति हुने उनको भनाइ छ । विगतमा विदेशी लगानीकर्ताले नेपालमा गरेको कतिपय लगानीको स्वामित्व आज नेपाली व्यवसायी र नेपाल सरकारको स्वामित्वमा आएको बताए । लगानी गर्नेलाई सुरक्षाको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ । लगानी गर्नेले कुनै गल्ती गरेको भएमा कानूनअनुसार कारबाही हुने उनले बताए । सडकबाट अपराधी करार गरेर निजी सम्पत्तिमाथि हमला गर्न नमिल्ने उनको भनाइ छ । उनले भने, ‘मुलुकमा जो सुकैले सम्पत्ति सिर्जना गरे पनि कसैले हाइड्रोपावर बनायो, कसैले डिपार्टमेन्ट स्टोर खोल्यो, कसैले होटल बनायो, कसैले उद्योग स्थापना गर्यो भने त्यो मुलुकको सम्पत्ति हो । त्यो नेपालकै निजी क्षेत्रले लगानी गरेको हो कि विदेशीले लगानी गरेको भन्ने कुरा कतिपनि मतलब राख्दैन । विगतमा कतिपय विदेशी लगानीकर्ताले लगानी गरेको सम्पत्ति आज हामीले प्रयोग गरिरहेका छौँ ।’ उनले सही सूचना प्रवाह नहुँदा पनि आपराधिक गतिविधिहरू बढ्ने गरेको बताए । सूचनाको गम्भीरतालाई समेत ध्यानमा राखेर प्रवाह गर्नुपर्नेमा जोड दिए ।
महानगरका मेयर बालेन शाहलाई पितृशोक
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ । उनका बुबा रामनारायण शाहको ७७ वर्षको उमेरमा सोमबार उपचारका क्रममा निजामती कर्मचारी अस्पतालमा निधन भएको अस्पतालका कार्यकारी निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए । उनलाई मधुमेह र पिसाबको सङ्क्रमणको समस्या थियो । शाहलाई आइतबार अपराह्न अस्पताल भर्ना गरिएको थियो ।