लुम्बिनी, बागमती र कोशीमा हल्का वर्षा हुँदै, यस्तो छ दिउँसोको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थान तथा लुम्बिनी, बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपात भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ तथा तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाइएको छ ।
श्रवण क्षमता नभएका दुई उद्यमीको प्रेरणादायी कथा
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-४ सिंगाको पौडेल चोकमा श्रवण क्षमता नभएका अमृत र हेमराज शर्मा ‘रेष्टुरेण्ट’ व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बनेका छन् । बागलुङका ३५ वर्षीय अमृत र ४२ वर्षीय हेमराजले शारीरिक अशक्तताले रोजगारी, व्यवसाय र अवसरलाई छेक्न सक्दैन भन्ने उदाहरण प्रस्तुत गरेका हुन् । नाताले आफन्त पर्ने अमृत र हेमराजले सिंगाको पौडेल चोकमा संयुक्त रुपमा सञ्चालन गरेको ‘सांकेतिक भाषा खाजा घर’ले उनीहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाएको हो । जन्मजात श्रवण क्षमता नभएका शर्माद्धय सांकेतिक भाषा र शब्द लेखेर उपभोक्ताहरुसँग सम्बाद गर्छन् । चिया, खाजा, जेरी, तरकारी, याममा अरिंगाल, माछा, मासु र खानाका परिकार उनीहरू आफै तयार पार्छन् । स्थानीयबासी, वडा कार्यालय, विद्यालय, बेनी-दरवाङ सडकको यात्रा गर्ने सर्वसाधारण, व्यवसायीहरू उक्त रेष्टुरेण्टका ग्राहक हुन् । टाढाबाट आउने ग्राहकहरूले मोबाइलमा सन्देश पठाएर खाना, खाजाका परिकार ‘अर्डर’ गर्छन् । सामाजिक सञ्जालमा भिडियो कल गरेर पनि सांकेतिक भाषामा ग्राहकले कुराकानी गर्छन् । फोन आयो भने छिमेकीलाई उठाउन लगाएर उनीहरू मार्फत सूचना लिने गरेको अमृतले लेखेर जानकारी गराए । म्याग्दीका जलविद्युत आयोजनाहरुमा परामर्शदाताको रुपमा काम गर्दै आएका शंकर बस्यालले सरसफाइ र आत्मीय ब्यबहारका कारण सांकेतिक भाषा खाजा घरलाई रोजेको बताए । ‘उहाँहरू नबोलेपनि ग्राहकको भावना बुझेर नम्र ब्यबहार गर्नुहुन्छ । ठाउँको सरसफाइ र परिकार हाइजेनिक हुने भएकाले राम्रो लाग्छ,’ उनले भने । दैनिक ५ हजारको हाराहारीमा व्यापार गर्ने शर्माद्धयले उक्त आम्दानीबाट व्यवसायलाई निरन्तरताका साथै घरव्यवहार चलाएको बताए । दसैँ तिहार र चाडपर्वको समयमा व्यापार अली बढी हुन्छ । हेमराजको घरमा श्रीमती र एक छोरी छन् । अमृतकी श्रीमतीको पनि श्रवण क्षमता छैन । अमृतका घरमा श्रीमती र एक छोरा छन् । हेमराजले कक्षा ५ सम्मको अध्ययन गर्नुभएको छ भने अमृतले १२ कक्षा उत्तीर्ण गरेका छन् । उनीहरुका परिवार बागलुङमै बस्छन् । धवलागिरि माविको बहिरा स्रोत कक्षाका शिक्षक शंकर पाण्डेको सहयोगमा हेमराज र अमृत १० वर्षअघि सिंगा आएका थिए । शर्माद्धयको सानैदेखि खानाका परिकार बनाउन रुची थियो । घारबाट ३ लाख रुपैयाँ ल्याएर घर भाडामा लिएर व्यवसाय शुरु गरेको अमृत सम्झन्छन् । हाल उनीहरुको व्यवसायमा करिब १० लाख रुपैयाँको लगानी छ । सीप र व्यवसायमा आबद्ध भएकाले घरव्यवहार चलाउन सहज भएको शर्माद्धयको अनुभव छ । पौडेलचोकका यादवप्रसाद पौडेलले अमृत र हेमराजले हातमा सीप र व्यावसायिक कला तथा साहस हुने हो भने शारीरिक प्रतिकूलताका बाबजुद आत्मनिर्भर र स्वरोजगार बन्न सकिने सन्देश दिएका बताए । ‘अमृत र हेमराजले हातमा भएको सीपको सदुपयोग गर्न जान्ने हो भने जीवन चलाउन अरूमा निर्भर हुनुपर्दैन भन्ने सन्देश दिनुभएको छ । उनीहरुले व्यवसायबाट हासिल गरेको सफलताबाट धेरैका लागि उदाहरणीय बन्न सक्छ,’ उनले भने । हाल भाडाको घरमा व्यवसाय गर्दै आएका उनीहरुले व्यवसाय विस्तार गर्दै लैजाने योजना बनाएका छन् । पुँजीको अभाव र सबै ग्राहकहरूले सांकेतिक भाषा नबुझ्नु उनीहरुको लागि व्यवसायमा चुनौती बनेको छ ।
४ वटा मार्टलाई विभागको कारबाही, ३ दिनभित्र कागजात पेश गर्न निर्देशन
काठमाडौं । बजारलाई स्वच्छ बनाउन नियमित अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चार ठूला मार्टलाई कारबाहीको दायरामा ल्याएको छ । आइतबार स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि विभागले चार वटा मार्टलाई व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ । विभागले मेट्रो मार्केट प्रालि इमाडोल, सेलवेज क्यास एण्ड क्यारी प्रालि महाराजगञ्ज, मेगा मार्ट प्रालि विशालनगर र भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि चक्रपथलाई तीन दिन भित्र कागजातसहित उपस्थित हुन निर्देशन दिएको हो । त्यसैगरी मुना कृषि लिमिटेडलाई पनि उस्तै किसिमको निर्देशन दिएको विभागले जनाएको छ । थप १० वटा अन्य फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ । स्थानीय सरोकारवाला उपभोक्ता अधिकारकर्मीको उपस्थितिमा विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने उद्देश्यका साथ अनुगमन गर्दै आएको छ ।