५२ करोडको इनरुवा सडक ठेक्का तोडियो

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा-कप्ताङगञ्ज २२.६६ किलोमिटर सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि गौरीपार्वती-देव एण्ड सायर-भूमि संयुक्त उपक्रम (जेभी), विराटनगरसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ । सडक स्तरोन्नतिका लागि उक्त जेभीसँग २ माघ २०७८मा ५२ करोड ७० लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो । सडक  निर्माण साउन २०८१ भित्र सम्पन्न गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब १८ प्रतिशत मात्र छ । ठेक्का सम्झौता २०८३ असारसम्म थप गरिएकोमा पटक-पटक ताकेता गर्दा काम नगरेको,  प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको हो ।   ठेक्का सम्झौता रद्ध गरिएका निर्माण व्यवसायीकले कार्य सम्पादन जमानत वापतको १६ करोड ९४ लाख र पेस्की २ करोड ३१ लाख एक करोड ७१ लाख रुपैयाँ जफत गरिने जनाइएकाे छ । पेस्की रकममा १० प्रतिशत व्याजसहित असुल हुनेछ । निर्माण व्यवसायीयले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेको थियो । योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो । निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो । निर्धारित अवधिमा कार्य सम्पन्न हुन नसकेको कारण र कार्य सम्पन्न गर्न सक्ने अद्यावधिक कार्यतालिका, स्रोत परिचालनको भरपर्दो योजना र कार्य सम्पन्न गर्ने प्रतिबद्धतासहित निर्माण व्यवसायीको आधिकारी प्रतिनिधि उपस्थित नभएको, पेश भएको स्पष्टीकरण चित्त बुझ्नो नभएको र कार्य सुचारु गर्ने तर्फसमेत तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन तथा ठेक्का सम्झौता उल्लंघन गरिएको जनाइएको छ । ऐनको प्रावधान बमोजिम कार्य सम्पादन जमानत वापतको रकम जफत गरिने, बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम सरकारी बाँकी सरह असुल उपर गरिने र कालोसूचीमा राख्न सिफारिस गरिएको जनाइएको छ । हालसम्मको अद्यावधिक भएको काम र बाँकी कामको नापजाँच मूल्यांकन गरी वित्तीय फरफारख गर्न १५ दिनभित्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ। निर्माण व्यवसायी कार्यालयमा उपस्थित नभएमा कार्यालयबाट नापजाँच गरिनेछ ।

५.८९ अर्ब रुपैयाँका १६ थरिका खाद्यवस्तु आयात, मकै मात्रै २.२९ अर्बको भित्रियो

काठमाडौं । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ४ महिनामा ५ अर्ब ८९ करोड रुपैयाँ बराबरका १६ थरिका खाद्यवस्तु आयात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो १ अर्ब २४ करोड रुपैयाँले बढी हो ।  वीरगञ्ज भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवालीका अनुसार २ अर्ब २९ करोड रुपैयाँ बराबरको ४ करोड २१ लाख ८६ हजार १११ किलोग्राम मकै र २ अर्ब १ करोड रुपैयाँ बराबरको ५ करोड ४० लाख ४५ हजार ४१३ किलोग्राम धान आयात भएको छ ।  त्यसैगरी, १ अर्ब ६ करोड रुपैयाँ मूल्यका १ करोड ९ लाख ४४ हजार ५६० किलोग्राम चामल आयात भएको छ । 

बङ्गालको खाडीको न्यून चापीय प्रणालीको आंशिक प्रभाव

काठमाडौं । कोशी, मधेस र वाग्मती प्रदेशमा दक्षिण-पश्चिम बङ्गालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।  काठमाडौं उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको थियो । आज यहाँको अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियसबीच रहने छ ।