केन्द्रीय सदस्य पदका लागि उम्मेदवार दिँदै झाँक्रीले गरिन् यस्तो अनुरोध

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको नेतृत्व चयन प्रक्रियाअन्तर्गत रामकुमारी झाँक्रीले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन गरेकी छन् ।  उनले आफ्नो उम्मेदवारीमार्फत व्यक्तिगत उपलब्धीभन्दा बढी देश, पार्टी र पार्टी नेतृत्वका लागि योगदान दिन इच्छुक भएको स्पष्ट पारेकी छन् । उम्मेदवार झाँक्रीले आफ्नो सम्बोधनमा भनिन्, ‘मैले उम्मेदवारी दिएको कारण आफूले के पाउने भन्नेभन्दा पनि म देश र पार्टीका लागि के योगदान गर्न सक्छु भन्ने सोच हो । यही भावना बोकेर मआफ्नो पार्टीमा फर्केकी हुँ । पार्टीले जुनसुकै मोर्चा वा जोखिमपूर्ण जिम्मेवारी दिए पनि त्यसलाई बहन गर्न म सधैं तयार छु ।’ उनले आफना पछिल्ला दिनहरूलाई अत्यन्तै रोमाञ्चक र अविस्मरणीय भएको अनुभव सुनाउँदै सबै नयाँ र पुराना कमरेडहरूसँगको भेटघाटलाई विशेष रूपमा स्मरण गरेकी छन् ।  ‘नयाँ–पुराना सबै कमरेडहरूसँगको पुनर्मिलनले एक प्रकारको आत्मीयता र ऊर्जा थपेको छ । यहाँहरूको माया, स्नेह र भरोसा देख्दा लाग्छ, मैले साँच्चिकै धेरै कुरा मिस गरेको रहेछु। अब त्यो भरोसा मतमार्फत् विश्वासमा रूपान्तरण हुने आशा लिएको छु,’ उनले भनिन् । झाक्रीले सबै प्रतिनिधि कमरेडहरूलाई पार्टी र देशको हितलाई प्राथमिकतामा राखेर मतदान गर्न आग्रह गर्दै भनिन्, ‘मेरो विनम्र अनुरोध छ, पहिले पार्टी जोगाऔं, देशको भरोसा बचाऔँ। मेरो उम्मेदवारी यही मूल्य र उद्देश्यको प्रतिबिम्ब हो । मलाई दिने तपाईंहरूको अमूल्य मत नै त्यो विश्वासको प्रतिक हुनेछ ।

बागी बने रघुजी, उपाध्यक्ष पदमा दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा उपाध्यक्ष पदका लागी रघुजी पन्तले पनि उम्मेदवारी दिएका छन् । पन्त केपी शर्मा ओली पक्षवाट उपाध्यक्ष पदको उमेदवार बन्न चाहन्थे । तर ओलीले पन्तलाई नसमेटेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।  ईश्वर पोखरेल पक्षका एक नेताका अनुसार पन्तलाई आफ्नो समूहमा समेट्नेगरी वार्ता भइरहेको छ । पन्तले भने आफू अहिलेसम्म कुनै प्यानलको उमेदवार नरहेको बताएका छन् ।  उनले सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा भने, ‘म ०४९ सालको पाँचौ महाधिवेशनमा त फरक विचार राखेको मान्छे हुँ । अहिले पनि म स्वतन्त्र उम्मेदवार हुँ ।’

प्रधानाध्यापक ठाकुरविरूद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौं ।  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२ दुहवीस्थित शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले आर्थिक वर्ष २०७८/७९ मा आइसिटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना तथा डिजिटल लाइब्रेरी सुदृढीकरण कार्यक्रममा रकम हिनामिना गरेको दाबीसहित सोमबार मुद्दा दायर गरेको हो ।      प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरूणकुमार कुशियैतविरूद्ध जनही रु आठ लाख ६२ हजार १५२ बिगो रकमसहित विशेष अदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ । अख्तियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'आव २०७८/७९ को आइसिटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको रु ८७ हजार ५००  बराबरको प्रोजेक्टर तथा आव २०७९/८० मा आइटी ल्याब व्यवस्थापनका लागि खरिद गरिएको रु एक करोड, २४ लाख ६ सय ५२ बराबरको स्कस्ल सफ्ट्वयर र स्टान्ड हाल विद्यालयको अभिलेखमा नदिखिएको हुँदा सजायको माग दाबीसहित आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।' ठाकुर र कुशियैतले आपसी मिलेमतो तथा योजनामा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना, हानीनोक्सानी तथा दुरूपयोग गरेको हुँदा निजहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसूर भएकाले निज प्रतिवादीलाई सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।