चिकित्सक संघले २ संस्थासँगको सहकार्यमा २ चिकित्सकलाई १ लाख नगद सहित अवार्ड प्रदान गर्ने

काठमाडौं । नेपाल चिकित्सक संघले रुपा फाउन्डेसन र सज्जन-श्याम ट्रस्टसँगको सहकार्यमा चिकित्सकलाई अवार्ड प्रदान गर्ने भएको छ । अपिल अनुसार संघले २ जना चिकित्सकलाई १/१ लाख नगद पुरस्कार सहित अवार्ड प्रदान गरिने जनाएको छ । चिकित्सक संघले प्रदान गर्ने पुरस्कार एक जना महिला र एक जना पुरुषले पाउने जनाइएको छ । अवार्डका लागि आगामी माघ २ गतेसम्म आवेदन दिन सकिने र संघको स्थापना दिवसको दिन अवार्ड प्रदान गरिने संघको अपिलमा उल्लेख गरिएको छ । स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको, चिकित्सक संघको आजीवन सदस्य रहेको, नयाँ सेवा स्थापनाको लागि रचनात्मक भूमिका निर्वाह गरेको, खोज अनुसन्धान कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेको लगायतका मापदण्ड पुरा गरेको व्यक्तिले अवार्डका लागि आवदेन गर्न सक्ने जनाइएको छ । मापदण्डको बारेमा संघले अपिलमा विस्तृत विषय उल्लेख गरेको छ ।

खोपको प्रयोग नगर्दा दादुराले प्रकोपको रुप लिँदै

काठमाडौं । बाँकेको नेपालगञ्जमा दादुराका बिरामीको सङ्ख्या आज दिउँसोसम्म ८० जना पुगेका छन् । दादुराका २८ प्रतिशत बिरामीले दादुराविरुद्धको खोप प्रयोग नगरेको पाइएको छ । परिवार कल्याण महाशाखाअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार ८० बिरामीमध्ये खोप नलिने २३ जना रहेका छन् । खोपको एकमात्रा लिने ३३ र दुई मात्रा लिने १२ बिरामी छन् । उनका अनुसार १२ बिरामीबारे कुनै जानकारी छैन । उनले दादुराविरुद्धको खोपप्रतिको सचेतना अभावका कारण खोप प्रयोग नगर्दा प्रकोप फैलिएको बताए । उनले भने, ‘कूल बिरामीको सङ्ख्यामा २८ प्रतिशत बिरामीले खोप लगाएका छैनन्, खोप लगाउनु हुँदैन भन्ने समुदायको धारणाले उहाँहरु खोपबाट बञ्चित भएको देखिएको छ ।’ उनले आजदेखि खोप लगाउने काम सुरु भएको समेत बताए । ‘प्रकोप फैलिएपछि सबैको ध्यानार्कषण भएको छ, धर्मगुरु र समुदायसँग बसेर आइतबार छलफल भएको थियो, उहाँहरुले भनेको स्थानमा आजदेखि खोप लगाउन सुरु गरिएको छ’, उनले भने । हरेक वर्ष केही प्रतिशत बालबालिका पूर्ण मात्राको खोप लगाउन छुटेका छन् । उनले भने, ‘खोपको कभरेज धेरै देखिए पनि खोप नलगाएको असुरक्षित समूह बढ्दै जान्छ, असुरक्षित समूह धेरै भएपछि दादुरा प्रकोपका रुपमा देखिने गरेको छ ।’ बाँकेमा खोपको स्थितिलाई हेर्दा आर्थिक वर्ष २०७८/७९ मा दादुराविरुद्धको पहिलो मात्रा लगाउने ९८ प्रतिशत छन् भने दोस्रो मात्रा लगाउने ९५ प्रतिशत छन् । आव २०७७/७८ मा दुवै मात्रा खोप लगाउने ९२ प्रतिशत छन् । आव २०७६/७७ मा ९० प्रतिशतले पहिलो मात्रा र दोस्रो मात्रा लगाउने ७९ प्रतिशत छन् । नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को अध्ययनले सन् २०२२ मा चार प्रतिशत बालबालिकाले कुनै पनि खोप नलगाएको देखाएको छ । सन् २०१६ मा खोपबाट बञ्चित हुने बालबालिको सङ्ख्या एक प्रतिशत मात्र देखिएको छ । गत पुस १२ गते नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं ५ मा दादुराका पहिलो बिरामी देखिएका थिए । दादुराका लक्षण देखिएका १५ बिरामीमध्ये पाँच को नमूना परीक्षण गरेपछि दादुरा पुष्टि भएको हो । वडा नं ५ बाट सुरु भएको दादुराको सङ्क्रमण वडा नं ७, ८, ९, १०, ११, १५ र २२ मा देखिएको छ । आइतबारसम्म उपमहानगरका १० वडा र खजुरा गाउँपालिकाको वडा नं २ मा दादुराका बिरामी फेला परेका थिए । सबैभन्दा धेरै बिरामी उपमहानगरपालिकाको वडा नं ८ मा २८ र वडा नं ७ मा २५ जना रहेका छन् । वडा नं ९, १०, ११, १५ र २२ मा १० बिरामी भेटिएका हुन् । पाँच महिनाका बालबालिकादेखि ६५ वर्ष उमेर समूहकामा दादुराका बिरामी छन् । दादुराका कारण एक बिरामीको मृत्यु भइसकेको जनाइएको छ । दादुराका बिरामीलाई फोक्सो र कानको समस्यादेखि अपाङ्गतासम्म हुनसक्छ । यसबाट मृत्युको समेत जोखिम हुने गर्छ । सम्भावित स्वास्थ्य जटिलता कम गर्न शिविरमार्फत तत्काल उपचारको व्यवस्था गरिएको छ । प्रभावित क्षेत्रमा केन्द्रबाट बालचिकित्सक, विश्वस्वास्थ्य सङ्गठन र युनिसेफको समूह खटिएको छ । दादुराका बिरामी पत्ता लगाउने, शिविर खडा गरेर खोज्ने क्रम जारी छ । डा दाहालका अनुसार दादुराको महामारी नियन्त्रण गर्न बिरामी पत्ता लगाउने र तत्काल उपचार गर्ने, बिरामीलाई भिटामिन ‘ए’ दिने, आइसोलेनमा राख्ने तथा खोप लगाउने काम भइरहेको छ । सङ्क्रमण नियन्त्रण गर्न दुई हप्ता विद्यालय बन्द गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । धुलिखेल अस्पतालले आगामी दिनमा सो क्षेत्रका समुदायमा खोपप्रतिको गलत बुझाइ र सचेतना बढाउन अहिले अध्ययन टोलीसमेत खटाएको छ । स्वास्थ्यकर्मीले उपमहानगरपालिकालाई झण्डै दुई साता विद्यालय बन्द गर्न सुझावसमेत दिएको छ ।

एसियन र पानस फार्मेस्टिकल्सको इस्मेप्राजोल र लोराजेपाम औषधि गुणस्तरहिन भेटियो

काठमाडौं । औषधि व्यवस्था विभागले एसियन र पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने केही औषधी गुणस्तरहिन भएकाले बजारबाट फिर्ता गर्न निर्देशन गरेको छ । विभागले शनिबार एक सूचना प्रकाशित गर्दै एसियन फार्मेस्टिकल्सले उत्पादन गर्ने इस्मेप्राजोल आइपी–४० एमजी (ब्याच नम्बर इओटी ८०३०) र लोराजेपाम ट्याबलेट युएसपी–१ एमजी (ब्याच नम्बर एलएआरटी ८०५४) औषधि गुणस्तरहिन भएको बताएको छ । त्यस्तै विभागले सूचनामार्फत पानस फार्मेस्टिकल्सले उत्पादन गर्ने इस्मेप्राजोल आइपी–४० एमजी (ब्याच नम्बर टिइओ ०३७) औषधि गुणस्तरहिन रहेको बताएको छ । विभागले दुबै कम्पनीले उत्पादन गर्ने गुणस्तरहिन औषधिमा मापदण्डअनुसारको गुणस्तर नभएको जनाएको छ । उक्त औषधिहरुको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन विभागले सूचनामार्फत अनुरोध गरेको छ ।