नर्भिक अस्पतालका सेयरधनीले अब ४२ प्रतिशत लाभांश पाउने
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको साधारणसभाले लाभांश बढाएर पारित गरेको छ । अस्पतालकाे साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश संसोधन गर्दै केही बढाएर पारित गरेको हो । साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२.१०५ प्रतिशत नगद लाभांश(करसहित) गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसअघि सञ्चालक समितिले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आफ्ना सेयरधनीलाई कुल ४० प्रतिशत लाभांश वितरणको निर्णय गर्दै सोही प्रस्ताव साधारणसभामा लगेको थियो । हाल नर्भिक अस्पतालको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ । साधारणसभाबाट २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित भएसँगै अब चुक्तापूँजी बढेर २७ करोड रुपैयाँ पुगेको छ । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गरेको छ । यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका एजेण्डाहरु पनि पारित गरेकाे छ ।
गर्भवती र विपन्नलाई निःशुल्क एम्बुलेन्स सेवा
पर्वत । पर्वतको मोदी गाउँपालिकाले पहिलोपटक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । पालिकाभर अहिलेसम्म एम्बुलेन्स नहुँदा स्थानीय गर्भवती, बिरामी, घाइते तथा अपाङ्गता भएकालाई अस्पतालसम्म पुर्याउन कठिनाइ हुँदै आएको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको योजनाअन्तर्गत एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले जानकारी दिए । सुत्केरी, विपन्न, अपाङ्गता भएका बिरामीलगायतलाई अस्पताल पुर्याउन निःशुल्क सेवा दिने उद्देश्यले एम्बुलेन्स खरिद गरिएको उनको भनाइ छ । १४ लाखमा खरिद गरिएको एम्बुलेन्सले यसै सातादेखि सेवा प्रदान गर्ने भएको छ । गाउँ कार्यपालिकाको बैठकले एम्बुलेन्स सञ्चालन कार्यविधि बनाएको छ । नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउनका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको हो । यसबाट मोदीका आठवटै वडाका नागरिक लाभान्वित हुने छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्डमा हुने दुर्घटनाका घाइतेलाई पनि तत्काल उद्धार गर्न मद्दत पुग्ने गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले बताइन् । यसअघि जलजला गाउँपालिकाले पनि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।
नर्भिकमा पुस ३० गते कलेजोसम्बन्धी निःशुल्क परामर्श सेवा
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत पुस ३० गते कलेजोसम्बन्धी समस्या भएकाहरुले निःशुल्क परामर्श सेवा दिने भएकाे छ । शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म अस्पतालमा वरिष्ठ कलेजो रोग विशेषज्ञ तथा शल्यचिकित्सक डा. परदेज सापकोटा नेतृत्वको टिमले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्नेछ । निःशुल्क ओपिडीमा कलेजोको सिरोसिस, जण्डिस, फ्याटी लिभर भएका, पेटमा पानी जमेका जस्ता समस्या भएका बिरामीहरु तथा कलेजो बारे सम्पूर्ण रोगको निःशुल्क परामर्श सेवा आवश्यकले अवसर पाउनेछन् । अस्पतालले यसअघि नै मृगौला प्रत्यारोपण सेवा भने सफलतापूर्वक सुरु गरिसकेको छ ।