फोहरलाई पैसामा परिवर्तन गर्दै टीकापुर अस्पताल, एक महिनामा २८ हजार आम्दानी

टीकापुर । टीकापुर अस्पतालले फोहर प्रशोधन गरेर कमाइ गर्न थालेको छ । कैलालीमा प्लाष्टिकजन्य फोहर व्यवस्थापनमा सबैलाई चुनौति बनिरहेका समयमा अस्पतालले एक महिनादेखि प्लाष्टिकजन्य फोहर प्रशोधन गरेर आम्दानी लिन थालेको हो । अस्पतालले एक महिनामा निर्मलीकरण गरिएको १३ क्विन्टल सामग्री बिक्री गरेर २८ हजार आम्दानी भएको जानकारी दिएको छ । अस्पतालमा जडान भएका दुई अटोक्लेभ मेसिनमा प्लाष्टिकजन्य फोहर प्रशोधन हुन एक घण्टा लाग्छ भने रगतजन्य पदार्थ लागेका सामग्री प्रशोधन हुन दुई घण्टा लाग्छ । अस्पतालमा एउटा अटोक्लेभ मेसिन १० वर्षअघि कोरियाली सहयोग नियोग (कोइका)ले दिएको थियो भने अर्को मेसिन विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको थियो । स्वास्थ्य सङ्गठनकै सहयोगमा मेसिन जडान भई सञ्चालनमा आएको अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले जानकारी दिए । ‘प्लाष्टिकजन्य फोहर व्यवस्थापन चुनौती रहेका बेला हामीलाई मेसिन जडानपछि सहज भएको छ’, उनले भने, ‘हामीले स्थानीय पालिकामा सङ्कलन भएको फोहर प्रशोधनमा पनि सघाउन सक्छौँ । हामीले आसपासका केही पालिकासँग कुरा पनि गरेका छौँ । पालिकाहरूले चाहेमा हामी प्रशोधनमा सघाउन सक्छौँ ।’ अस्पतालमा फोहर निर्मलीकरण हुन थालेपछि हरेक वार्डमा फरक–फरक रङका बाल्टिन राखिएका छन् । प्लाष्टिकजन्य र रगतजन्य फोहर राख्नका लागि हरेक वार्डमा रातो, निलो, हरियो रङका बाल्टिन राखिएका छन् । साथै सिसाजन्य फोहर राख्नका लागि साना बाल्टिन राखिएका छन् । फोहर छुट्याएर तोकिएको भाँडामा राख्नका लागि अस्पतालका कर्मचारी, स्वास्थ्यकर्मी र नर्सहरूले बिरामीलाई पटक–पटक आग्रह गर्ने गरेका छन् । यसरी अस्पतालमा सङ्कलन भएको फोहर दैनिक अस्पताल परिसरमै रहेको फोहर व्यवस्थापन केन्द्रमा लगेर निर्मलीकरण गरिन्छ । “निर्मलीकरण भएको फोहर बिक्रीका लागि राखिन्छ । बिक्रीका लागि खासै समस्या छैन”, अध्यक्ष सोडारी भन्छन्, ‘यसरी निर्मलीकरण गरेको रगतजन्य पदार्थ खाल्डोमा राखिने, प्याड सुकिसकेपछि आगोले जलाउन मिल्ने र अन्य सामग्री पुनःप्रयोगका लागि बिक्री गर्न थालेका छौँ ।’ अस्पतालजन्य फोहर अन्यत्र विसर्जन गर्न पनि मिल्दैन । विगतमा अस्पतालभित्रै जलाउँदा प्रदूषण पनि हुने समस्या थियो । अटोक्लेभ मेसिनको प्रयोगले प्रदूषणको समस्यासमेत समाधान भएको सोडारी बताउँछन् । ‘पोखरा अस्पतालको फोहर व्यवस्थापन गर्ने शैलीबाट सिकेका हौँ । दुई जनालाई तालिम दिएर प्रशोधनको काम सुरु गरेका हौँ । प्रशोधनमा लागेको लागत उठोस् भन्ने चाहना हो,’ उनी भन्छन्, ‘अस्पतालका दुई कर्मचारीले दैनिक छ घण्टा जति काम गर्नुहुन्छ । डेढ सय लिटर क्षमताका दुईवटा मेसिन छन् ।’ अस्पतालमा दुईवटा मेसिन भए पनि अस्पतालको फोहरमात्रै थोरै हुने हुँदा हाल एउटामात्र निर्मलीकरण मेसिन प्रयोगमा ल्याइएको सफाइकर्मी काशीराम रेग्मी बताउँछन् । ‘थप फोहर पनि प्रशोधन गर्न सकिन्छ, एकैसाथ दुईवटै मेसिन सञ्चालन गर्न सकिन्छ’, उनले भने, ‘हाल फोहर कम भएकाले एउटै मेसिन चलाउने गरेका छौँ ।’ फोहर वर्गीकरण गरेर ल्याउने र लागतमा सहभागिताका लागि अस्पतालले स्थानीय पालिकासँग छलफल गरिरहेकाले पालिकाले पनि सहकार्य गरेमा फोहर व्यवस्थापनमा सहजता हुने स्थानीय बताउँछन् । अस्पतालले निर्मलीकरण गरेको अस्पतालजन्य सामग्री लगेर चिप्स बनाई बुटवलका प्लाष्टिक कम्पनीलाई बेच्ने गरेको जय सियाराम होजियारी उद्योग जोशीपुरका सञ्चालक राजेश मण्डलले जानकारी दिए । यसैबीच अस्पतालमा एनेस्थेसिया चिकित्सक सेवा सञ्चालन भएको छ । गत साउनदेखि सहायक कर्मचारीका भरमा सेवा दिइँदै आएको अस्पतालले जटिल खालको शल्यक्रियाका लागि भने बाहिरबाट चिकित्सक ल्याउनुपर्ने बाध्यता थियो । गत असारसम्म भने जानकी गाउँपालिकाको आर्थिक सहयोगमा एनेस्थेसिया चिकित्सकको सेवा थियो । आइसीयू र जटिल खालका शल्यक्रियाका लागि मानिसलाई बेहोस बनाउन एनेस्थेसिया आवश्यक हुन्छ । व्यवस्थापन समितिका अध्यक्ष सोडारीले प्रदेश सरकारको सहयोगमा नवौँ तहका एनेस्थेसिया डा पूर्णराधा श्रेष्ठ टीकापुर अस्पतालमा आउनुभएको जानकारी दिनुभयो । एनेस्थेसिया चिकित्सक नियमित भएमा अस्पतालमा शल्यक्रिया सेवा नियमित र सहज हुने अस्पतालले जनाएको छ । रासस

म्याग्देमा दश शय्याको अस्पताल बन्दै

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा निर्माणाधीन १० शय्याको अस्पतालको काम ५० प्रतिशत सकिएको छ । म्याग्दे गाउँपालिका–४ मा निर्माणाधीन १० शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम आधा सकिएको हो । विसं २०७८ जेठ २ गतेदेखि निर्माण सुरु भएको अस्पताल भवनको काम तीव्रगतिमा अगाडि बढिरहेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । भवन निर्माणको ठेक्का ऋषि शक्ति/होम निर्माण जेभी कम्पनीले पाएको छ । उक्त भवन विसं २०८० जेठ १० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कुल लागत १० करोड ५० लाख ४२ हजार दुई सय ७५ रुपैयाँ रहेकामा बोलपत्रमार्फत सात करोड ३४ लाख ५० हजार एक सय ९६ रुपैयाँमा ठेक्का लागेको हो । हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको निर्णयबमोजिम अस्पताल निर्माणको काम अगाडि बढेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए । अस्पतालमा एक मेडिकल अधिकृत, एक नर्सिङ अधिकृत, चार स्टाफ नर्स, चार एचए, दुई फार्मेसीलगायत २३ जनाको दरबन्दी रहनेछ । अस्पताल निर्माण सम्पन्न भएपछि म्याग्दे गाउँपालिकावासीलाई आधारभूत तहको स्वास्थ्य सेवामा पहुँच पुग्ने विश्वास लिइएको छ । ‘मानव जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको स्वास्थ्य हो, स्वास्थ्य सेवाको सहज पहुँच नहुँदा म्याग्देवासी समस्यामा परेको सन्दर्भमा यो अस्पतालको सुरुआतसँगै जटिल प्रकारको सेवा सञ्चालनमा जोड दिनेछौँ’, अध्यक्ष श्रेष्ठले भने ।

किन लगाउने एन्फ्लुएन्जा विरुद्वको भ्याक्सिन ?

काठमाडौं । मानिसको स्वास्थ्यका विभिन्न समस्यामध्ये ‘फ्लु’ एक समस्या हो । खासगरी इन्फ्लुएन्जा भाइरस संक्रमणले मानिसमा देखिने श्वासप्रश्वास सम्बन्धि रोगलाई नै ‘फ्लु’ भनिन्छ । सरल शब्दमा यसलाई ‘एन्फ्लुएन्जा’ भनिन्छ । श्वासप्रश्वास सम्बन्धि देखापर्ने रोगको मुल्य कारक तत्व यसलाई लिइन्छ । धेरै नै संक्रामक यस भाइरस ‘फ्लु’ संक्रमितले खोक्दा, बोल्दा वा हाछ्युँ गर्दा नाक तथा मुखबाट निस्कने स–साना कणको माध्यमबाट हावामा फैलन्छ । यो भाइरस आसपास रहेका अर्काे कुनैपनि मानिसमा सजिलै सर्ने तथ्य अध्ययनहरुले देखाएको छ । केहि व्यक्तिलाई भने फ्लु भाइरस भएका कुनैपनि वस्तु अथवा सतह छोएको, हात सफा तथा स्वच्छ नगरिकनै सिधै मुख, नाक तथा आँखामा लगेको / छोएको खण्डमा पनि फ्लुको संक्रमण हुने सम्भावना हुन्छ । शरीरमा छिरेको फ्लुले खासगरी व्यक्तिको नाक, घाँटी हुँदै फोक्सोमा समेत असर पु¥याउँछ । सामान्य रुघाखोकिदेखि जटिल श्वासप्रश्वास समस्याको अवस्थासम्म निम्त्याउँने फ्लुलाई बेवास्ता गरेमा यसले व्यक्तिलाई मृत्युको मुखसम्म डोर्याउन सक्छ । फ्लु कसरी पहिचान गर्ने? अधिकांश रोग पहिचान लक्षणहरुबाटै हुने गर्दछ । एन्फ्लुएन्जा संक्रमित बिरामीमा भने संक्रमितमा घाँटी दुख्ने, नाकबाट सिंगान बगिरहने, उच्चज्वरो, टाउकोको दुखाई, मांसपेशी तथा हाडजोर्नीको दुखाई महशुस हुनेजस्ता लक्षणहरु देखा पर्दछ । अधिकांश लक्षण भाइरल रुघाखोकीको जस्तो देखिएपनि तुलनात्मक रुपमा यो सामान्य रुघाखोकी भन्दा बढि घातक हुन्छ । त्यसैले यस्ता लक्षण देखेका व्यक्तिले यसलाई बेवास्ता नगरी एकपटक अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुपर्दछ । यस रोगले प्रतिरोधात्मक क्षमता कम भएका समूहलाई बढि आक्रमण गर्छ । खासगरी पाँच वर्षभन्दा कम उमेरका बालबालिका, ६५ वर्षभन्दा माथिका वृद्व–वृद्वा तथा दिर्घरोगीहरुलाई फ्लुले संक्रमण गर्न सक्ने जोखिम बर्गमा पर्दछन्। कतिपय अवस्थामा गर्भवतिको दौरान अन्यको तुलनामा महिलाको स्वास्थ्य संवेदनशिल हुने भएकाले पनि यस समूहलाई फ्लु संक्रमण जोखिम समूहको रुपमा लिइन्छ । फ्लुबाट बच्ने भरपर्दाे उपाय भनेकै ‘एन्फ्लुएन्जा भ्याक्सिन’हो । फ्लु विरुद्व लगाइने एन्फ्लुएन्जा भ्याक्सिनले व्यक्तिमा एन्फ्लुएन्जाको जोखिमलाई कमगर्छ । साथै खोप लिएका व्यक्तिमा यसको संक्रमण देखिएपनि गम्भीर अवस्थाको सम्भावनालाई न्युन पार्दछ । त्यसैले स्वस्थ स्वास्थ्य एवम् नतिजा दुवै तवरबाट सफल देखिएको यसलाई फ्लुबाट बच्ने सुरक्षित एवम् भरपर्दाे उपाय मानिन्छ । एन्फ्लुएन्जा भ्याक्सिनलाई एक स्वेच्छिक खोप मानिन्छ । यद्यपि बाल चिकित्सकहरुले भने बालबालिकाको पुर्व स्वस्थ स्वास्थ्यको दृष्टिकोण हिसाबले ६ महिना कटेका प्रत्येक ५ वर्ष मुनिका बालबालिकालाई यो खोप दिइनु पर्छ भन्ने मान्यता राख्छन । चिकित्सकसँगको परामर्श पछिमात्रै त्यसरी खोप लगाउनु उपयुक्त हुन्छ । यस्तै, सीडीसीले ६५ वर्ष उमेरभन्दा माथिका समूहको हकमा भने प्रत्येक ६ महिनाको अन्तरमा यो खोप दिन सिफारिस गरेको छ । यसैगरि गर्भको दौरान महिलाको प्रतिरक्षा, मुटु तथा फोक्सोको कार्यप्रणालीमा परिवर्तन भइरहने भएकाले यस्ता समूहमा फ्लुको जोखिम उच्च हुने भएकाले गर्भवति महिलाले पनि यो खोप लगाउन अनिवार्य दखिन्छ । समग्रमा अन्य सामान्य व्यक्तिहरुले भने प्रत्येक १/१ वर्षको अन्तरालमा एन्फ्लुएन्जा भ्याक्सिन लगाउनुपर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ । तर, खोपको मात्रा लिन जादाँ व्यक्तिले आफुमा भएको एलर्जी लगायतका अन्य स्वास्थ्य समस्या भएको खण्डमा भने सम्बन्धित चिकित्सक/ स्वास्थ्यकर्मीलाइ खुलस्त रुपमा जानकारी गराउनुपर्छ । खोप लगाउन कहाँ जाने? चिकित्सकको सल्लाह अनुसार, व्यक्तिले आफ्नो पायक एवम् सहजता अनुसार सरकारी एवम् सरकारी मान्यता प्राप्त निजि जुनसुकै स्वास्थ्य केन्द्रबाट पनि सो भ्याक्सिन प्राप्त गर्न सक्छन् । अधिकांश स्वास्थ्य केन्द्रहरुमा यो सेवा सहजै उपलब्ध छ । यो सेवा जावलाखेल स्थित आरोग्य स्वास्थ्य सदनमा पनि उपलब्ध छ। निस्कर्ष एन्फ्लुएन्जा भ्याक्सिन’लाई अत्यन्त संक्रामक मानिने ‘एन्फ्लुएन्जा’ भाइरसका कारण देखापर्ने फ्लुको जोखिमलाई कम गर्ने उत्तम उपायको रुपमा लिइन्छ । यसले व्यक्तिमा हुने फ्लुको जोखिमलाई ४० देखि ६० प्रतिशतसम्म कम गराउँछ । प्राप्त नितिजा अनुरुप उत्कृष्ट देखिएको यसको मात्रा चिकित्सकको सल्लाह अनुसार ६ महिना माथिका जुनसुकै उमेर समूहका व्यक्तिले लिन सक्छन् ।