पुरानो मेडिकल कलेजमा सुरु भयो न्युरो मेडिसिन सेवा
चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले निःशुल्क न्यूरो मेडिसिन सेवा शुरु गरेको छ । अस्पतालले विशिष्टिकृत सेवा विस्तार गर्ने क्रममा ओपिडि टिकट निःशुल्क गरेर न्यूरो मेडिसिन सेवा शुरु गरेको हो । नयाँ सेवाकाे सुरुवातसँगै अस्पतालबाट अब नशाका विभिन्न समस्याहरुको उपचार हुनेछ । अब अस्पतालमा टाउको दुख्ने, माइग्रेन, हातखुट्टा झम्झमाउने, हातखुट्टा बाउडिने, हातखुट्टा पोल्ने, उठ्न बस्न गाह्रो हुने, प्यारालाइसिस, छारेरोग, स्मरण शक्तिमा कमी, पार्किन्सन्स, नशा च्यापिएको लगायत नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार हुने अस्पतालले जानकारी दिएकाे छ । यस विभागमा उपचार गर्न आउने बिरामीका लागि प्रयोगशाला (ल्याब) र रेडियोलोजी सेवामा ५० प्रतिशत छुट दिईएको अस्पतालले जनाएको छ । भारतको एम्सबाट डिएम गरेका न्यूरोलोजिष्ट प्राडा. अभयकान्त तिवारी आएसँगै अस्पतालले यो सेवा शुरु गरेको हो । प्रा.डा. तिवारीसँग ३५ वर्ष लामो अनुभव रहेको छ । अस्पतालमा लामो समयदेखि न्यूरो मेडिसिन सेवा पूर्ण रुपमा सञ्चालन हुन सकेको थिएन । यसैगरी उपप्राध्यापक डा. प्रवेश पन्तले पनि सोही विभागबाट सेवा दिंदै आएका छन् । डिएम अध्ययनरत पन्त र प्राडा. तिवारीले न्यूरो मेडिसिन विभागका सम्पूर्ण उपचार सेवा दिँदै आएको अस्पतालले जनाएको छ ।
१० कराेड लगानीमा वीर अस्पतालमा ‘क्याथल्याब’ सेवा सुरु, मुटु रोगीको उपचारमा सहज हुने
काठमाडौं । कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)मा ‘क्याथल्याब’ सेवा सुरुवात गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले मुटु रोगको उपचारका लागि शल्यक्रिया थ्रेयटर (क्याथल्याव) शुभारम्भ गरेका हुन् । अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता औल्याउँदै उनले अस्पतालमा आउने कोही पनि पैसाको अभावले मृत्युवरण नगरुन् र सहज रुपमा सेवा पाउन् भन्नेमा जोड दिए । मन्त्री गिरीले अस्पतालका उपकरण छिटो विग्रने कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै भविष्यमा यस्तो हुन नदिन आग्रह गरे । स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले क्याथल्याबले मुटु रोगीको उपचार गर्न सहज हुने बताइन् । उनले संविधानले सुनिश्चित गरेको आधारभूत निःशुल्क स्वास्थ्य सेवालाई कार्यन्वयन गर्न सबै लाग्नुपर्नेमा जोड दिइन् । स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले मुलुककै पुरानो र ठूलो अस्पतालमा क्याथल्याब आवश्यक महुसुस गरेर स्थापना गरिएको बताए । उनले चार मुटु रोग विशेषज्ञ भएको अस्पतालमा एउटा क्याथल्याब सेवाको विस्तार गरिएको र यसबाट बिरामीलाई गुणस्तरीय तथा सर्वसुलभ सेवा उपलब्ध सहज हुने उल्लेख गरे । हृदयाघात भएर आउने बिरामीलाई २४ घण्टाभित्र प्राइमरी एन्जिओप्लाष्टिक (मुटुको नशा खोल्न) क्याथल्याब आवश्यक पर्दछ । क्याथल्याबमा मुटुको प्राइमरी एन्जिओप्लाष्टिकका लागि शल्यक्रिया गरी नशा खोलेर बचाउने गरिन्छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा देवनारायण साहले अस्पताललाई विशिष्टिकृत अस्पताल बनाउन क्याथल्याब सेवा सुरु गरिएको बताए । अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भूपेन्द्र बस्नेतले क्याथल्याब सञ्चालन भएपछि कुनै पनि मुटुका बिरामीको उपचार यहीअस्पतालमै गर्न सकिने जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक दुई सय जति मुटुका बिरामी उपचारका लागि आउने गर्दछन् । तीमध्ये दैनिक चार/पाँचजना बिरामीको क्याथल्याब गर्नुपर्ने हुन्छ । कतिपय क्याथल्याब गर्नुपर्ने बिरामीलाई अस्पतालले शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा पठाउने गर्दथ्यो । ‘अब हामीले क्याथल्याब सञ्चालन गरेपछि कुनै पनि मुटुका बिरामीको उपचार यही अस्पतालमा गर्न सक्षम भएका छौं,’ निमित्त प्रमुख प्रशासकीय अधिकारी बस्नेतले भने । उनका अनुसार नौ करोड ७० लाख रुपैयाँको लगतमा स्थापना गरिएको सो क्याथल्याव आइतवार शुरु गरिने जनाइएको छ ।
जहाँ मोबाइलको उज्यालोको भरमा सुत्केरी गराइन्छ
बागलुङ । दुई महिना पहिले बागलुङको गलकोट नगरपालिका–७ मल्म गाउँकी एक गर्भवती सुत्केरी हुन् मल्म स्वास्थ्यचौकी पुगिन्। सुत्केरी हुन स्वास्थ्यचौकी पुगेपछि स्वास्थ्यकर्मीले सुत्केरी गराउने सबै तयारी पूरा गरे। प्रसूति व्यथाले च्यापेकी महिलालाई बर्थिङ सेन्टरमा राखियो । सम्भावित सबै जोखिम सामना गर्न स्वास्थ्यचौकीमा उपलब्ध स्वास्थ्यकर्मी तयार थिए । जब बच्चा जन्मिने बेला भयो, झ्याप्प बिजुली गयो । बच्चा जन्मिनै लागेकाले स्वास्थ्यकर्मीले हतार–हतार खल्तिमा रहेको मोबाइल निकाले। मोबाइलको लाइट बाले । मोबाइलको लाइटकै भरमा तीन जनालाई सुत्केरी गराएको स्वास्थ्य चौकीकी अनमी माधुरी नेपालीले बताइन्। ‘धेरै पटक हामीले मोबाइलको लाइटकै भरमा सुत्केरी गराएका छौँ, बेलाबेलामा काटिने विद्युत्को वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको छ’, नेपालीले भनिन्,‘बर्थिङ सेन्टरजस्तो संवेदनशील ठाउँमा बत्तीको भरपर्दो व्यवस्था छैन।’ स्वास्थ्यचौकीमा बिजुली नभएका बेला ‘ब्याकअप’ को व्यवस्था नहुँदा समस्या हुने गरेको स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक अनिता कार्कीले बताइन्। ‘हामीले ब्याट्री राखिदिन गलकोट नगरपालिकाको स्वास्थ्य शाखालाई आग्रह गर्दैआएका छौं तर सुनवाई भएको छैन’, उनले भनिन्। बेलाबेलामा बिना सूचना काटिने विद्युतले यहाँका स्वास्थ्यकर्मीलाई समस्या हुने गरेको छ। बर्थिङ सेन्टर रहेको स्वास्थ्यचौकीमा चालु आर्थिक वर्षमा १९ जना सुत्केरी भएका छन्। अधिकांश रातिको समयमा सुत्केरी हुँदा स्वास्थ्यकर्मीले विद्युत् काटिएका बेला समस्या भोग्ने गरेका हुन्। ‘एक त हामीसँग प्रयाप्त जनशक्ति छैन, भएको जनशक्तिले काम गरिरहेका बेला एक जनाले मोबाइलको लाइटको व्यवस्था गर्नुपर्छ’, कार्कीले भनिन्, ‘हामीसित मोबाइल कोखमा च्यापेर सुत्केरी गराएका धेरै अनुभव छन्।’ यो समस्या गलकोट नगरपालिकाका स्वास्थ्य संस्थामा मात्रै होइन, बागलुङका अधिकांश स्वास्थ्य संस्थामा छ। स्थानीय तहले विद्युत्को वैकल्पिक व्यवस्था गर्न नसक्दा स्वास्थ्यकर्मीले आकस्मिक उपचार तथा प्रसूतिको समयमा सास्ती ब्यहोर्नुपरेको हो। बर्थिङ सेन्टर रहेको बरेङ गाउँपालिकाको बाटाका चौर स्वास्थ्यचौकीमा पनि बैकल्पिक ऊर्जाको समस्या छ। छिमेकी जिल्ला गुल्मी हुँदै बरेङ ल्याइएको केन्द्रीय प्रसारण लाइनको विद्युत् सामान्य हावा चल्दासमेत अवरुद्ध हुने गरेको छ। ‘एक पटक गयो भने तीन-चार दिन विद्युत् आउँदैन्, ब्याकअप नहुँदा सबैभन्दा समस्या सुत्केरी गराउने बेला हुन्छ’, स्वास्थ्यचौकीका निमित्त प्रमुख धर्मप्रकाश थारुले भने, ‘बर्थिङ सेन्टरलाई संवेदनशील मानेर आवश्यक पूर्वाधार तयार गर्नुपर्छ।’ विद्युत् नहुँदा मोबाइलकै भर पर्नुपरेको उनले सुनाए। बरेङ गाउँपालिकाले भने केही स्वास्थ्य संस्थामा विद्युत् नभएका बेला वैकल्पिक प्रयोगका लागि ‘ब्याकअप’ जडान गरेको छ। धुल्लुबास्कोट स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा जडान गरिएको ‘ब्याकअप’ले सहयोग पुगेको अनमी अनिसा आचार्यले बताइन्। गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा ‘ब्याकअप’ पुर्याउने योजना बनाएको छ। ‘क्रमैसँग सबै स्वास्थ्य संस्थालाई सुविधा सम्पन्न बनाउँछौँ, एकै पटक बजेटका कारण सम्भव छैन्’, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भने।