हिजो सेयर बजारमा बीमा क्षेत्रले बनायो इतिहास, किन देखियो यस्तो आकर्षण ?
काठमाडौं । हिजो (पुस १० गते) नेपालको सेयर बजारमा बीमा क्षेत्रले इतिहास बनायो । बीमा क्षेत्रका सुचिकृत कम्पनीमध्ये ५० प्रतिशतभन्दा बढीमा मूल्य बढेर सर्किट लेवलमा कारोबार भयो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार सो दिन २९ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढ्यो । यी कम्पनीमध्ये अधिकांश त बीमा कम्पनीहरु नै छन् । बीमा क्षेत्रमा ४१ कम्पनी भएपनि जम्मा ३० कम्पनी मात्रै नेप्सेमा सुचिकृत छन् । नेप्सेमा सुचिकृत भएको नेपाल पुनर्बीमा कम्पनीलाई बीमा समुहमा राखिएको छैन, अन्य समुहमा राखिएको छ । हिजो नेसनल लाइफ, युनाइटेड, एभरेष्ट, प्रिमियर, प्रभु, प्रुडेन्सियल, लुम्बिनी जनरल, एसिएन लाइफ, प्राइम लाइफ, जुराँस लाइफ, रिलायन्स लाइफ, प्रभु लाइफ, ज्योति लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यस्तै, ९ प्रतिशतभन्दा बढीले सेयर मूल्य बढेका अन्य बीमा कम्पनीहरुमा जनरल इन्स्यारेन्स, सूर्या लाइफ, एनएलजी, नेपाल लाइफ, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, सानिमा जनरल, अजोड इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । हिजो १४ वटा बीमा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । अहिले कार्यान्वयनमा रहेको कानुनी व्यवस्था अनुसार कुनै पनि कम्पनीको सेयर मूल्य एकै दिनमा १० प्रतिशतभन्दा बढीले घट्न वा बढ्न पाउँदैन । यस्तै, ९ वटा कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । हिजो जीवन बीमा समुहको परिसुचक ९.७४ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समुहको परिसुचक ८.२१ प्रतिशतले बढेको छ । हिजो बीमा क्षेत्रमा देखिएको उछाललाई कतिपय जानकारहरुले ऐतिहासिक घटनाको रुपमा लिएका छन् । सेयर बजारबारे जानकार दिलिप मुनंकर्मी कुनै एउटा क्षेत्रका सबै कम्पनीहरुको सेयर मूल्य बढेको विरलै पाइने र एउटा समुहको परिसुचक ९ प्रतिशतभन्दा बढीले बढेको यसअघि आफूलाई थाहा नभएको बताउँछन् । ‘बीमा क्षेत्रका सबै कम्पनीको मूल्य करिब सर्किट लेबलमा देखियो, यसअघि यस्तो भएको मलाई याद छैन, सम्भवतः यो ऐतिहासिक घटना हुनुपर्छ,’ मुनंकर्मीले भने । किन बढ्यो मूल्य ? नेपाल राष्ट्र बैंकले केही वस्तुको आयातमा कडाई गरिएको सुचना सार्वजनिक भएयता सेयर बजारमा सकारात्मक असर देखिएको छ । अघिल्लो साता नेप्से परिसुचक साताभर नै बृद्धि भएको थियो । बीमा क्षेत्रका कम्पनीहरुको मूल्य उच्च अंकले बढ्नुको कारण यो क्षेत्रमा पुँजी बृद्धि हुँदैछ भन्ने सुचनाले हो । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी ३ अर्ब रुपैयाँको हाराहारीमा हुने गरी नीतिगत व्यवस्था गर्न लागेको छ । यही सुचनाको आधारमा कम्पनीहरुले हकप्रद सेयर जारी गर्लान भन्ने अनुमानका आधारमा बीमा क्षेत्रका कम्पनीहरुको मूल्य बढेको हो । सम्बन्धित समाचार नयाँ लाइसेन्स माग गर्दै ८ कम्पनी बीमा समितिमा, पुँजी ५ अर्ब र ३ अर्ब तोकिँदै बीमा समितिको सञ्चालक अस्वीकार गर्दै करका हाकिम बीमा कम्पनीहरुले पुँजी वृद्धि नगरी सुखै छैन: अध्यक्ष सिलवाल
१ करोडसम्मको चालु पुँजी कर्जामा कारोबारको २० प्रतिशतको सीमा, बढीमा नलाग्ने
काठमाडौं । नेपाल राष्ट्र बैकले १ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालूपुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक अनुमानित कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालूपुँजी कर्जा सीमा कायम गर्नुपर्ने मापदण्ड तोकेको छ । राष्ट्र बैंकले आइतबार चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन, २०७८ जारी गर्दै यस्तो मापदण्ड निर्धारण गरेको हो । ‘फर्म/संस्था/कम्पनीलाई एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कुल १ करोड रुपैयाँ वा सोभन्दा कम रकमको चालूपुँजी कर्जाको सीमा निर्धारण गर्दा वार्षिक अनुमानित कारोबार/बिक्रीको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कुल चालूपुँजी कर्जा सीमा कायम गर्नुपर्नेछ,’ मार्गदर्शनमा उल्लेख छ,’ निर्देशिकामा उल्लेख छ । यस्तै, मौज्दातमा रहेको सामानको भौतिक निरीक्षण गर्दा कर्जा दुरुपयोग भएको पाइएमा कर्जालाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गरी असुलीको प्रक्रिया अगाडि बढाउनु पर्ने प्रस्ताव राष्ट्र बैंकले गरेको छ । बैंक तथा वित्तीय संस्थाले १ करोड रुपैयाँसम्मको चालू पुँजी कर्जा प्रवाह गर्दा ऋणीको ग्राहक स्वयंबाट प्रमाणित मासिक विवरण राख्नु पर्नेछ भने १ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको चालू पुँजी कर्जाको हकमा ऋणी संस्थाको आन्तरिक लेखापरीक्षकबाट प्रमाणित मासिक विवरण हुनु पर्नेछ । पाँच करोड रुपैयाँभन्दा बढी चालूपुँजी कर्जाको हकमा अर्धवार्षिक रुपमा स्वतन्त्र लेखापरीक्षकबाट प्रमाणित विवरण राख्नु पर्नेछ । ऋणीले पेश गरेका अनुमानित वित्तीय विवरण यथार्थपरक रहे नरहेको सम्बन्धमा विस्तृत विश्लेषण गरी वास्तविकताको नजिक हुने विवरणलाई आधार मानी चालूपुँजी कर्जा सीमा स्वीकृत पर्ने शर्त राष्ट्र बैंकको छ । अनुमानित वित्तीय विवरण वार्षिक रुपमा लिई विश्लेषण गर्नु पर्ने भनिएको छ भने एकपटक विश्लेषण गरी कर्जा स्वीकृत भई सकेपश्चात लेखापरीक्षण भएको वित्तीय विवरण प्राप्त नभएसम्म पुनः अर्को अनुमानित वित्तीय विवरणको आधारमा कर्जा सीमा पुनरावलोकन गर्न पाइने छैन । यस्तो छ बैंकले जारी गरेको नयाँ मार्ग दर्शन [pdf id=308547]
सहकारीमा तरलताको संकट आउन नदिन सहकारी बैंकले खडा गर्यो २ अर्बको कोष, विना धितो पनि ऋण पाइने
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले तरलता व्यवस्थापन कोष स्थापना गरेको छ । सहकारी क्षेत्रमा तरलताको समस्या आउन नदिन बैंकको सञ्चालक समिति बैठकले कोष नै खडा गरेर काम गर्न थालेको हो । बैंकका अनुसार सहकारी क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुमा भएको जस्तो तरलताको संकट सहकारी क्षेत्रमा पनि आउन नदिनका लागि बैंकले ‘तरलता व्यवस्थापन कोष स्थापना गरेको हो । बैंकले सो कोषका लागि कार्यविधि नै बनाएर अगाडि बढिरहेको बैंकका अध्यक्ष केवी उप्रेतीले बताए । उनले अहिले बैंक तथा वित्तीय संस्थाहरुमा तरलताको अभावका कारण सर्वसाधारणलाई ऋण पाउन समस्या भएको । व्यवसायीहरुलाई पनि व्यापार विस्तारसँगै व्यवसाय जोगाउन पनि समस्या भइरहेको भन्दै त्यो समस्या सहकारी क्षेत्रमा आउन नदिनको लागि कोष स्थापना गरेको उनले बताए । उनका अनुसार बैंकले २ अर्ब रुपैयाँको कोष स्थापना गरेको हो । ‘अहिले बैंक तथा वित्तीय क्षेत्रमा तरलताको ठूलो संकट छ, यो संकट बैंक तथा वित्तीय संस्थाहरुकै कारण सिर्जना भएको हो, तर, हामी सचेत छौं, सहकारी क्षेत्रलाई तरलता संकटको मारमा पार्न नदिन हामीले तरलता व्यवस्थापन कोष स्थापना गरेका हौं,’ उनले विकासन्युजसँग भने । उनका अनुसार बैंक्ले सो कोष परिचालनका लागि बनेको कार्यविधिमा उल्लेख मापदण्ड अनुसार नै सहकारीहरुलाई ऋण दिइनेछ । ‘हामीले कार्यविधि नै बनाएर सहकारीहरुमा तरलताको कारणले समस्या नआओस् भनेर यो कोष खडा गरेका हौं, कोष मार्फत अत्यावश्यक भएकोलाई नै लगानी गरिने हो, अत्यावश्यक वाहेकको कर्जा अन्य मापदण्डमार्फत जान्छ, तर, अत्यावश्यक हो, ऋण दिन मिलेन, धितो पनि छैन भने यो कोष मार्फत लगानी गर्छौं,’ अध्यक्ष उप्रेतीले भने । उनका अनुसार यो कोषमा विनाधितो ऋणको पनि व्यवस्था गरिएको छ । उनले विनाधितो लगानी गर्ने सहकारीहरुको विगतको कारोबार हेरेर ऋण लगानी हुने बताए । ‘सहकारीमा तरलताको अभाव भयो भने हामीसँग कारोबार गर्ने सहकारीको हिजोको दिनमा कस्तो कारोबार थियो ? निक्षेप कति थियो ? लगानी कस्तो थियो ? यी विभिन्न अवस्थाहरु हामीले अध्ययन गर्छौं, यदि सो सहकारीलाई तरलताको कारण नै कुनै लगानी गर्न अर्थात व्यवसाय विस्तार गर्न समस्या भइरहेको छ, उ सँग धितो पनि छैन भने हामीले त्यस्ता सहकारीलाई विनाधितो नै ऋण लगानी गर्छौं, हाम्रो मुख्य ध्येय भनेको तरलताको अभावको कारणले उनीहरु बन्द हुने अवस्था नआओस् भन्ने हो,’ उनले भने । उनले अहिलेसम्म बैंक तथा वित्तीय संस्थाहरु जस्तो सहकारीमा तरलता नभएको पनि बताए । अहिले सहकारीमा तरलताको खासै संकट नभएपनि पछि आउने संकटलाई मध्येनजर गर्दै कोष स्थापना गरेको उनको भनाई छ । उनका अनुसार सहकारीहरुलाई एक करोडसम्मको ऋण विनाधितो दिन सकिनेछ । ‘१ करोड हो भने धितो नराख्नु पर्ने हुन्छ, ५ करोड रुपैयाँ हो भने धितो राख्नु पर्ने हुन्छ,। यसका लागि हामीले कार्यविधि नै बनाएर मापदण्डहरु तोकेका छौं, उनले भने ।