
काठमाडौं । बैंकर भूपेन्द्र पाण्डे नेपाल बंगलादेश बैंकको बरिष्ट उप–प्रमुख कार्यकारी अधिकृत (सिनियर डेपुटी सीईओ)मा नियुक्त भएका छन् । पाण्डेलाई सञ्चालक समितिको पुस ८ गते बसेको बैठकले सिनियर डेपुटी सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनले माघ १ गतेदेखि नयाँ जिम्मेवारी समाल्नेछन्।
नेपाल बंगलादेश बैंक अरु बैंकमा मर्जरमा नगएको अवस्थामा पाण्डेलाई नै प्रमुख कार्यकारी अधिकृत बनाउने गरी उनको नियुक्ती भएको स्रोतले बतायो । बैंकका वर्तमान प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको कार्यकाल यहि पुस मसान्तमा सकिदैछ ।
हाल नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सीईओका रुपमा कार्यरत पाण्डेले यसअघि राष्ट्रिय वाणिज्य बैंकको डेपुटी सीईओ भएर काम गरिसकेका छन् ।
चाटर्ड एकाउण्टेड पाण्डेसँग दुई दशक भन्दा बढी अवधि बैकिङ क्षेत्रमा काम गरेको अनुभव छ । एग्रेसिभ बैंकर्सको छवि बनाएका पाण्डे इन्फ्रास्ट्रक्चर बैंकमा पुगेपछि सुस्ताएका थिए ।
स्रोतका अनुसार नेपाल इन्फ्रास्ट्रक्चर बैंकका तत्कालिन सीईओ अनिल ज्ञवालीको कार्यकाल पछि पाण्डेलाई सीईओ बनाउने आश्वासन दिइएको थियो । ज्ञवालीको कार्यकाल पछि उनीले साेही बैंकमा कामु सीईओको भूमिका पनि निभाएका थिए । तर पछि बैंकले रामकृष्ण खतिवडालाई सीईओमा नियुक्ती गर्यो ।
नेपाल बंगलादेश बैंक नबिल बैंकसँग मर्जर जाने सम्भावना धेरै रहेको यसका प्रवद्र्धक तथा सञ्चालकहरुले बताउँदै आएका छन् । यस बैंकमा रहेको वंगालीको सेयर खरिद चौधरी ग्रुपले गरेको नबिल बैंकमा मर्जको सम्भावना धेरै रहेको जानकारहरु बताउँछन् ।
त्यस अवस्थामा पाण्डेलाई नविल बैंकको डेपुटी सीईओ बनाउने अन्तरिक सहमति रहेको स्रोतले बतायो । आगामी असारमा नविलका सीईओ अनिल शाहको कार्यकाल सकिदै छ । त्यसपछि उक्त बैंकको सीईओमा ज्ञानेन्द्र ढुंगाना नियुक्ती हुने सम्भावना रहेको जानकारहरु बताउँछन् ।