काठमाडाैं । पछिल्लो समय मुुलुकको अर्थतन्त्र गम्भीर संकट उन्मुख तिर ओरालो लाग्दै गएको छ । मुलुकको अर्थतन्त्र संकट उन्मुख तिर ओरालो लागेको पछिल्लो राष्ट्र बैंकको वित्तीय तथ्याङका सूचकहरुले पनि देखिएको छ । चालु आर्थिक वर्षको सुरुवातसँगै मुलुकको वित्तीय प्रणालीमा तरलता अभावले हाहाकार मच्चाएको छ ।
बजार तरलता अभाव हुनुमा सरकारले पुँजीगत खर्च गर्न नसक्नु तथा नेपालमा आयात अत्याधिक रुपमा बढ्नु मुख्य कारण रहेको राष्ट्र बैंकले बताउँदै आएको छ । यसरी मुलुकको अर्थतन्त्र संकट उन्मुख भएको र बजारमा तरलता अभाव झेलि रहेको अवस्थामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही दिन अगाडि आर्थिक पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बैंकहरुको ‘लिभरेज रेसियो’ को विषय उठाउँदै मुलुकको अर्थतन्त्रमा ठूलो समस्या नआएको देखाउन खोजेका छन् ।
गभर्नर अधिकारीले मुलुकको अर्थतन्त्रमा कुनै समस्या छैनन् भन्न बैंकहरुको ‘लिभरेज रेसियो’ देखाउनु भयो त भन्ने प्रश्न उठ्न थालेको छ । गभर्नर अधिकारीले उक्त कार्यक्रमा ‘बासेल–३ कार्यान्वयनमा २, ३ आउँदा लिभरेज रेसियो भएको बताए ।
तर, गभर्नर अधिकारीले पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा मात्रै लिभरेज रेसियो कुरा राख्नु अर्थतन्त्र राम्रो देखाउनको लागि मात्रै भएको हो की भन्ने बाहिर चर्चा भएको छ । गभर्नर अधिकारीले ठिक १४ दिन अगाडि मंसिर २३ गते बसेको अर्थसमितिको बैठकमा भने यो विषय उठान गरेका थिएनन् ।
समितिलाई मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाको विषयमा जानकारी दिँदा लिभरेज रेसियोको कुरा किन नउठाएर पत्रकारहरुसँग मात्रै उठाए । यो विषय पनि गम्भिर रुपमा उठ्न थालेको छ । गभर्नर अधिकारीले अर्थ समितिमा बजारका तरलताको विषयमा बोल्दै चालु आर्थिक वर्षको सुरुवात देखि तरलतामा चाप परेको बताएका थिए । उनले बैंकिङ प्रणाली मार्फत ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह हुँदा निक्षेप भने ६४ अर्ब रुपैयाँले मात्रै बढेको र कर्जा प्रवाह र निक्षेप बीचको ३ खर्बले बैंकिङ प्रणाली ड्राईभ अफ हुने स्थिति देखिएको बताएका थिए ।
उनले भनेका थिए, ‘साउन महिना देखि मंसिरसम्ममा ४ सय ११ अर्बको कर्जा प्रवाह हुँदा ६४ अर्ब मात्रै निक्षेप वृद्धि भएको छ । यसरी प्रवाह भएको पैसा सबै देश बाहिर गयो । देश भित्र नै रहेको हुने थियो भने अहिलेको अवस्था आउने थिएन। अहिले कर्जा प्रवाह भएको ५० प्रतिशत आयातमा गएको देखिन्छ ।’
तर, यता नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले गभर्नर अधिकारीले अर्थतन्त्रको सूचक राम्रो देखाउन बैंकको लिभरेज रेसियोको कुरा उठाउनु बेमौसमी बाजा जस्तै भएको टिप्पणी गरेका छन् । उनले राष्ट्र बैंकले अहिले कै अवस्थामा लिभरेज रेसियोसँग जोड्नु पर्ने अवस्था नआएको बताए ।
पूर्वगभर्नर नेपाल बैंकहरुको लिभरेज रेसियोको विषयमा बोल्न पर्ने जरुरी नभएको बताउँछन् । उनले बाहिर अर्थतन्त्र संकट उन्मुख रहेको हल्ला चलाउँदा स्पष्ट रुपमा बताउन खोज्नु राम्रो भएको तर बैंकको लिभरेज रेसियोलाई ल्याएर घुसाउन राजनीतिक दबाव हो कि भन्ने बुझ्नु पर्ने बताए ।
उनी भन्छन्, ‘नेपालको अर्थतन्त्र संकट आउँदा विभिन्न दृष्टिकोणबाट हेर्नुपर्छ, यस्तो अवस्थामा राष्ट्र बैंक सतर्क हुनु आवश्यक भएको छ, नेपाल राष्ट्र बैंकले विदेशबाट आउने रेमिटेन्स घट्यो, पुँजीगत खर्च बढ्न नसक्दा के गर्ने भन्ने विकल्प सोच्नु पर्छ तर बैंकहरुको लिभरेज रेसियो देखाएर अर्थतन्त्रका सूचक राम्रो देखाउनु आवश्यक छैन ।’
पूर्वगभर्नर नेपालले भने, ‘ म गभर्नर हुँदा बैंकको पुँजी २ अर्बबाट ८ अर्ब पु¥याउँदा बैकिङ क्षेत्र सकियो भन्नेहरु थिए, अहिले ती मान्छेहरु ८ अर्ब नपर्याएको भए धेरै बैंकहरु डुब्ने थिए भनिरहेका छन्, पछिल्लो डेढ वर्षमा कर्जा विस्तार समेत उठ्न सकेको थिएन्, बैंक तथा वित्तीय संस्थालाई निकै अफठ्यारो पर्ने थियो । बैंकको पुँजी वृद्धि गर्दा बैंकिङ फाउण्डेशन पनि मजबुद भएको छ, यसले गर्दा कर्जा विस्तार हुँदा आर्थिक वृद्धिदर पनि बढेको थियो, यसरी केन्द्रिय बैंकले जुन नीति लिन्छ त्यो एउटा गभर्नर मात्रैले लिने होइन् ।’
पूर्वगभर्नर नेपालले मुलुकको पछिल्लो अर्थतन्त्र बाहिर हल्ला भएको जस्तो तहसनहस नै भएको अवस्था नभएको बताए । उनले अहिलेको तरलता लगायत अन्य समस्याले मूल्य वृद्धि बढ्ने देखिएको र विगतमा पनि अर्थतन्त्रका सुचक अहिलेको जस्तै हुने गरेको उल्लेख गर्दै नेपालले अहिलेको मुख्य समस्या भनेको विदेशी मुद्रा सञ्चिती घटेको बताए । अहिलेको अर्थतन्त्रको अवस्थाले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि गर्ने भने ठूलो चूनौती रहेको उनले बताएका छन् ।