कोरोनाले पनि बढायो नेपालको व्यापार घाटा, ५ महिनामै आयो १५ अर्बको खोप

<p>काठमाडौं । कारोना महामारी सुरु भएको पहिलो वर्ष गरिएको लकडाउन र सटडाउनको कारण नेपाल वाह्य क्षेत्र सन्तुलन राम्रो देखिएको थियो । अन्तराष्ट्रिय व्यापारको लागि सीमा बन्द भएको तथा मानवीय आवागमन ठप्प पारिएको कारण आयातमुखी अर्थतन्त्र भएको नेपालको व्यापार घाटा कम भएको थियो । तर, कोभिड महामारी विरुद्धको खोप आयातले पछिल्लो समय व्यापार घाटा बढाउन सहयोगी [&hellip;]</p>

काठमाडौं । कारोना महामारी सुरु भएको पहिलो वर्ष गरिएको लकडाउन र सटडाउनको कारण नेपाल वाह्य क्षेत्र सन्तुलन राम्रो देखिएको थियो । अन्तराष्ट्रिय व्यापारको लागि सीमा बन्द भएको तथा मानवीय आवागमन ठप्प पारिएको कारण आयातमुखी अर्थतन्त्र भएको नेपालको व्यापार घाटा कम भएको थियो ।

तर, कोभिड महामारी विरुद्धको खोप आयातले पछिल्लो समय व्यापार घाटा बढाउन सहयोगी भूमिका निर्वाह गरेको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिना (साउनदेखि मंसिरसम्म) १५ अर्ब रुपैयाँभन्दा बढीको खोप आयात भएको छ । तर, यो सबै कोभिड विरुद्धको खोप भने होइन ।

भन्सारका अनुसार चालु आर्थिक आर्थिक वर्षको गत मंसिर मसान्तसम्ममा १५ अर्ब ३५ करोड ८२ लाख ५७ हजार रुपैयाँ बराबरको खोप (मानव औषधीको लागि खोप) आयात भएको छ । गत आर्थिक वर्षमा भने यस्तो खोप निकै कम परिमाणमा आयात भएको थियो ।

सरकारले गत आर्थिक वर्षदेखि खरिद प्रक्रिया अनुसार विभिन्न देशहरुबाट कोभिड विरुद्धको खोप आयात गरिरहेको छ । सुरुआति समयमा सरकारले कोभिड विरुद्धको खोप अनुदानमा मात्रै ल्याउने गरेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई कोभिड विरुद्धको खोप लगाउने आफ्नो सरकारको पहिलो प्राथमिकता भएको भन्दै आगामी चैतसम्ममा खोप लगाउन योग्य सबै समेर समुहका नागरिकलाई खोप उपलब्ध गराइसक्ने बताउँदै आएका छन् ।

अहिलेसम्म कोभिड विरुद्धको खोप सरकारले मात्रै आयात गरिरहेको छ । सरकारले खरिद गरेर ल्याएको खोप सर्वसाधारणलाई भने निःशुल्क लगाउने गरिएको छ ।

भन्सारका अनुसार गत आर्थिक वर्षमा जम्मा ७ अर्ब ६७ करोड ६३ हजार रुपैयाँ बराबरको यस्तो खोप आयात भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब १३ करोड ५३ लाख ३८ हजार रुपैयाँ बराबरको खोप आयात भएको थियो ।

आर्थिक वर्ष २०७५/७६ मा भने मानव औषधीको लागि प्रयोग हुने खोप निकै कम आयात भएको थियो । भन्सार विभागका अनुसार सो आर्थिक वर्षमा १ अर्ब ९५ करोड ९३ लाख ६९ हजार रुपैयाँ बराबरको खोप आयात भएको थियो । यस्तै, आर्थिक वर्ष २०७४/७५ मा भने १ अर्ब २३ करोड ८३ लाख ५८ हजार रुपैयाँ बराबरको खोप आयात भएको थियो ।

Share News