बजेट फेरि घटाए अर्थमन्त्री शर्माले

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट दोस्रो पटक घटाइदिएका छन् । संबैधानिक व्यवस्था अनुसार चालु आर्थिक वर्षको लागि आएको बजेट प्रतिस्थापन विधेयक मार्फत घटाएका अर्थमन्त्री शर्माले मध्यावधी समीक्षा मार्फत दोस्रो पटक घटाइदिएका हुन् । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षका लागि गत जेठ १५ गते १६ खर्ब ४७ अर्ब रुपैयाँको बजेट ल्याएका थिए । वर्तमान अर्थमन्त्री शर्माले गत भदौ २५ गते प्रतिस्थापन विधेयक मार्फत पौडेलले ल्याएको बजेटमा १५ अर्ब रुपैयाँले घटाउँदै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ कायम गरेका थिए । चालु आर्थिक वर्षको बजेटको मध्यावधी समीक्षा मार्फत चालु आर्थिक वर्षको बजेट फेरि ८६ अर्ब रुपैयाँले घटाइएको छ । अब चालु आर्थिक वर्षको बजेटको आकार १५ खर्ब ४६ अर्ब रुपैयाँ कायम भएको छ ।

लम्बोदर न्यौपानेले कलेजको २३ करोड रकम निजी खातामा राखेको निश्कर्ष, मुद्दा अदालतमा

काठमाडौं । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेसहित ७ जना सञ्चालकले कलेजको २३ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको खुलेको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुसन्धान अनुसार न्यौपानेसहितका सञ्चालकले कलेजको २३ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको देखिएको हो । विभागका अनुसार न्यौपानेले १२ करोड, लवराज भट्टराई, उपेन्द्र गौतम, सूर्यबहादुर केसी र हरि पाण्डेले २/२ करोड, रामरत्न उपाध्यायले १ करोड २५ लाख र दीपक भट्टराईले करिब ३५ लाख रूपैयाँ बराबर सम्पत्ति शुद्धीकरण गरेको विभागले फेला पारेको छ । सञ्चालकहरुले कलेजकै सो रकम हिनामिना गरेर व्यक्तिगत खातामा राखेको विभागको अनुसन्धानबाट पुष्टि भएको छ । विभागले गत असार अन्तिम साता विशेष सरकारी वकिल कार्यालयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो । तर, वकिल कार्यालयले पटक–पटक थप अनुसन्धान गर्न भन्दै प्रतिवेदन विभागमै फिर्ता पठाएको थियो । अन्ततः वकिल कार्यालयले सो प्रतिवेदन सदर गरिसकेको छ । सार्वजनिक कम्पनीका रुपमा २०५२ देखि सञ्चालित कलेजलाई न्यौपाने अध्यक्ष भएपछि निजी कम्पनीका रूपमा परिवर्तन गर्न चलखेल गरेका थिए । न्यौपानेसहित सातै जना सञ्चालकमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पनि अनुसन्धान गरेको थियो । सीआईबीले इञ्जिनियरिङ कलेजका सात जना सञ्चालकले ५२ करोड ठगेको निष्कर्ष निकालेको थियो ।

राष्ट्र बैंकको नयाँ व्यवस्थाः कपडादेखि माछामासु आयातमा कडाई, यी ४१ वस्तुमा १००% मार्जिन

काठमाडौं । नेपाल राष्ट्र बैंकले थप ४७ वस्तुको आयातमा कडाई गरेको छ । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले बुधबार एक परिपत्र जारी गर्दै कुल ४७ वटा होर्मोनिक (एचएस) कोडबाट आयात हुने वस्तुको आयातमा कडाई गरेको हो । परिपत्रमा एलसी खोल्दा ६ वस्तुमा ५० प्रतिशत र ४१ वस्तुमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गरेको हो । राष्ट्र बैंकले अब विदेशबाट आयात हुने तयारी पोशाक तथा कपडा, ड्राइ फुड, माछा, मासु लगायतका वस्तु आयातमा गर्न कडाइ गरेको हो । होर्मोनिक कोड ०३ बाट सुरु हुने माछा र माछाजन्य अन्य परिकारको आयात गर्दा एलसीमा शतप्रतिशत मार्जिनको व्यवस्था गरेको छ । हार्मोनिक कोड ८७०३, ८७११, ६०, ६१, ६२ र ६३ बाट सुरु हुने वस्तुहरुको आयातको लागि एसली खोल्दा ५० प्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्था छ । यस्तै, राष्ट्र बैंकले परफ्युम, मेकअपका सामान, कपालको क्रिम तथा स्याम्फु, काठ, काठको कोइला र फर्निचर, जुत्ता, चप्पल लगायतका सामान आयात गर्दा पनि शतप्रतिशत मार्जिन लगाउनु पर्ने व्यवस्था गरेको छ । [pdf id=314612]