जनार्दन शर्माको हिसाव मिलेन कि विष्णु पौडेलको ?

<p>काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट खर्च र त्यसबाट प्राप्त हुने उपलब्धी (आर्थिक वृद्धि) को रोचक हिसाव सार्वजनिक गरेका छन् । मन्त्री शर्माले बजेटको मध्यावधि समीक्षासम्म आईपुग्दा बजेट (लगानी) घटाउँदा आर्थिक वृद्धि (प्रतिफल) बढ्ने हिसाव सार्वजनिक गरिदिए । चालु आर्थिक वर्षको लागि गत जेठ १५ गते ल्याइएको बजेटमा ६.५ प्रतिशतको हाराहारीको आर्थिक [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट खर्च र त्यसबाट प्राप्त हुने उपलब्धी (आर्थिक वृद्धि) को रोचक हिसाव सार्वजनिक गरेका छन् ।

मन्त्री शर्माले बजेटको मध्यावधि समीक्षासम्म आईपुग्दा बजेट (लगानी) घटाउँदा आर्थिक वृद्धि (प्रतिफल) बढ्ने हिसाव सार्वजनिक गरिदिए ।

चालु आर्थिक वर्षको लागि गत जेठ १५ गते ल्याइएको बजेटमा ६.५ प्रतिशतको हाराहारीको आर्थिक वृद्धिदर हासिल हुने भनिएको थियो । त्यो बजेट ल्याउने अर्थमन्त्री विष्णु पौडेल थिए । उनले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएका थिए ।

अर्थात विष्णु पौडेलको हिसाव थियो– चालु आर्थिक वर्षमा सरकारले १६ खर्ब ३२ अर्ब ५७ करोड रुपैयाँ खर्च गर्यो भने त्यसबाट ६.५ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुन्छ ।

पौडेल अर्थमन्त्रीबाट हटे । त्यसपछि अर्थमन्त्रालयको कमान्ड संहाल्न आइपुगे ‘माओवादी जनसेना’का पूर्व डेपुटी कमान्डर जनार्दन शर्मा ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछिको समय भएकोले पौडेलले अध्यादेश मार्फत बजेट ल्याएका थिए । प्रतितिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कार्य सर्वाेच्च अदालतले असंवैधानिक भनेर खारेज गरिदियो । त्यसपछि प्रधानमन्त्री बने शेरबहादुर देउवा । प्रधानमन्त्री देउवाले नै शर्मालाई अर्थ मन्त्रालयको कमान्ड सुम्पिएका हुन् ।

अर्थमन्त्री बनेपछि शर्माले गत भदौ २५ गते प्रतिस्थापन विधेयक मार्फत बजेटको आकार घटाए । शर्माले चालु आर्थिक वर्षमा संघीय सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ खर्च गर्ने हिसाव सुनाए । र, आर्थिक वृद्धिदर भने ७ प्रतिशत हुने भनिदिए ।

चालु आर्थिक वर्षका लागि विष्णु पौडेलले ल्याएको भन्दा जनार्दन शर्माले ल्याएको बजेट १४ अर्ब ७४ करोड रुपैयाँले कम थियो । तर, आर्थिक वृद्धि भने पौडेलले भनेको भन्दा ०.५ प्रतिशतले बढी अर्थात ७ प्रतिशत गर्ने मन्त्री शर्माको घोषणा थियो ।

चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गर्ने बेलासम्म आईपुग्दा पौडेलले अध्यादेश मार्फत ल्याएको बजेट र शर्माले प्रतिस्थापन विधेयक मार्फत ल्याएर कार्यान्वयन गरेको बजेटबीच निकै फरक परिसकेको छ ।

मन्त्री शर्माले बजेटको मध्यावधि समीक्षा गर्दै चालु आर्थिक वर्षमा १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान पेश गरेका छन् । यो भनेको पूर्व अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको बजेटभन्दा १ खर्ब १ अर्ब २९ करोड रुपैयाँले कम हो । तर पनि मन्त्री शर्मा आर्थिक वृद्धिदर कम हुन्छ भनिरहेका छैनन् । उनी अझै पनि ७ प्रतिशतकै आर्थिक वृद्धि हासिल हुन्छ भन्ने जिरह गरिरहेका छन् ।

पौडेलको भन्दा १ खर्ब १ अर्ब २९ करोड रुपैयाँ कम खर्च गरेर आर्थिक वृद्धिदर ०.५ प्रतिशतले बढी गर्ने शर्माको प्रक्षेपण मिल्छ कि मिल्दैन भन्ने कुरा प्रतिक्षामै छ । अहिले नै पुष्टी भएको कुरा के हो भने पूर्व अर्थमन्त्री पौडेल र वर्तमान अर्थमन्त्री शर्मामध्ये एक जनाको हिसाव मिल्दैन । किनभने परिस्थितिमा खासै बदलाव नआएकोले लगानीको आधारमा प्रतिफल (बजेटका आधारमा आर्थिक बृद्धिदर) हासिल हुन्छ ।

Share News