नाफामा २७ बैंकः १६ बैंक अर्ब क्लबमा, कुन बैंकको प्रतिस्पर्धा को सँग ?

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासिकमा बैंकहरुले ३४ अर्ब २० करोड ८५ लाख रुपैयाँ बढी नाफा गरेका छन् । २७ वटै वाणिज्य बैंकहरुके चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणका अनुसार बैंकहरुको नाफा गत आर्थिक वर्षको सोही त्रैमासिकको तुलनामा ३ अर्ब १२ करोड रुपैयाँले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासिकमा २७ वटै वाणिज्य बैंकहरुले कुल ३१ अर्ब ८ करोड रुपैयाँ नाफा गरेका थिए । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु आर्थिक वर्षमा बैंकहरुको नाफा १० प्रतिशतले बढेको हो । यसअघि नबिल र एनआईसी एसिया बैंक नाफामा अगाडि भएको भएपनि चालु आवको दोस्रो त्रैमासिकको विवरण अनुसार भने ग्लोबल आईएमई बैंक नाफामा नम्बर वान बैंकको रुपमा देखिएको छ । ग्लोबल आईएमई बैंकले चालु आवको दोस्रो त्रैमासिकमा १५ प्रतिशतले नाफा बढाएको छ । गत आर्थिक वर्षको सोही त्रैमासमा कुल २ अर्ब ३१ करोड रुपैयाँ नाफा गरेको ग्लोबल आईएमई बैंककले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ६६ करोड रुपैयाँ नाफा गरेको छ । जुन सबै बैंकभन्दा बढी नाफा हो । यस्तै, नाफामा एनआईसी एसिया बैंक दोस्रो बनेको छ । गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६ करोड रुपैयाँ नाफा गरेको एनआईसी एसिया बैंकले चालु आवको दोस्रो त्रैमासिकमा २ अर्ब ४० करोड रुपैयाँ नाफा गरेको छ । एनआईसी एसिया बैंकको नाफा गत आवको तुलनामा १६.४७ प्रतिशतले बढेको छ । नबिल बैंक नाफामा तेस्रो बनेको छ । यसअघि नाफामा नम्बर वान बन्ने नबिल बैंक यो पटक भने तेस्रो बनेको छ । नबिलले गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १ करोड रुपैयाँ नाफा गरेकोमा चालु आवमा २ अर्ब १८ करोड रुपैयाँ नाफा गरेको छ । जुन गत आवको सोही त्रैमासिकको तुलनामा ८.२० प्रतिशत बढी हो । यी तीन वटा वाणिज्य बैंकहरुबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । तीन वटै बैंकहरुले दोस्रो त्रैमासिकमा २ अर्ब रुपैयाँ बढी नाफा गरेका छन् । यद्यपि, चालु आवको दोस्रो त्रैमासिकमा १६ वटा बैंकले १ अर्ब बढी नाफा गरेका छन् । १ अर्ब ९१ करोड रुपैयाँ नाफा गरेको राष्ट्रिय वाणिज्य बैंकदेखि १ अर्ब १ करोड रुपैयाँ नाफा गरेको माछापुच्छ«े बैंकबीच नाफामा प्रतिस्पर्धा देखिएको छ । १ अर्बदेखि साढे २ अर्ब रुपैयाँसम्म नाफा कमाउने बैकहरु १६ वटा छन् । यस्तै, ५० करोड रुपैयाँदेखि ९५ करोड रुपैयाँसम्म नाफा गर्ने बैंकहरु ११ वटा छन् । ती ११ वटा बैंकहरुबीच पनि नाफामा प्रतिस्पर्धा देखिएको छ । नाफामा सबैभन्दा कम सिभिल बैंक भएपनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने सिभिल बैंकले सबैभन्दा बढी नाफा गरेको छ । सिभिलले नाफा १४८ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा २० करोड रुपैयाँ नाफा गरेको सिभिल बैंकले चालु आवको दोस्रो त्रैमासिकमा कुल ५० करोड रुपैयाँ नाफा गरेको छ । यस्तै, ६ वटा वाणिज्य बैंकको नाफा भने घटेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आवको सोही अवधिमा ६ वटा वाणिज्य बैंकको नाफा घटेको हो ।

बैंकहरुको औषत ईपीएस १९ रुपैयाँ हुँदा हिमालयनको सबैभन्दा कम, नेटवर्थमा नेपाल बैंक अगाडि

काठमाडौं । वाणिज्य बैंकहरुको औषत प्रतिसेयर आम्दानी (ईपीएस) १९.०५ रुपैयाँ रहेको छ । बैंकहरुले सार्वजनिक गरेका गत ६ महिनाको अपरिष्कृत वित्तीय विवरण अनुसार २७ वटाको प्रतिसेयर आम्दानी औषतमा १९.०५ रुपैयाँ देखिएको हो । जुन गत वर्षको तुलनामा घटी हो । गत वर्षको पुस मसान्तमा बैंकहरुको औषत ईपीएस १९.१८ रुपैयाँ थियो । चालु आवको औषत ईपीएस अनुसार १० वटा बैंकको मात्रै ईपीएस औषत भन्दामाथि छ भने बाँकीको कम छ । समीक्षा अवधिमा अधिकांंश बैंकको ईपीएस घटेसँगै औषतमा घट्न पुगेको हो । २७ बैंकमा ११ बैंकको मात्रै ईपीएस बढेको छ भने बाँकी १६ वटा बैंकको घट्को छ । ईपीएस बढाउनेमा एनआईसी एशिया, सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आईएमई, माछापुच्छ्रे, कृषि विकास, मेगा, नेपाल एसबिआई, एनसीसी, सेञ्चुरी र सिभिल बैंक रहेका छन् । त्यस्तै, समीक्षा अवधिमा एनआईसी एशियाको सबैभन्दा बढी ईपीएस छ भने हिमालयनको सबैभन्दा कम छ । एनआईसी एशियाको प्रतिसेयर आम्दानी ४१.४३ रुपैयाँ र हिमालयनको ११.४७ रुपैयाँ छ । त्यस्तै, सेयर आम्दानी बढाउन सिद्धार्थ बैंक बढी आक्रामक देखिएको छ । बैंकले सेयर आम्दानी वृद्धिदर अन्य बैंकको तुलनामा बढी छ । गत वर्ष १४.७१ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी चालु आवको पुस मसान्तसम्ममा बढेर २५.१२ रुपैयाँ पुगेको छ । जुन १०.४१ रुपैयाँले बढी हो । सिद्धार्थ पछि सिभिल बैंक सेयर आम्दानी वृद्धि गर्नेमा आक्रामक देखिएको छ । बैंकको उक्त आम्दानी गत वर्षको तुलनामा ६.८३ रुपैयाँले बढेको छ । २०७७ पुस मसान्तमा ४.८३ रुपैयाँ मात्रै रहेको बैंकको प्रति सेयर आम्दानी २०७८ पुसमा ११.६६ रुपैयाँ पुगेको छ । तर, वृद्धिदरमा आक्रमक देखिएपनि समग्रमा उक्त आम्दानी अन्य बैंकको तुलनामा भने कम हो । त्यस्तै, २६ वाणिज्य बैंक (राष्ट्रिय वाणिज्य बाहेक) हरुको प्रतिसेयर नेटवर्थ औषतमा १५१.८० रुपैयाँ छ । नेपाल, एभरेष्ट र कृषि विकास बैंकको नेटवर्थ २०० रुपैयाँभन्दा माथि छ भने बाँकीको कम छ । यीमध्ये पनि नेपाल बैंकको सबैभन्दा बढी अर्थात २३८.१२ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ । सेञ्चुरी बैंकको सबैभन्दा कम अर्थात १२१.१९ रुपैयाँ प्रतिसेयर नेटवर्थ छ । कम ईपीएस रहेको हिमालयन बैंकको प्रतिसेयर नेटवर्थ भने १५७.०५ रुपैयाँ छ । कसको कति ?

पूँजीमा मुक्तिनाथले टप्दा ज्योति, गरिमा र महालक्ष्मीबीच रस्साकस्सी, बोनस सेयरपछि कुनको कति बढ्यो ?

काठमाडौं । राष्ट्रियस्तरका ९ विकास बैंकको बोनस सेयर वितरणपछि चुक्ता पूँजी ४ अर्ब १४ करोड ५७ लाख रुपैयाँले बढेको छ । विकास बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट वितरण गरेको बोनस सेयरपछि बैंकहरुको चुक्ता पूँजी ४ अर्ब १४ करोड रुपैयाँले बढेर ३२ अर्ब ३२ करोड १८ लाख रुपैयाँ पुगेको हो । जुन राष्ट्रियस्तरका ९ विकास बैंकको मात्रै चुक्ता पूँजी हो । यसअघि ९ वटै विकास बैंकहरुको चुक्ता पूँजी २८ अर्ब १७ करोड ६१ लाख रुपैयाँ थियो । बोनस सेयर वितरणपछि ९ वटै बैंकहरुको पूँजी बढेको हो । हालसम्म चुक्ता पूँजीमा सबैभन्दा बलियो मुक्तिनाथ विकास बैंक देखिएको छ । मुक्तिनाथ विकास बैंकको कुल चुक्ता पूँजी ४ अर्ब ८१ करोड १६ लाख रुपैयाँ रहेकोमा अब बोनस सेयरपछि बैंकको चुक्ता पूँजी ५ अर्ब ६५ करोड ७ लाख रुपैयाँ पुग्नेछ । जुन ९ वटै राष्ट्रियस्तरका विकास बैंकहरुको तुलनामा सबैभन्दा बढी हो । यस्तै, पूँजी दोस्रोमा ज्योति विकास, तेस्रोमा गरिमा र चौथोमा महालक्ष्मी विकास बैंक रहेको छ । यी बैंकहरुको पूँजी बोनसपछि क्रमशः ४ अर्ब २६ करोड ७७ लाख, ४ अर्ब २६ करोड ४ लाख र ४ अर्ब १ करोडढ ७७ लाख पुगेको छ । पूँजीमा यी तीन वटा विकास बैंकको दह्रो प्रतिस्पर्धा देखिएको छ । यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, कामना सेवा विकास बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच पुँजी वृद्धिका लागि प्रतिस्पर्धा गरिरहेका छन् । यी चार वटै विकास बैंकको पूँजी ३ अर्ब रुपैयाँमाथि छ । बोनस सेयर वितरणपछि यी चारवटा विकास बैंकहरुको चुक्ता पूँजी क्रमशः ३ अर्ब ७८ करोड १ लाख, ३ अर्ब २८ करोड ४३ लाख, ३ अर्ब १४ करोड २६ लाख र ३ अर्ब १ करोड ७ लाख रुपैयाँ पुग्नेछ । मितेरी डेभलपमेन्ट बैंकको कुल ९० करोड ३५ लाख रुपैयाँ पुगेगेको छ । जसको शाखा विस्तार ५ जिल्लामा मात्रै सीमित छ । हालको चुक्ता पूँजीको तुलनामा सबैभन्दा बढी पूँजी मुक्तिनाथ विकास बैंकको नै बढेको छ । त्यसपछि महालक्ष्मीको ६६ करोड, गरिमाको ५८ करोड, कामना सेवाको ५९ करोड, ज्योतिको ४२ करोड र लुम्बिनी विकास बैंकको ३७ करोड रुपैयाँ चुक्ता पूँजी बढेको छ । यस्तै, साँग्रिला डेभलपमेन्ट बैंकको २७ करोड र मितेरी विकास बैंकको १० करोड रुपैयाँ बढेको छ ।