काठमाडौं । बैंकहरुले फागुनदेखि लागू हुने गरी कर्जा तथा निक्षेपको नयाँ व्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले फागुन महिनामा एक वर्षे मुद्दति निक्षेपको लागि ११.०३ प्रतिशत व्याज दिने भएका छन् ।
निक्षेपको व्याज बढेसँगै कर्जाको पनि व्याज बढ्नेछ । त्यसैकारण निक्षेपको व्याज बढाउने नेपाल बैंकर्स एसोसिएसनको निर्णय सार्वजनिक भएसँगै नेपाल उद्योग वाणिज्य महासंघले व्याज बढाउन नहुने भन्दै विज्ञप्ति नै जारी गरिसकेको छ ।
तर, अब जसजसले विरोध गरेपनि व्याजदर बढिसकेको छ । बैंकिङ क्षेत्रमा तरलता अभाव देखिएको र आयात बढी भएका कारण शोधनान्तर अवस्था थेग्नै नसक्ने गरी ऋणात्मक बनेपछि नेपाल राष्ट्र बैंकले नै व्याज बढाउन बैंकर्स एसोसिएसनलाई दबाब दिएको थियो ।
व्याजदर बृद्धि भएसँगै सबै क्षेत्रको व्याज बढेको छ । तर, कर्जाको व्याजका लागि बैंकहरुले गत पुस मसान्तमा प्रकाशित गरेको आधार दरमा कति प्रिमियम लिने भन्नेले तय गर्नेछ । गत पुस मसान्तमा बैंकहरुको आधार दर कम नै भएपनि प्रिमियम बढी लिने गरेका छन् । किनभने पुस मसान्तमा बैंकहरुको आधार दर ८ प्रतिशतको हाराहारीमा थियो ।
बैंकहरुले प्रकाशित गरेको नयाँ व्याजदर अनुसार हाउजिङ, रियलस्टेट, हायर पर्चेज, निर्माण व्यवसाय कर्जा, व्यक्तिगत कर्जा र सेयरधितो कर्जाको व्याज बढी पर्ने नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारी बताउँछन् ।
‘राज्यले कम प्राथमिकतामा राखेको घरजग्गा, अटो, सेयरधितो जस्ता कर्जाको व्याज बढी हुन्छ,’ प्रमुख कार्यकारी अधिकृत अधिकारीले भने ।
नयाँ व्याजदर अनुसार नेपाल बैंकले बढीमा ११.०८ प्रतिशत व्याजमा कर्जा दिनेछ । किनभने नेपाल बैंकको गत पुस मसान्तको आधार दर ६.९२ प्रतिशत छ । सो बैंकले घरजग्गा, सेयरधितो तथा अटोलोन जस्ता बढी व्याज लिने क्षेत्रको कर्जामा आधार दरमा बढीमा ४.१६ प्रतिशत प्रिमियम लिनेछ ।
यस्तै, कृषि विकास बैंकले यस्ता क्षेत्रको कर्जा दिदाँ बढीमा १२.५३ प्रतिशत व्याज लिनेछ । किनभने पुस मसान्तमा कृषि विकास बैंकको आधार दर ७.५३ प्रतिशत छ भने उसले सबैभन्दा बढी प्रिमियम ५ प्रतिशत लिएर कर्जा दिने भनेको छ ।
नविल बैंकबाट कर्जा लिँदा भने १४.३९ प्रतिशतसम्म व्याज तिर्नुपर्ने हुन सक्छ । किनभने पुस मसान्तमा नविल बैंकको आधार दर ७.३९ प्रतिशत छ र बढीमा ७ प्रतिशतसम्म प्रिमियम लिएर कर्जा दिने भनेको छ ।
एनआईसी एसिया बैंकबाट कर्जा लिँदा भने १५.४४ प्रतिशतसम्म व्याज तिर्नुपर्ने हुन सक्छ । किनभने सो बैंकको पुस मसान्तको आधार दर ९.४४ प्रतिशत छ र सबैभन्दा बढी प्रिमियम ६ प्रतिशत लिने भनेको छ ।