४७ खर्बको बजार पुँजीकरणसँग लगानीकर्ता असन्तुष्ट, ‘अहिलेको अंक वास्तविक होइन’
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर उकालो यात्रामा छ । कम्पनीहरूको सेयर मूल्य बढ्दा बजार पुँजीकरणमा पनि नयाँ रेकर्ड कायम भइरहेको छ । पछिल्लो तथ्यांकअनुसार सेयर बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब ९० करोड रुपैयाँ छ । तर, केही लगानीकर्ताहरुले भने नेप्सेको बजार पुँजीकरण सही नभएको तर्क राख्दै आएका छन् । उनीहरूले वर्तमान सेयर बजार पुँजीकरण सच्याउनु पर्ने विश्लेषण गर्न थालेका छन् । नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष तथा लगानीकर्ता अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जालमार्फत् सेयर बजार पुँजीकरणको गणनाको विधिको विषयमा अनविज्ञता प्रकट गरेका छन् । ‘ नेप्सेमा कार्यरत विज्ञ साथीलाई अनुरोध, नेप्सेको कारोबार मूल्यको आधारमा हुने नेप्सेको बजार पुँजीकरण कति हो भनी दिनु न । नेप्सेको पुँजीकरण त कारोबार मूल्यमा हुनु पर्ने होइन ?’ उनले अहिलेको बजार पुँजीकरणको गणना विधि गलत भएको धारणा राखेका छन् । नेप्सेले कुल सूचीकृत कम्पनीको सेयर संख्या र त्यसको सेयर मूल्यको गणनाका आधारमा बजार पुँजीकरण निकाल्दै आएको छ । पुँजीकरण नै सेयर बजारको आकार हो । लगानीकर्ता केशव कोइरालाले पनि अहिलेको बजार पुँजीकरणले लगानीकर्तालाई त्रसति बनाइरहेको बताएका छन् । उनका अनुसार अहिलेको बजार पुँजीकरण वास्तविकभन्दा माथि छ । उनले उदाहरण दिँदै भनेका छन्, ‘नेपाल टेलिकमको कारोबारयोग्य करिब ८ प्रतिशत सेयरको मूल्यमा आएको उतारचढावले बजार पुँजीकरणमा ठूलो हलचल ल्याउँछ । जबकि करिब ९२ प्रतिशत सरकारसँग रहेको सेयर कारोबार नै हुँदैन । वास्तविक बजार पुँजीकरण गणना कहिले होला ?’ उनीहरूले अहिलेको बजार पुँजीकरणको विषयप्रति असन्तुष्टि पोखेका छन् । अधिवक्ता तथा सेयर बजारका जानकार समेत रहेका लगानीकर्ता ज्योति दाहालले पनि नेप्सेको बजार पुँजीकरण धेरै माथि रहेको टिप्पणी गरेका छन् । अहिलेको बजार पुँजीकरण यथार्थ नभएको टिप्प्णी गर्दै उनले भनेका छन्, ‘२०७८ मा म आफैंले गणना गर्दा बजार पुँजीकरण १४ खर्ब रुपैयाँको मात्रै थियो, आजका दिनसम्म आइपुग्दा २० खर्ब पुगेको हुन सक्छ ।’ लगानीकर्ता दाहाल सेयर बजार पुँजीकरण कारोबारको आधारमा मात्रै कामय गरिनु पर्ने बताउँछन् । ‘अहिले नेप्सेको कुल बजार पुँजीकरणलाई जीडीपीसँग तुलाना गरेर चर्चा भइरहेको छ । तर, वास्तवमा त्यस्तो होइन, अहिले बजारमा संस्थापक र सर्वसाधारणको सेयर गरि दुई किसिमको सेयर छन्, तीनीहरूको कारोबार गर्ने विधि फरक छ । सर्वसाधारण सेयर मात्रै दैनिक कारोबारमा आउँछ त्यसरी हेर्ने हो भने अहिलेको नेप्से बजार पुँजीकरण भनेको फ्लोट अर्थात् १६ खर्ब ८० अर्ब मात्रै हो,’ उनी भन्छन्, ’नेप्सेमा सूचीकृत सम्पूर्ण सेयर संख्यालाई आधार मान्ने हो भने चाँहि ४७ खर्ब ६५ खर्ब सहि हो । तर, ती सबै सेयर दैनिक कारोबारमा आउने सेयर होइनन् ।’ दाहाल उदाहरण दिँदै भन्छन्, ‘मानौं एउटा परिवारमा ५ जना सदस्य छन् त्यसमा ३ जना कमाउने छन् र २ जनाको कमाइ छैन भने परिवारको सदस्य ३ जना मात्रै भन्न त मिलेन नि नेप्सेमा सूचीकृत कुल सेयरमा संस्थापक र सर्वसाधारणको सेयर ठ्याक्कै त्यस्तै हो । देख्नलाई नेप्सेको बजार पुँजीकरण ४७ खर्ब हो तर कारोबार हुने १६ अर्ब मात्रै हो ।’ यस्तै, सेयर बजार विश्लेषक मुक्ति अर्याल पनि नेप्सेले हाल उल्लेख गरेको कुल बजार पुँजीकरण गलत भएको व्याख्या गर्छन् । उनी भन्छन्, ‘हाल नेप्सेले सूचिकृत सेयरलाई मूल्यले गुणना गर्दा जति आउँछ त्यसलाई नै बजार पुँजीकरण मान्छ । तर, संस्थापक सेयर दैनिक कारोबारमा आएको हुँदैनन् र तिनीहरूको मूल्य पनि सर्वसाधारणको भन्दा फरक हुन्छ । तर, नेप्सेले भने सर्वसाधारण सेयरको मूल्यलाई नै आधार मान्ने गर्छ, जुन गलत हो ।’ बजार पूँजीकरणको विषयमा थुप्रै लगानीकर्ताहरूले आफ्नो धारणा राखेका छन् । उनीहरूको भनाइ अलग भएपनि आशय भने एउटै छ– नेप्सेको बजार पुँजीकरण कति हो ? के भन्छ नेप्से ? लगानीकर्ताहरूको गुनासोपछि हामीले नेप्सेका प्रवक्ता मुराहरि पराजुलीलाई सो प्रश्न राख्यौं । उनले जवाफमा भने, ‘हामीले बजार पुँजीकरण कति हो भनेर पत्ता लगाउने विधि भनेको संसारभर चलेको विधि नै हो, त्यसमा कुनै शंका गर्नुपर्ने आधार म देख्दिनँ, सेयरको संख्या र सेयरको कुल मूल्यलाई गुणना गर्दा जुन अंक आउँछ, हामीले त्यही राख्ने हो । हामीले तलमाथि गर्दैनौं ।’ नेप्सेमा हाल राखिएको बजार पुँजीकरण विश्व बजारमा प्रयोग हुने विधिबाट नै निकालिएको उनी स्पष्ट पार्छन् । संस्थापक सेयरको मूल्य र पब्लिक सेयरको मूल्य फरक–फरक हुने गर्छ । तर, बजार पूँजीकरणमा भने पब्लिक सेयरको मूल्यलाई मात्रै आधार मान्ने गरिएको छ । लगानीकर्ताहरू भने यो विधि सही नभएको तर्क गर्छन् । तर, प्रवक्ता पराजुली भन्छन्, ‘बजार पुँजीकरण गणना गर्दा दुई थरी मूल्य राख्न मिल्दैन, एउटै मूल्य राख्नुपर्छ । र, अर्को कुरा संस्थापक सेयरको मूल्य माग र आपूर्तिले निर्धारण गर्दैन ।’ त्यति मात्रै होइन नेप्सेमा ट्रेडका आधारमा मात्रै बजार पुँजीकरण राख्नुपर्ने पनि लगानीकर्ताहरूको माग छ । नेप्सेले कुल बजार पुँजीकरण, फ्लोटको आधारमा बजार पुँजीकरण, सूचीकृत समूह लगायतको आधारमा दैनिक छुट्टा–छुट्टै रुपमा डाटा प्रकाशित गर्ने गरेको र उक्त तथ्यांक नेप्सेको वेवसाइटमा जुनसुकैबेला हेर्ने मिल्ने पराजुली बताउँछन् । ‘लगानीकर्ताहरूले कारोबारको आधारमा मात्रै बजार पुँजीकरण राख्न माग गर्नुभएको छ, त्यसको लागि हामीले फ्लोट मार्केट क्यापिटलाइजेसन राखेका छौं, जुन हामीले धेरै अघिबाट नै राख्दै आएका हौं,’ उनी भन्छन्, ’फ्लोट मार्केट क्यापिटलाइजेसनमा संस्थापक सेयर वा जुन सेयर ट्रेड हुँदैन त्यसको गणना गरिँदैन ।’ नेप्सेले धेरै अघिबाट नै सो काम गर्दै आएको भएपनि लगानीकर्ताहरूको ध्यान त्यसतर्फ नगएको उनी बताउँछन् । उनका अनुसार नेप्सेले कुल बजार पुँजीकरण, सेन्सेटिभ बजार पुँजीकरण, कारोबारमा मात्रै आउने सेयरको फ्लोट बजार पुँजीकरण, सेन्सेटिभ फ्लोट मार्केट क्यापिटलाइजेसन र हरेक सेक्टरको कुल बजार पुँजीकरण समेत राखिदिने गरेको छ । पछिल्लो समय नेपालको सेयर बजारको पुँजीकरणलाई नेपालको जिडिपीसँग तुलना गरेर हेर्न थालिएको छ । जसको कारण यो बहसको विषय पनि बनेको छ । नेप्सेका अनुसार हाल कुल बजार पुँजीकरण ४७ खर्ब ६५ अर्ब रुपैयाँ रहेको छ । हाल नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) ५४ खर्ब रुपैयाँको छ । नेपालको प्रक्ष्येपित जीडीपी भने ५७ खर्ब छ । नेप्सेका अनुसार हाल १३ अर्ब ४२ करोड ४२ लाख सेयर सूचीकृत छ ।
काठमाडौंका विद्यालयहरूले शिक्षा र मानविकी संकाय धमाधम बन्द गर्दै, विद्यार्थीको संकट
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रहेको विश्व निकेतनले शिक्षा संकायमा विद्यार्थी पाउन सकेको छैन । सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयको छवि बनाएको यस विद्यालयलाई शिक्षा संकायमा भर्ना हुने विद्यार्थी पाउन मुस्किल परेको हो । शिक्षा संकायमा आवश्यक संख्या ३० जनालाई मात्र छुट्याएको भए पनि विद्यालयले १० जना पनि विद्यार्थी नआएपछि अब यो संकाय सञ्चालन गर्न सक्ने अवस्था नरहेको बताएको छ । मानविकी संकायमा पनि विद्यार्थीको संख्या अझै अपुग रहेको विद्यालयले जानकारी दिएको छ । ५० जना विद्यार्थीका लागि छुट्याइएको मानविकी संकायमा पनि अहिलेसम्म मुस्किलले ३० जना विद्यार्थी मात्रै भर्ना भएका छन् । यस विद्यालयमा विज्ञान र व्यवस्थापन संकाय पढ्ने विद्यार्थीको संख्या भने थेगी नसक्नु छ । प्रधानाध्यापक हेरम्बराज कँडेल विज्ञान संकायमा ४ सय ५० जना विद्यार्थी भर्ना गर्ने योजना भए पनि ५ सय ७५ जना विद्यार्थीलाई भर्ना गरिसकेको विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले बताए । उनका अनुसार व्यवस्थापनमा झण्डै ६ सय विद्यार्थी भर्ना भएका छन् । विज्ञानमा ४ सय ५० को कोटामा प्रवेश परीक्षा दिन दुई हजार विद्यार्थी सहभागी भएका थिए । प्रधानाध्यापक कँडेल भन्छन्, ‘शिक्षा र मानविकी संकायमा विद्यार्थी पाउन समस्या छ, विज्ञान र व्यवस्थापनमा संख्या पुगेर विद्यार्थीलाई फर्काउनु परेको छ ।’ काठमाडौंको वाफलमा रहेको ज्ञानोदय माविले पनि शिक्षा र मानविकी संकायमा विद्यार्थी भर्ना नलिने निर्णय नै गरेको छ । यो संकायमा पढ्ने विद्यार्थी नै नआउने भएपछि संकाय नै बन्द गरिएको विद्यालयले जानकारी दिएको छ । ज्ञानोदयमा कक्षा ११ मा विज्ञान, कम्प्युटर साइन्स, होटल म्यानेजमेन्ट, कानून अध्ययन गराइन्छ । जसमध्ये कम्प्युटर साइन्स, होटेल म्यानेजमेन्टमा विद्यार्थीको चाप बढी छ । स्कुलले साइन्स, सिभिललाई निश्चित कोटा छुट्याएको छ अर्थात एउटा कक्षामा ४० देखि ५० विद्यार्थीलाई भर्ना गरिन्छ । यसमा विद्यार्थीको संख्या पुरा भइसकेको छ । प्रधानाध्यापक विष्णु घिमिरे रिमाल विद्यालयका प्रधानाध्यापक विष्णु घिमिरे रिमाल विद्यार्थी र अभिभावकले सकीनसकी भएपनि विज्ञान र व्यवस्थापन पढ्न खोज्दा शिक्षा र मानविकीमा विद्यार्थी नपाएको बताउँछिन् । काठमाडौंको मध्यबानेश्वरमा रहेको रत्नराज्य लक्ष्मीमा पनि समस्या उस्तै छ । शिक्षा, मानविकी व्यवस्थापन, विज्ञान, व्यवस्थापन र कम्प्युटर साइन्स पढाइ गराउँदै आएको विद्यालयले शिक्षा र मानविकीमा विद्यार्थी पाउन नसकेको जानकारी दिएको छ । यो विद्यालयले सबै संकायमा गरी ३ सय ५० जना विद्यार्थीमात्र भर्ना लिने योजना बनाएको छ । विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले शिक्षा संकायमा ४० जना विद्यार्थी कोटा भएपनि अहिलेसम्म २२ जना विद्यार्थीमात्र भर्ना भएको बताए । बाँकी अरु संकायमा भने विद्यार्थीको संख्या बढी छ । प्रधानाध्यापक रामाशिष यादव दरबार हाइस्कुलले पनि शिक्षा संकायमा अध्ययन गर्ने विद्यार्थी पाएको छैन । गथवर्ष विद्यार्थी नहुँदा शिक्षा संकाय सञ्चालन नै भएन । यो वर्ष पनि अहिलेसम्म विद्यार्थी भर्ना हुन नआएको स्कुलका सहायक प्रधानाध्यापक पदम बटालाले बताए । व्यवस्थापनमा भने विद्यार्थीको चाप छ । चारवटा सेक्सनमा २ सय विद्यार्थी भर्ना गर्ने योजना अनुरुप अहिले भर्ना कार्य जारी रहेको विद्यालयले जनाएको छ । बागबजारमा रहेको पद्मदोय माविमा पनि शिक्षा संकायमा विद्यार्थीको संख्या निकै कम छ । अन्य संकायमा विद्यार्थीको चाप भएपनि शिक्षामा विद्यार्थी नै भर्ना नभएको स्कुलकी प्रधानाध्यापक शर्मीला पोखरेलले बताइन् । सामुदायिक विद्यालयमा मात्र होइन् । निजी विद्यालयमा पनि कक्षा ११ मा अहिले भर्ना भएका विद्यार्थीको रुचि शिक्षा र मानविकी संकायमा घट्दो छ । एसईईपछि विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा लगायतका विषय अध्ययन गर्ने विकल्प विद्यार्थीलाई हुन्छ । तर, अधिकांश विद्यार्थीको रोजाइ विज्ञान र व्यवस्थापन भइरहेको विज्ञहरू बताउँछन् । काठमाडौं उपत्यकाका धेरैजसो विद्यालयले कक्षा ११ मा शिक्षा र मानविकी संकायमा विद्यार्थी पाएका छैनन् । ३० जना सिट संख्या रहेको विद्यालयमा मुस्किलले २० जना पनि पुग्दैनन् । यी संकायमा विद्यार्थी नपाएर धेरैजसो विद्यालयले संकाय नै हटाइसकेका छन् । विकासन्युजले काठमाडौं उपत्यकाका केही विद्यालयमा गरेको खोजअनुसार अधिकांश विद्यालयमा शिक्षा र मानविकी संकायमा विद्यार्थी पाउन मुस्किल छ । मानविकी र शिक्षामा किन विकर्षण ? अहिले विद्यार्थी आफ्नो क्षमता भन्दा देखासिकीले विषय रोज्ने गरेको शिक्षाका जानकारहरू बताउँछन् । साथीले रोजेको विषय रोज्ने, साथीले रोजेको स्कुल पढ्ने हुँदा विद्यार्थीले आफनो रुचि नै भुल्ने गरेको पाइन्छ । समाजले मानविकी र शिक्षा पढ्ने विद्यार्थीलाई कमजोर विद्यार्थीका रुपमा हेर्ने गरेकाले पनि यी संकाय पढ्ने विद्यार्थीको रोजाइमा नपरेको विश्व निकेतनका प्रधानाध्यापक हेरम्ब कँडेल बताउँछन् । ‘उत्कृष्ट पढ्नु प¥यो, मनैदेखि मिहिनेत गरेर पढ्नुप¥यो, जुनसुकै विषयमा पनि स्कोप छ, उनी भन्छन्, ‘शिक्षा विषय पढेको विद्यार्थी भोलिको राम्रो शिक्षक बन्न सक्छ, मानविकी विषय बढेको विद्यार्थी भोलि राम्रो एनजिओ, आइएनजीओको हाकिम बन्न सक्छ, कुनै पनि विषय आफैंमा कमजोर हुँदैन । रत्नराज्य माविका प्रधानाध्यापक यादव पनि शिक्षा र मानविकीलाई कमजोर ठान्नेहरू शिक्षालाइ बुझ्न नसकेको व्यक्ति भन्छन् । उनी अहिले पनि यिनै विषय पढेका दक्ष व्यक्ति बजारमा पाउन मुस्किल हुने भन्दै विद्यार्थीलाई यी विषयमा अध्ययन गर्न आग्रह गर्छन् । गाउँ गाउँमा क्याम्पस काठमाडौं उपत्यकाका विद्यालय तथा क्याम्पसमा शिक्षा र मानविकी पढ्ने विद्यार्थी घट्नुको एउटा कारण गाउँगाउँमा विद्यालय खोल्नु पनि भएको कतिपयको भनाइ छ । अहिले गाउँ–गाउँमा कक्षा ११ र १२ सम्म पढाइ हुने धेरै विद्यार्थी छन्, शिक्षा र मानविकी पढ्नेहरू उतै पढछन् । प्राविधिक शिक्षा वा विज्ञान, व्यवस्थापन विषय पढ्न चाहने विद्यार्थीमात्र सहर आउने र बाँकी गाउँमै पढ्ने भएकाले पनि यो संकायमा विद्यार्थी संख्या विद्यालयमा कमी देखिएको हुन सक्ने ज्ञानोदयकी प्रधानाध्यापक विष्णु घिमिरेले बताइन् । कक्षा ११ मा छनोट गरेका विषयले समग्र करियरकै ढोका खुल्ने भएकाले विषय रोज्दा ध्यान दिन उनी विद्यार्थीलाई आग्रह पनि गर्छिन् । व्यवस्थापन र विज्ञान किन रोजाइमा ? कुनैपनि विषय आफंैमा कमजोर हुँदैन । जुनसुकै विषयको विज्ञता अथवा दक्ष जनशक्ति अहिले पनि हरेक क्षेत्रमा आवश्यक छ । शिक्षादेखि चिकित्ससम्मका विशेषज्ञ व्यक्ति पाउनै मुस्किल छ । विभिन्न ठाउँको व्यवस्थापकीय तहमा तथा अन्य उद्योगमा पनि व्यवस्थापन पढेका विद्यार्थीले नेतृत्व गर्ने अभ्यास हुँदा व्यायस्थापन क्षेत्रमा विद्यार्थीको आकर्षण बढेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा बताउँछन् । बैंक तथा वित्तिय संस्था रोजगारी र माथिल्लो क्षेत्रमा कम्प्युटर तथा सूचना प्रविधि लगायतका विषय अध्ययन गर्नको लागि पनि विद्यार्थी व्यवस्थापन रोज्ने गरेको उनको भनाइछ । यस्तै, प्लसटुपछि डाक्टर, इन्जिनियर पढ्न चाहने विद्यार्थी धेरै भएकाले विद्यार्थीको रोजाई विज्ञान पर्ने गरेको छ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका पहिलो डीन डा. प्रचण्ड प्रधान अहिले बजारमा व्यापार व्यवसाय, उद्योगधन्दामा पनि कामदारको माग बढी भएकाले विद्यार्थीको झुकाव यतातिर धेरै रहेको बताउँछन् । ‘व्यवस्थापनको क्षेत्र ठूलो छ, त्यहाँ स्माट वर्क गर्न पाइन्छ,’ उनी भन्छन्,‘ आज काम गरेर भोलि आफ्नै कम्पनी निर्माण गर्छु भन्न पनि मिल्ने भएकाले यो क्षेत्रमा विद्यार्थीको रुचि बढेको हो ।’ तर, शिक्षा र मानविकी पढेका राम्रा सक्षम कामदारको महत्व भने अहिले पनि बजारमा रहेको उनी बताउँछन् ।
करोड कमाउने पत्रकार, पारिश्रमिक नपाउने पत्रकार
नयाँ पुस्ता नेपाली पत्रकारितामा चुनौतीका चाङभित्र सम्भावनाका सपनाहरू देखिरहेको छ । पत्रकारिता अध्ययन गरेर समाचार कक्षमा पुगेको युवा जगत पेसा र आफ्नोे भविष्यप्रति चिन्तित त देखिन्छ नै त्योभन्दा बढी अठोट र संकल्पका साथ सञ्चार कर्ममा होमिएको छ । सञ्चार माध्यममा पत्रकारिता नपढेकाहरूको अस्वस्थ हालीमुहाली, नागरिकमा पत्रकारिताको अभ्यासप्रति बढ्दै गएको वितृष्णा र पत्रकारिता भित्रै पनि को पत्रकार ? कस्तो पत्रकार ? र पत्रकारले सञ्चार माध्यमबाट पाउने पारिश्रमिक लगायत विषयलाई लिएर पत्रकारिता पढेर यो पेसा रोजेकाहरू ठूलो दुविधामा देखिन्छन् । कक्षाकोठामा बसेर ‘फाइभ डब्लू, वान एच (के ? कहाँ ? कहिले ? को ? किन ? कसरी ?) को अध्ययन गरेका विद्यार्थीहरू समाचार कक्षमा पुग्दा ठूलो अलमलमा पर्छन् । आफूले पढेको सैद्धान्तिक ज्ञानलाई संकटमा राखेर पेसा रोज्ने र भविष्य खोज्ने मनसायमा पत्रकारहरू छन् । कक्षा कोठामा सञ्चार माध्यमको प्राथमिकता ‘भ्वाइस अफ दि भ्वाइसलेस’ अर्थात् आवाज विहीनहरूको आवाज पढेर समाचार कक्षमा पुगेका विद्यार्थीहरूले नेता र व्यवसायीको पछ्यौरी समात्ने वातावरण सिर्जना भइरहेको छ । पेसाका आधारभूत मूल्य, मान्यता र सिद्धान्तहरू भुलेर ‘जसोजसो पण्डित बाजे उसैउसै स्वाहा’को परिस्थिति पत्रकारितामा बनिरहेको छ । कमाउनेहरूले मनग्य पत्रकारिताबाटै कमाइरहेका छन् । तर, केहीले महिनाभरि काम गरेको पारिश्रमिक पनि नपाउने बाध्यता बनिरहेको छ । त्यसका बीच पनि ‘एक पत्रकार एक अनलाइन सञ्चार माध्यम’ को अभ्यासले थप पत्रकारिताको गरिमा र छवि धमिलो पारेको छ । पत्रकारिताप्रति हेर्ने आम जनमानसको दृष्टिकोणमा बदलाव आएको छ । पत्रकारहरू व्यावसायिक बन्न नसक्दा पत्रकारिताको धर्म गुमिरहेको छ । अहिले नेपाली पत्रकारिता बाटो बिराएको बटुवासरह भएको छ । यो चुनौती र जोखिमका बीच पत्रकारले पृथक र फरक ढंगबाट अगाडि बढ्नुपर्ने आजको आवश्यकता हो । ‘कालो बादलभित्र चाँदीको घेरा हुन्छ’ भनेजस्तै नेपाली पत्रकारितामा पनि त्यो किसिमको अवसर र सम्भावनाहरू प्रयाप्त छन् । अब कस्तो पत्रकारिता ? सूचना प्रविधिको विकास र विस्तारले संसार ‘ग्लोबल भिलेज’का रूपमा परिचित छ । सूचनाले तीव्ररूपमा मारेको फड्कोकै कारण सञ्चार माध्यमका पाठक, दर्शक तथा स्रोता पनि फेरिन थालेका छन् । सूचना प्रविधिमा आफूलाई अभ्यस्त बनाउनु जति नै चुनौती देखिन्छ त्योभन्दा धेरै गुणा बढी त्यसमा अवसर पनि छ । जसरी प्रजातान्त्रिक प्रक्रियापछि नेपाली सञ्चार माध्यमको विकास र विस्तार भयो । त्यसले नेपाली समाजलाई सुसूचित गर्ने, सार्वजनिक चेतना र सामाजिक न्यायको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्यो । एक चरणबाट माथि उठिरहेको नेपाली पत्रकारितामा जेजति चुनौतीहरू देखा परेका छन्, अब सूचना प्रविधिको विकास र विस्तारले ती चुनौतीलाई थप बढावा दिने मात्रै होइन चुनौतीलाई सामना गर्दै अवसरका ढोकाहरू पनि पर्याप्तरूपमा खुला गरेको छ । रिपोर्टिङका लागि एउटा कापी र कलममा अडिएको नेपाली पत्रकारिता अब रेडियो, टेलिभिजन र छापा माध्यमको विकल्प खोजिरहेको छ । जसरी विश्वमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग बढिरहेको छ । यसले नेपाली पत्रकारितालाई थप चुनौती सिर्जना गरेको छ । कापी र कलम लिएर रिपोर्टिङमा निस्कने र साँझ कार्यालय फर्केर चार/पाँच सय शब्दको समाचार बनाउने रिपोर्टरका लागि एआई ठूलो चुनौती र जोखिम बनेर आइरहेको छ । लेखक । सूचना प्रविधिको तीव्र विकासले पत्रकारिताको क्षेत्रलाई नयाँ आयाम थपेको छ । इन्टरनेटको पहुँच बढ्दै जाँदा डिजिटल पत्रकारिता र अनलाइन समाचार पोर्टलहरूको संख्या दिनप्रतिदिन बढिरहेको छ । प्रेस काउन्सिलका अनुसार नेपालमा साढे चार हजार अनलाइन न्युज पोर्टल दर्ता भइसकेका छन् । हो, कुनै पनि क्षेत्रको गुणात्मक विकास र विस्तारमा केही मात्रामा संख्याले पनि अर्थ राख्छ । तर, त्यो संख्याबीच भइरहेको अस्वस्थ प्रतिस्पर्धाले समग्र पत्रकारिता क्षेत्रको धज्जी उडाउने काम हुन्छ । द्रूत गतिमा बढ्दै गइरहेको इन्टरनेटको पहुँच र स्मार्टफोनको प्रयोगले डिजिटल पत्रकारिताको दायरा थप फराकिलो बनिरहेको छ । यो सम्भावनाका बीच पत्रकारले आफूलाई त्यसमा अभ्यस्त बनाउनु आजको आवश्यकता हो । इन्टरनेटको सहज आपूर्तिसँगै अनलाइन प्लेटफर्म तथा सामाजिक सञ्जालको वर्चस्वले नागरिक पत्रकारिता अर्थात मोबाइल पत्रकारिताले पत्रकारको आधा काम गर्न थालिसकेको छ । अहिले प्रत्येक व्यक्तिको हात–हातमा स्मार्ट फोन भएकै कारण अब विगतको जस्तो पत्रकारले प्रदान गर्ने सूचनाका लागि दिनभर कुरेर बस्ने स्थिति रहेन । तत्काल घटनाको बारेमा जानकारी हुने अवस्था सिर्जना भइसकेको छ । कुनै ठाउँमा ठूलो बाढी आयो भने अब पाठकले सञ्चार माध्यमको समाचार सुनेर र वा पढेरै मात्रै जानकारी लिने अवस्था रहेन । घटना भएको तत्कालै स्थानीयले सामाजिक सञ्जालमा तस्बिर, भीडीयो वा स्टाटसहरू राख्न सक्छन्, राखिरहेका पनि छन् । त्यसमार्फत हजारौंले सूचना पाउँछन् । त्यसैले अब त्यो सूचनाका लागि पत्रकार र सञ्चार माध्यमको समाचारलाई कुर्नुपर्ने दिनको अन्त्य भइसकेको छ । एकातर्फ नवीनतम् प्रविधिको प्रयोगले समाचारको संकलन, सम्पादन, र प्रसारणमा नयाँ आयाम दिएको छ भने अर्कोतर्फ पत्रकारिता पेसालाई चुनौती पनि थपेको छ । प्रविधिको प्रयोग र व्यवस्थापनमा दक्षता हासिल गर्न कठिनाइसँगै पत्रकारको काम नागरिकले गरेपछि एउटा पत्रकारको काम के बाँकी रह्यो भन्ने पनि प्रश्न आउँछ । जसरी समाचारमा ‘फाइभ डब्लू, वान एच’को प्रयोग गरिन्छ । अब एउटा पत्रकारका लागि समाचार तथा सूचना सम्प्रेषणमा फाइभ डब्लूभन्दा वान एचलाई बढी प्राथमिकता दिनुपर्ने देखियो । फाइभ डब्लूको काम नागरिक पत्रकारिताले थालिसकेपछि अब पत्रकारको काम त्यो घटना कसरी भयो ? भन्ने विषयको गहिराइमा पुगेर अध्ययन अनुसन्धान गरेर बाहिर ल्याउन सक्ने खुवी र क्षमता चाहिन्छ । अहिले भइरहेको नागरिक पत्रकारिता बढी गलत र भ्रमित छ । त्यो पनि समाजका लागि थप चुनौतिपूर्ण छ । नागरिक पत्रकारिता भ्रमित र व्यक्तिगत स्वार्थका लागि अगाडि बढिरहँदा अब पत्रकारिता अनुसन्धानात्मक र तथ्यगत हुन जरुरी छ । पत्रकारहरूले स्रोतको सत्यापन गर्ने प्रविधि र पद्धतिहरूमा दक्षता हासिल गर्नुपर्छ । तथ्यपरक र अनुसन्धानात्मक रिपोर्टिङले मात्र सार्वजनिक विश्वसनीयता कायम गर्न सकिन्छ । यसका लागि अब पत्रकारको क्षमता अभिवृद्धि तथा तालिममा जोड दिन सक्नुपर्छ । पत्रकारिता पढाउने शैक्षिक संस्थाहरूले पनि सीप विकास तथा व्यवहारिक शिक्षा तथा आधुनिक प्रविधि र नवीनतम् पाठ्यक्रमहरूको विकासमा केन्द्रित हुनुपर्ने देखिन्छ । बहुआयामिक बन्नुपर्छ पत्रकार अङ्ग्रेजीमा एउटा उखान छ, ‘ज्याक अफ अल, मास्टर अफ नन्’ अर्थात् सबै कुरा जान्ने तर विज्ञ कुनै पनि विषयमा नभएको । अब पत्रकारितामा यो उखान विफल भइसकेको छ । अब सबै विषय जान्ने, बुझ्ने र सोही विषयमा विज्ञता हासिल गर्न सक्ने ल्याकत पत्रकारले राख्न सक्नुपर्छ । हो, रिपोर्टिङका क्रममा नजानेको, नबुझेको विषयलाई सम्बन्धित सरोकारवालासँग सोधपुछ गरेर सही र तथ्यपरक विषयवस्तु समाचारीय शैलीमा प्रस्तुत गर्ने छुट पत्रकारलाई छ । तर, एउटा रिपोर्टरलाई सधैं रिपोर्टर बनिरहने छुट भने हुँदैन । मलाई आउँदैन, म जान्दिनँ, म बुझ्दिनँ र सक्दिनँ भन्ने छुट सधैं हुँदैन । ‘वान म्यान आर्मी’को भूमिका एउटा पत्रकारले निर्वाह गर्न सक्नुपर्छ । समाचार लेख्ने, सम्पादन गर्ने, प्रकाशन तथा प्रसारण गर्ने मात्रै होइन, त्यो समाचारलाई आवश्यक पर्ने तस्बिर खिच्ने, तस्बिर बनाउने, भीडीयो खिच्ने, भीडीयो एडिट गर्नेदेखि समाचार सामग्रीलाई ग्राफिक्स बनाएर मल्टिमिडियामार्फत पनि प्रसारण गर्न सक्ने क्षमता एउटा पत्रकारमा हुन जरुरी छ । जब एउटा पत्रकारले एउटा रिपोर्ट लेखेर मेरो काम पाक्यो भन्ने बुझाइ राख्छ, त्यो पत्रकारिताको दीगोपना हुन असम्भव हुन्छ । समयसँगै पत्रकारले आफूलाई परिस्कृत बनाउन जरुरी हुन्छ । भोलि आउन सक्ने सम्भावित प्रविधि, चुनौती र जोखिमका लागि पत्रकार आजै सजग र त्यो चुनौतीलाई सहजै सामना गर्न सक्ने क्षमता राख्न सक्नुपर्छ । त्यसले पत्रकारलाई विभिन्न माध्यम र विषयमा काम गर्न सक्षम त बनाउँछ नै समाचारको गुणस्तर र प्रभावकारिता बढाउन पनि मद्दत पुग्छ । पछिल्लो समय बिट पत्रकारिताले एउटा लय समातेको छ । राजनीतिक, आर्थिक, खेलकुद र मनोरञ्जनलगायत बिट पत्रकारिताको अभ्यास नेपाली सञ्चार माध्यममा बढिरहेको छ । पत्रकारहरू पनि सोही ढंगले काम गरिरहेका छन् । तर, समस्या के सिर्जना भइरहेको छ भने आर्थिक पत्रकारिता गर्ने एउटा रिपोर्टरलाई खेलकुदको समाचार लेख्न आउँदैन, राजनीतिक पत्रकारिता गर्ने एउटा पत्रकारलाई आर्थिक समाचार लेख्न आउँदैन । बिट पत्रकारिताले पत्रकारलाई कमजोर र संकुचित बनाइरहेको छ । यो एउटा चुनौतीका रूपमा देखा परेको छ । एउटा पत्रकारले आर्थिक, सामाजिक, राजनीतिक, खेलकुद र मनोरञ्जन लगायत जुनसुकै क्षेत्रको सूचना राख्ने मात्रै होइन, त्यसलाई प्रभावकारीरूपमा समाचारीय शैलीमा सम्प्रेषण गर्न सक्ने क्षमता राख्न सक्नुपर्छ । विश्व महामारीका रूपमा फैलिएको कोराना भाइरसले नेपाली सञ्चार माध्यममा पनि ठूलो असर गर्यो । कोरोनाको प्रत्यक्ष मारमा नेपाली छापा माध्यम परे । परिणामस्वरूप धेरै पत्रकारले रोजगारी गुमाए । छापा माध्यमबाट निकालिएपछि केहीले आफ्नै अनलाइन न्युज पोर्टल खोले । केही अनलाइन मिडियामा काम गर्न थाले । तर, केही भने बेरोजगार बस्न विवश बने । किनकि छापामाध्यमको बानी परेका उनीहरू अनलाइन न्युज पोर्टलमा ‘एडजस्ट’ हुन सकेनन् । कारण उनीहरूसँग भएको क्षमताको कमी नै थियो । अमेरिकी पत्रकार एडवार्ड आर मुर्रोले भनेका छन्, ‘एउटा पत्रकार सधैं भोलिका लागि चिन्तित हुन्छ ।’ हो, यो चिन्ता र चिन्तन नेपाली पत्रकारमा पनि चाहिन्छ । एउटा पत्रकार छापा, अनलाइन र प्रसारण माध्यमसँगै मल्टिमिडियामा पनि पोख्त हुन जरुरी छ । लेखन, फोटोग्राफी, भीडीयो उत्पादनसँगै प्राविधिक ज्ञान, सीप र दक्षता राख्न सक्ने पत्रकार आजको आवश्यकता हो । पत्रकारिताका लागि जनसम्पर्क अर्थात् जनसम्बन्ध अर्को महत्वपूर्ण विषय हो । एउटा पत्रकारका लागि नदिको बगरमा गिट्टी कुट्नेदेखि सदनमा बुट बजाउनेहरूसँग सुमधुर सम्बन्ध आवश्यक हुन्छ । स्रोतसँगको बलियो सम्बन्ध नै एउटा पत्रकारको पुँजी हो, स्ट्रेन्थ हो । विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूसँगको सम्बन्ध विस्तारले एउटा पत्रकारले समाचार ब्रेकिङमार्फत् आफ्नो छवि बदल्न सक्छ । जबसम्म सत्ता र भत्ताको लोभमा पत्रकार पर्दैन त्यसपछि मात्रै पत्रकारिता बाँच्छ । नागरिकले न्याय पाउँछन् । समस्याले निकास पाउँछ । कमाउने विविध बाटा मेरा एक जना मित्र एउटा राष्ट्रिय दैनिक पत्रिकामा काम गर्नुहुन्छ । एकदिन चियागफमा उहाँले मसँग भन्नुभयाे, ‘तलब नपाएको सात महिना भयो, जिविकोपार्जन गर्न पनि गाह्रो भयो ।’ मैले प्रश्न गरेँ ? यत्तिका महिनासम्म तलब नपाएर कसरी चल्दैछ जीवन ? उहाँले जवाफमा भन्नुभयाे, ‘बिहान र बेलुका एउटा अनलाइनमा समाचार अपटेड गर्छु, अलिकति त्यहाँबाट आउने पैसाले काम चलाइरहेको छु, पत्रिकामा काम छोडौं भने पनि सात महिना काम गरेको तलब नपाइने डर, पाइन्छ कि भन्ने आशमै काम छाड्न सकेको छैन ।’ मेरा ती मित्र सात महिनाको तलबमा अल्झिएका छन् । ३० हजार रुपैयाँ तलब पाउने उनी २ लाख १० हजार रुपैयाँ तलब आउँछ र काम छोडौंला भन्ने योजनामा छन् । उनको अधिकांश समय तलब पाउने आसमै बितिरहेको छ । उनले न त्यो पैसाको माया मार्न सकेका छन् नत अर्कै ठाउँमा ‘जम्प’ गर्न सकेका छन् । त्यति लामो समय अर्को कुनै काममा प्रयोग गरेको भए उनले त्योभन्दा बढी कमाउन सक्थे । तर, उनले त्यो जोखिम मोल्न चाहेनन् । पत्रकारिता आफैंमा ठूलो जोखिम पनि हो । एउटा पत्रकारमा शीघ्र निर्णय लिन सक्ने क्षमता र खुबी पनि हुनुपर्छ । ताकी उसको त्यो निर्णय र जोखिमले भविष्यको बाटो देखाओस् । मेरा ती मित्रको मर्म सुनेपछि मैले वार्षिक करोडौं कमाउने केही समयअघि मात्रै बीबीसीबाट बाहिरिएका पत्रकार ह्यू एडवार्डलाई सम्झिएँ । जसले एकै वर्ष साढे चार लाख पाउण्ड तलब बुझ्छन् । त्यो भनेको नेपाली साढे सात करोड रुपैयाँ हो । उनको मासिक तलब नै सवा ६१ लाख रुपैयाँ पर्छ । पत्रकार एडवार्डको पत्रकारिताको प्रशंसा संसारले गर्छ । उनको प्रस्तुति अवलम्बन तथा आत्मसात् गर्ने पत्रकारको जमात ठूलो छ । हामीले पत्रकारिता पेसालाई पैसा नकमाउने पेसाका रूपमा बुझ्यौं । समाजले पनि त्यही किसिमले बुझ्यो । हामी पनि सोही ढंगले प्रस्तुत भयौं । परिणामस्वरूप सरकारले समेत पत्रकारको न्यूनतम पारिश्रमिक २४ हजारभन्दा बढाउन सकेन । नेपाली पत्रकारिता पत्रकारको न्यूनतम पारिश्रमिकमै अल्झिएको छ । पत्रकारितालाई नकमाउने पेसा र सेवा गर्ने पेसा भनेर जुन किसिमबाट व्याख्या गरिएको छ, त्यो गलत छ । यो अपव्याख्यालाई सुधार गर्न आवश्यक छ । सञ्चार प्रतिष्ठानमा श्रमजीवी पत्रकारले पाउने न्यूनतम पारिश्रमिक रकम निर्धारण गरेर आवश्यकताअनुसार सरकारलाई सिफारिस गर्ने उद्देश्य राखेर गठन भएको न्यूनतम पारिश्रमिक निर्धारण समिति वेवारिसे बनेको छ । यो समितिलाई सञ्चार प्रतिष्ठानमा काम गर्ने श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गर्ने अधिकार छ । यसरी न्यूनतम पारिश्रमिक निर्धारण गर्दा उनीहरूको पद र त्यस्तो पदको तहगत वर्गीकरणसमेत गर्नुपर्ने जिम्मेवारी तोकिएको छ । तर, हालसम्म यो समितिले पत्रकारले पाउनुपर्ने तलब कति हो ? निर्धारण गरेको तलब पाइरहेका छन् वा छैनन् ? भन्ने विषयमा जानकारी छैन । पत्रकारले आफ्नो पारिश्रमिक बढाउने विषय उसको व्यक्तिगत क्षमता र अब्बलतामा भर पर्छ । नेपाली पत्रकारितामा सञ्चार प्रतिष्ठानको आर्थिक हैसियत तथा आम्दानीले पत्रकारको तलब निर्धारण हुने अभ्यास छ । विज्ञापनमा ह्रास आउँदा पत्रकारको तलब तथा खाइपाई आएको सुविधा कटौती हुने गलत अभ्यास छ । जुन अभ्यास नेपालमा मात्रै छ । नेपाल बाहेक कुनै पनि देशका पत्रकारले तलब पाएनौं भनेर सडकमा उत्रिनु पर्दैन । जसको प्रत्यक्ष असर पत्रकारिताको गुणस्तरमा परिरहेको छ । सञ्चार माध्यमले पनि अब विविध व्यावसायिक मोडेलहरूको विकासमा जोड दिएर परिस्कृत ढंगको पत्रकारितामा प्राथमिकता दिनुपर्छ । पछिल्लो समय एआईको विकास र विस्तारले पत्रकारिता पेसा नै जोखिममा रहेको धारणा अधिकांशले राखिरहेका छन् । तर, एआईले पत्रकारलाई बेरोजगार बनाउने होइन, उल्टै रोजगारी प्रदान गर्ने देखिन्छ । हो, कुनै सीप तथा क्षमता नभएका पत्रकारहरूको जागिर एआईले पक्कै पनि खाइदिन्छ । तर, जोसँग सीप र क्षमता छ उसलाई एआईले काम लगाउँछ । र, पत्रकारले चाहेको पारिश्रमिक प्रदान गर्छ । अबको केही वर्षपछि प्रत्येक सञ्चार माध्यमले आफ्नै एआई राख्न सक्छन् । अब त्यो एआईका लागि पत्रकारले काम गर्नुपर्ने हुन सक्छ । अब नेताको भाषण सार्ने, एउटा कार्यक्रमको हार्ड न्यूज लेख्ने वा ‘ल्यापडग’ पत्रकारिताको अन्त्य हुँदैछ । जब पत्रकारले आफूलाई बिक्ने बनाउन सक्ने क्षमताको विकास गर्न सक्छ, त्यसपछि मात्रै उसले चाहेको पारिश्रमिक पाउन सक्छ । नेपालमा मात्रै होइन, अन्तर्राष्ट्रियरूपमा पनि उसको माग हुन्छ । अहिले पत्रकार कुनै पनि सञ्चार माध्यमसँग आबद्ध नभएर पनि काम गर्ने अभ्यासले तीव्रता पाउँदैछ । स्वतन्त्र कन्टेन्ट क्रियटर भएर पत्रकारले मनग्य आम्दानी गरिरहेका छन् । जसले अन्तर्राष्ट्रियरूपमा आफूलाई बलियो किसिमले चिनाउन सहयोग गर्छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसले धेरै पत्रकारको जागिर गुमे पनि त्यो संकटको बेला प्रविधिका आएको विकासले पत्रकारलाई सम्भावनाका धेरै ढोकाहरु खुला गर्यो । अहिले विश्वव्यापी रूपमा सबस्ट्याक र सुपरकाष्ट जस्ता स्वतन्त्र प्लेटफर्महरूले सीप, क्षमता र कन्टेन्ट क्रियसन गर्न सक्ने पत्रकारलाई गज्जबको अवसर प्रदान गरिरहेका छन् । जहाँ तपाईंले चाहेको विषयवस्तु आफैं पोष्ट गर्न सक्नुहुन्छ । र, तपाईंसँग भएको कला बेच्न सक्नुहुन्छ । तपाईंको कन्टेन्ट पाठकले पैसा तिरेर पढ्न सक्छन् । पछिल्लो समय निकै चर्चा पाएको यो एउटा अन्तर्राष्ट्रिय प्लेटफर्म हो । अक्सफोर्ड विश्वविद्यालय र रोयटर्स इन्स्टिच्युटको संयुक्त प्रयासमा भएको एउटा अध्ययनले पछिल्लो समय सञ्चार माध्यमको आम्दानीको स्रोतमा परिवर्तन आइरहेको छ । विगतमा विज्ञापनमा केन्द्रित हुने सञ्चार माध्यमहरू अब मेम्बरसिपमा जान थालेका छन् । विभिन्न सञ्चार माध्यमका प्रकाशक तथा प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल तथा अन्तर्क्रिया गरी एउटा अध्ययन सार्वजनिक गरेको छ । सो अध्ययनले अब सञ्चार माध्यमका समाचार सामग्री सदस्यतामा आधारित हुनुपर्ने निष्कर्ष निकालेको छ । सो सर्वेक्षणमा सहभागी प्रकाशकहरूले सञ्चार माध्यमको आम्दानीको प्रमुख स्रोत नै सदस्यहरू भएको धारणा राखेका छन् । सन् २०२० को तुलनामा मेम्बरसिपबाट हुने आम्दानमा ७२ प्रतिशतले बढेको सो अध्ययनमा उल्लेख छ । विज्ञापनबाट हुने आम्दानी भने ८१ प्रतिशतले घटेको छ । त्यसैले पनि अब अडियन्सलाई आकर्षित गर्नका लागि पत्रकारले गुणस्तरीय कन्टेन्ट क्रियट गर्नु अपरिहार्य छ । आफ्नो कन्टेन्ट अडियन्सले किन पढ्ने ? केका लागि पढ्ने ? भन्ने विषयमा पत्रकार अगाडि नै जानकार हुनुपर्छ । निष्कर्ष प्रविधि असाधारण गतिमा अगाडि बढ्दैछ । हामीले यसलाई आत्मसात र अवलम्बन नगर्नुको विकल्प छैन । दिनप्रतिदिन फेरिने प्रविधिसँग हामीले खेल्नैपर्छ । गिद्धे प्रेसबाट अगाडि बढेको नेपाली पत्रकारिता अब डिजिटल युगमा फड्को मार्दैछ । विगतका वर्षहरूमा एउटा कापी र कलमको भरमा गरिने रिपोर्टिङ गरेर हार्डन्यूज लेख्ने र साँझ परेपछि घर फर्किने छुट अब पत्रकारलाई छैन । सञ्चार माध्यमबीच भइरहेको प्रतिस्पर्धालाई मात्रै होइन पत्रकार–पत्रकारबीच पनि अब प्रतिस्पर्धाको दिन सुरु भइसकेको छ । त्यसका लागि हामी अब तयार बन्नुपर्छ । व्यावसायिक र राजनीतिक दबाबले पत्रकारितालाई थिचोलेर नागरिकमा पत्रकारिताप्रतिको विश्वास गुमिरहेको बेला स्वस्थ, स्वतन्त्र र विश्वसनीय पत्रकारिताको जरुरी छ । हो, पछिल्ल्लो समय प्रविधिको तीव्र परिवर्तनले पक्कै पनि चुनौतीहरू थपिएका छन् । डिजिटल प्रविधिको प्रयोगले तथ्य लुक्ने तथा लुकाइने प्रवृतिको सुरुवात हुन सक्छ । यतिबेलै तथ्यगत र अनुसन्धानात्मक पत्रकारिताको आवश्यकता पर्छ । छापा माध्यमको अस्तित्व र जीवनमाथि प्रश्न उठिरहेको बेला पत्रकारले मल्टिमिडियाको प्रयोगसँगै व्यावसायिकता, नैतिकता र आर्थिक स्थिरता जस्ता पक्षहरूमा पनि जोड दिँदै आलोचनात्मक पत्रकारितालाई अगाडि बढाउन आवश्यक छ । मानिसको साथी डिजिटल प्लेटफर्म बनिरहेको बेला कसैको इबी साँध्न, नाफा कमाउन, शक्ति प्रदर्शन गर्न वा कसैको पक्षमा पक्षपोषण गर्नका लागि पत्रकारिता प्रयोग हुनु हुँदैन । पत्रकारिता समाजको एक प्रतिष्ठित र सम्मानित पेसा हो । पत्रकार समाजका पहरेदार हुन् । राज्यले समेत देशको चौथो अंगका रूपमा पत्रकारितालाई परिभाषित गरेको छ । पत्रकारिता ल्यापडग होइन वाचडगका रूपमा सक्रिय हुनुपर्छ । एउटा पत्रकारले चाह्यो भने समाजको चित्र बदल्न सक्छ भन्ने भावनाका साथ बाम गर्न सक्नुपर्छ । त्यो ल्याकत हामी सबैले राख्नुपर्छ ।