काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो महिनामा घरजग्गा कारोबार बढेको छ । घरजग्गा कारोबार बढेसँगै यसबाट संकलन हुने राजस्वमा पनि वृद्धि भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत आवको तुलनामा चालु आवको साउन महिनामा ६.६० प्रतिशतले घरजग्गाको कारोबार बढेको छ । तर, राजस्व संकलन भने ३१.७७ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ ।
गत आवको साउन महिनामा १ लाख १९ हजार ३२४ पटक घरजग्गासम्बन्धी काराबार भएको थियो भने चालु आवको सोही अवधिमा यस्तो कारोबार १ लाख २७ हजार २०६ पटक भएको छ ।
गत आवको साउनमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आवको सोही अवधिमा घरजग्गा कारोबारबाट ३ अर्ब बढी रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत आवको तुलनामा ३१.७७ प्रतिशत बढी हो ।
गत साउन महिनामा कित्ताकाटको संख्या पनि बढेको छ । साउनमा ४४ हजार ४१९ पटक जग्गा कित्ताकट भएर ९५ हजार ९४९ वटा कित्तामा विभाजित गरिएको छ । गत आवको सोही अवधिमा ३५ हजार २४५ वटा कित्तालाई ७६ हजार ९७० वटा कित्तामा विभाजित गरिएको थियो ।
नेपाल राष्ट्र बैंकले ल्याएको खुकुलो मौद्रिक नीतिका कारण घरजग्गाको कारोबार बढेको नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनी बताउँछन् । अध्यक्ष लोहनीका अनुसार मौद्रिक नीतिले घरजग्गा क्षेत्रको पनि केही विषय समेटेका कारण घरजग्गा कारोबार बढेको हो ।
चालु आवको मौद्रिक नीतिले घरजग्गा खरिद प्रयोजनका लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरेको छ । यही कारणले पनि केही हदसम्म सकारात्मक प्रभाव पारेको अध्यक्ष लोहनीको भनाइ छ ।
तर, एक महिनाको कारोबारलाई मात्र हेरेर विश्लेषण गर्न नहुने उनकाे भनाइ छ । ‘समग्रहमा खुकुलो मौद्रिक नीतिले केही सकारात्मक प्रभाव पारेको देखियो । तर, एक महिनाको कारोबारका आधारमा विश्लेषण गर्न मिल्दैन,’ उनले भने ।
ऋण भुक्तानी आम्दानी अनुपातलाई ८० प्रतिशत पुर्याउनुपर्ने महासंघको माग छ । यसैगरी लोन टु भ्यालु रेसियोलाई पनि ८० प्रतिशत पुर्याउने महासंघको माग रहेको अध्यक्ष लोहनीले बताए । यी विषयहरूको सम्बोधन भएको खण्डमा घरजग्गाको कारोबर अझै बढने अनुमान उनको छ ।
बढी राजस्व संकल हुने १० मालपोत
चालु आवको पहिलो महिना अर्थात साउनमा घरजग्गा कारबारबाट सबैभन्दा धेरै राजस्व संकलन गर्ने मालपोत कार्यलयमा लगनखेल मालपोत कार्यालय रहेको छ । लगनखेल मापोतबाट २९ करोड ३९ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन हुँदा भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारबाट २३ करोड ३७ लाख २२ हजार रुपैयाँ राजस्व संकल भएको छ ।
यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरबाट २२ करोड ४२ लाख ७७ हजार, मालपोत कार्यालय चावहिलबाट २२ करोड २७ लाख ८ हजार, मालपोत कार्यालय कलंकीबाट १७ करोड ३२ लाख ५६ हजार, मालपोत कार्यालय सिमाराबाट १४ करोड ६९ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै, मालपोत कार्यालय कास्कीबाट ११ करोड ७२ लाख ६३ हजार, मालपोत कार्यालय चितवनबाट ९ करोड ५३ लाख ९५ हजार, मालपोत कार्यालय मनमैजु ९ कोड २१ लाख ८८ हजार र भूमिसुधार तथा मालपोत कार्यालय इनरुवाबाट ९ करोड १६ लाख ९० हजार रुपैयाँ राजस्व संकलन भएको छ ।