काठमाडौं । गत वर्ष लघुवित्त वित्तीय संस्थाहरूका लागि सहज थिएन । विभिन्न अराजक समूहहरूले लघुवित्तविरूद्ध आन्दोलन गरेका थिए भने कर्मचारीहरूलाई जहाँ भेट्यो त्यहीँ कालोमोसो दल्ने र कुटपिट गर्ने जस्ता गतिविधि भए । लघुवित्तबाट लिएको ऋण नै तिर्न नपर्ने उनीहरूको भ्रमपूर्ण अभिव्यक्ति पछि लाग्दै धेरैले सावाँ र ब्याज नै तिरेनन् ।
गत आर्थिक वर्ष २०८०/८१ को सुरुवातमा लघुवित्तविरूद्धको आन्दोलनले प्रभाव पारेको भएपनि अन्त्यतिर भने नियामकले दिएको सुविधाका कारण वित्तीय विवरण सकारात्मक देखिएको छ । राष्ट्र बैंकले सहजीकरण गरेका कारण गत असारसम्म लघुवित्तको खराब कर्जा (एनपीएल) औसत ५.६९ प्रतिशत बिन्दुमा झरेको छ । जबकी अघिल्लो वर्ष लघुवित्त संस्थाहरूको एनपीएल ६.१० प्रतिशत बिन्दुभन्दा बढी थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष लघुवित्तको खराब कर्जा ०.४१ प्रतिशत घटेको तथ्याङ्कले देखाउँछ ।
५१ वटा लघुवित्त वित्तीय संस्थाहरूमध्ये २७ वटा लघुवित्त संस्थाको खराब कर्जा घटेको देखिन्छ भने २४ वटा लघुवित्तको बढेको छ । नेपाल लघुवित्त बैंकर्स संघका उपाध्यक्ष तथा मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामहरि दाहाल प्रतिकूल समयमा पनि लघुवित्त संस्थाहरूको वित्तीय विवरण सकारात्मक आएको र राष्ट्र बैंकले सहजीकरण गरेका कारण खराब कर्जा घट्न पुगेको बताउँछन् । राष्ट्र बैंकले दिएको सुविधा प्रयोग नगर्ने लघुवित्तको खराब कर्जा भने बढेको उनको भनाइ छ ।
‘राष्ट्र बैंकले बैशाखसम्म कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरण व्यवस्था गर्याे, कतिपयले त्यो व्यवस्थालाई शतप्रतिशत प्रयोग गरेका छन्, उनीहरूको खराब कर्जा न्यून बिन्दुमा झरेको छ,’ उनले भने, ‘जसले यो सुविधा प्रयोग गरेनन् वा यो व्यवस्था मात्रै समस्याको समाधान होइन भन्ने हिसाबमा त्यसलाई कम प्राथमिकतामा राखेका छन्, उनीहरूको खराब कर्जा अलिकति बढेको देखिन्छ ।’
२७ लघुवित्तको खराब कर्जा घट्यो
गत वर्ष सबैभन्दा धेरै खराब कर्जा आरम्भ चौतारी लघुवित्तले घटएको छ । आरम्भ चौतारी लघुवित्तको खराब कर्जा ७०.९८ प्रतिशत घटेर ३.०७ प्रतिशत बिन्दुमा कायम राख्न सफल भएको छ । यस्तै गुराँस लघुवित्तको ६१.३१ प्रतिशत घटेर २.४६ प्रतिशत बिन्दु, डिप्रोक्स लघुवित्तको ५३ प्रतिशत घटेर २.८९ प्रतिशत बिन्दु, नाडेप लघुवित्तको ५२.६३ प्रतिशत घटेर ८.२८ प्रतिशत बिन्दु, जनउत्थान सामुदायिक लघुवित्तको ५१.१७ प्रतिशत घटेर ६.६५ प्रतिशत बिन्दु, विन नेपाल लघुवित्तको ४९.९१ प्रतिशत घटेर २.९७ प्रतिशत बिन्दुमा झारेका छन् ।
यस्तै धौलागिरी लघुवित्तको ४७.५७ प्रतिशत घटेर ४.६५ प्रतिशत बिन्दु, महिला लघुवित्तको ४६.९२ प्रतिशत घटेर ३.०२ प्रतिशत बिन्दु, मानुषी लघुवित्तको ४३.५४ प्रतिशत घटेर ४.४६ प्रतिशत बिन्दु, गणपति लघुवित्तको ४०.९३ प्रतिशत घटेर ४.७९ प्रतिशत बिन्दु, इन्फिनीटी लघुवित्तको ३५.०९ प्रतिशत घटेर ५.२९ प्रतिशत बिन्दु, एनएमबि लघुवित्तको ३३.४३ प्रतिशत घटेर ६.३५ प्रतिशत बिन्दु, ग्रामीण विकास लघुवित्तको ३३.१६ प्रशितत घटेर ६.६५ प्रतिशत बिन्दुमा खराब कर्जा सीमित राखेका छन् ।
यस्तै श्रृजनशील लघुवित्तको ३१.८९ प्रतिशत घटेर ६.४९ प्रतिशत बिन्दु, मिथिला लघुवित्तको २९.०७ प्रतिशत घटेर ३.३९ प्रतिशत बिन्दु, उन्नति सहकार्य लघुवित्तको २५ प्रतिशत घटेर ३.०३ प्रतिशत बिन्दु, सामुदायिक लघुवित्तको २३.६६ प्रतिशत घटेर ७.१६ प्रतिशत बिन्दु, कालिका लघुवित्तको २१.८५ प्रतिशत घटेर ३.७९ प्रतिशत बिन्दु, महुली लघुवित्तको २०.२४ प्रतिशत घटेर ३.९४ प्रतिशत बिन्दु, युनिक नेपाल लघुवित्तको १३.३९ प्रतिशत घटेर १२.७४ प्रतिशत बिन्दुमा खराब कर्जा कायम राखेका छन् ।
लक्ष्मी लघुवित्तको ११.१२ प्रतिशत घटेर ७.४३ प्रतिशत बिन्दु, सपोर्ट लघुवित्तको १०.९२ प्रतिशत घटेर १.६३ प्रतिशत बिन्दु, सूर्योदय वोमी लघुवित्तको ९.८८ प्रतिशत घटेर ६.११ प्रतिशत बिन्दु, ग्लोबल आइएमई लघुवित्तको ९.३० प्रतिशत घटेर ३.९ प्रतिशत बिन्दु, स्वाबलम्बन लघुवित्तको ८.५४ प्रतिशत घटेर ७.९२ प्रतिशत बिन्दु, नेशनल माइकोफाइनान्स लघुवित्तको ७.९३ प्रतिशत घटेर ३.२५ प्रतिशत बिन्दु र उपकार लघुवित्तको १.८४ प्रतिशत घटेर २.१३ प्रतिशत बिन्दुमा खराब कर्जा कायम राखेका हुन् ।
२४ लघुवित्तको कर्जा बढ्यो
अधिकांश लघुवित्तको खराब कर्जा घट्दा समीक्षा अवधिमा २४ वटा लघुवित्तको भने बढेको देखिन्छ । जसमध्ये सबैभन्दा धेरै साना किसान लघुवित्तको २५७.३७ प्रतिशत बढेर २.१८ प्रतिशत बिन्दु, फर्ष्ट माइक्रोफाइनान्स लघुवित्तको २१३.६३ प्रतिशत बढेर २.०७ प्रतिशत बिन्दु, आरएसडीसी लघुवित्तको १३६. प्रतिशत बढेर ३.३१ प्रतिशत बिन्दु, समता घरेलु लघुवित्तको १३२.३७ प्रतिशत बढेर १०.४८ प्रतिशत बिन्दु, स्वस्तिक लघुवित्तको १३१.५१ प्रतिशत बढेर ८.०८ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ ।
जीवन विकास लघुवित्तको ९४.९७ प्रतिशत बढेर ४.६६ प्रतिशत बिन्दु, विजय लघुवित्तको ९०.१७ प्रतिशत बढेर ७.७४ प्रतिशत बिन्दु, छिमेक लघुवित्तको ७४.४१ प्रतिशत बढेर ३ प्रतिशत बिन्दु, आत्मनिर्भर लघुवित्तको ७४.४० प्रतिशत बढेर १३.२२ प्रतिशत बिन्दु, सिवाईसी नेपाल लघुवित्तको ६७.२२ प्रतिशत बढेर ४.९५ प्रतिशत बिन्दु, मातृभूमि लघुवित्तको ६५.२६ प्रतिशत बढेर ९.८५ प्रतिशत बिन्दु, फरवार्ड लघुवित्तको ५९.८५ प्रतिशत बढेर ६.८१ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको तथ्याङ्क छ ।
यस्तै एनआईसी एशिया लघुवित्तको ५८.२१ प्रतिशत बढेर ९.९२ प्रतिशत बिन्दु, हिमालयन लघुवित्तको ५४ प्रतिशत बढेर ३.६५ प्रतिशत बिन्दु, आशा लघुवित्तको ३३.६१ प्रतिशत बढेर ४.८१ प्रतिशत बिन्दु, मेरो माइक्रोफाइनान्स लघुवित्तको ३१.५० प्रतिशत बढेर ७.६८ प्रतिशत बिन्दु, नेरुडे मिर्मिरे लघुवित्तको ३०.६९ प्रतिशत बढेर ६.६ प्रतिशत बिन्दु एनपीएल छ ।
सम्पदा लघुवित्तको २४.३५ प्रतिशत बढेर ४.८ प्रतिशत बिन्दु, स्वरोजगार लघुवित्तको १७.०५ प्रतिशत बढेर ५.५६ प्रतिशत बिन्दु, नेष्डो समृद्ध लघुवित्तको १४.०५ प्रतिशत बढेर १२.५८ प्रतिशत बिन्दु, स्वाभिमान लघुवित्तको १०.४७ प्रतिशत बढेर ३.२७ प्रतिशत बिन्दु, निर्धन उत्थान लघुवित्तको ७.३९ प्रतिशत बढेर १०.६ प्रतिशत बिन्दु, अभियान लघुवित्तको १.८४ प्रतिशत बढेर ४.९८ प्रतिशत बिन्दु र समाज लघुवित्तको ०.८३ प्रतिशत बढेर ४.८२ प्रतिशत बिन्दुमा खराब कर्जा पुगेको छ ।
नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष तथा नेशनल लघुवित्तका सीईओ राम बहादुर यादब राष्ट्र बैंकले बैशाखसम्म असल वर्गमा रहेका कर्जाको हकमा ५ प्रतिशत ब्याज तिरेर पुनरसंरचना गर्न दिने व्यवस्था गरेका कारण लघुवित्तको खराब कर्जा घटेको बताउँछन् । तर, त्यो सुविधा प्रयोग नगर्ने लघुवित्तको खराब कर्जा बढेको उनले भनाइ छ ।
‘नाफा नोक्सानमा लागतको हिसाब हुन्छ, जसको रिकभरी राम्रो भएको छ, बैंकसँगको कस्ट अफ फण्ड कम गर्न सकेको छ, त्यसको नाफा बढेको देखिन्छ,’ उनले भने, ‘जसको लागत उच्च छ, ब्याज आम्दानी भएको छैन, एनपीएल बढेको छ भने नाफा घटेको देखिन्छ, त्यसैले अहिले मिश्रित नतिजा आएको हो ।’
लघुवित्त बैंकर्स संघका महासचिव तथा जीवन विकास लघुवित्तका सीईओ सञ्जय कुमार मण्डल वास्तविक खराब कर्जा भने बढेको बताउँछन् । यदि कर्जा पुनरसंरचना नगरेको भए एनपीएल अझै बढ्ने उनको भनाइ छ । उनका अनुसार अहिले पनि कर्जा असुली खासै उत्साहजनक नरहेको उनले बताए ।
‘रिकभरी खासै उत्साहजनक छैन, अहिले नै ढुक्क हुने अवस्था छैन, अझै मेहेनत गर्नुपर्ने छ,’ उनले भने, ‘यदि पुनरसंरचना नगरेको भए धेरै बढ्थ्यो होला । राष्ट्र बैंकको सुविधाले घटेको देखिन्छ ।’