बैंकर अशोक शेरचनको बयानमा भट्टचनदेखि डीसीईओसम्म जोडिए

बयानमा के–के भने ?

काठमाडौं । प्रभु बैंकका निवर्तमान प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले प्रभु मनि ट्रान्सफरसँगको रेमिट्यान्स कारोबारबाट बैंकले लिनुपर्ने सम्पूर्ण ब्याज तथा अन्य रकम असुल गरिसकेको दाबी गरेका छन् । नेपाल राष्ट्र बैंक र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानपछि विशेष सरकारी वकिलको कार्यालयले उच्च अदालत पाटनको वाणिज्य इजलासमा दायर गरेको मुद्दामा बयान दिँदै शेरचनले प्रभु बैंक र प्रभु मनि ट्रान्सफरबीच भएको सम्झौताअनुसार बैंकको कुनै रकम बाँकी नरहेको बताएका हुन् । 

बयानमा उनले प्रभु बैंकले रेमिट्यान्स कारोबारका क्रममा विभिन्न चरणमा प्रभु मनि ट्रान्सफरलाई अग्रिम (एड्भान्स) भुक्तानी दिने गरेको भए पनि सम्झौताअनुसार त्यसको ब्याज असुल गरिएको उल्लेख गरेका छन् । ‘प्रभु बैंकले प्रभु मनि ट्रान्सफरसँग लिनुपर्ने सम्पूर्ण ब्याज लिइसकेको छ, हाल कुनै पनि रकम बाँकी छैन,’ उनले भनेका छन् र 

शेरचनले रेमिट्यान्स कारोबारसम्बन्धी प्राविधिक तथा दैनिक सञ्चालनको जिम्मेवारी सम्बन्धित विभागको हुने र आफूले प्रमुख कार्यकारी अधिकृतका रूपमा आवश्यक निर्देशन तथा अनुगमन मात्र गर्ने गरेको बताएका छन् । रेमिट्यान्स कारोबारमा प्रयोग हुने प्रणाली, एडमिन पहुँच, दैनिक कारोबारको परिमाण तथा हिसाब–किताबबारे सम्बन्धित विभागलाई नै विस्तृत जानकारी हुने उनको भनाइ छ ।

बयानमा उनले प्रभु बैंक र प्रभु मनि ट्रान्सफरबीच २०६४ सालदेखि सम्झौताका आधारमा विप्रेषण कारोबार हुँदै आएको र नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार कारोबार सञ्चालन गरिएको बताएका छन् । राष्ट्र बैंकको निरीक्षणपछि प्रि–फन्डिङ एड्भान्स व्यवस्था पूर्ण रूपमा बन्द गरिएको पनि उनले उल्लेख गरेका छन् । 

शेरचनले प्रभु ग्रुप इन्क यूएसएसँग भएको रेमिट्यान्स कारोबार बैंक ग्यारेन्टीका आधारमा सञ्चालन भएको र त्यसमा कुनै समस्या नआएको दाबी गरेका छन् । विदेशी बैंकबाट जारी भएका ग्यारेन्टीका आधारमा कारोबार भएको तथा राष्ट्र बैंकबाट अनुमति लिएर मात्रै सम्झौता नवीकरण गरिने भएकाले नक्कली बैंक ग्यारेन्टीको सम्भावना नरहेको उनको जिकिर छ ।

उनले बैंकलाई नोक्सान हुने कुनै काम नगरेको, प्रचलित कानुन र नेपाल राष्ट्र बैंकका निर्देशनको पूर्ण पालना गर्दै आफ्नो जिम्मेवारी निर्वाह गरेको दाबी गरेका छन् । ‘मैले कुनै व्यक्तिगत लाभ वा प्रलोभनमा परी बैंकलाई हानि हुने काम गरेको छैन,’ बयानमा उल्लेख छ ।

यस्तो छ उनको बयान

म सन् १९९५ मा नेपाल बङलादेश बैंकमा जुनियर एसिटेन्स पदमा ५ वर्ष काम गरी सन् २००० मा नेपाल बैंक अफ सिलोनमा अफिसर पदमा ५ वर्ष काम गरेको थिएँ । सन् २००७ बाट मैले प्रभु फाईनान्स लि.मा महाप्रबन्धकको रुपमा काम गर्न सुरु गरेको थिएँ । सन् २०११ मा प्रभु फाइनान्स लि., समृद्दी बिकास बैंक लि. र वैभव फाईनान्स लि. मर्ज भई प्रभु बिकास बैंक लि.बने पश्चात म प्रभु बिकास बैंक लि.को प्रमुख कार्यकारी अधिकृत भई काम गर्न थालेको हुँ । २०७१ सालमा प्रभु बिकास बैंक, गौरीशंकर बिकास बैंक, जेनिथ फाईनान्स र किष्ट बैंक लि. मर्ज भई प्रभु बैंक लि.बने पश्चात म प्रभु बैंक लि.को प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गर्न थालेको हुँ । सो पश्चात ग्राण्ड बैंक लि.र सेन्चुरी कमर्शियल बैंक लि.प्रभु बैंक लि.मा मर्ज भएको हो । म हाल सम्म पनि प्रभु बैंक लि.मा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहेको छु । 

मेरो हाल मासिक तलब, भत्ता करिब रु.२१,००,०००।– रहेको छ । उक्त तलब भत्ता मेरो कर कट्टी गर्नु अगाडीको रकम हो । सो बाहेक १ महिनाको चाडबाड खर्च, १ महिनाको तलब बराबरको मेडिकल खर्च, बार्षिक रुपमा बैंकले दिने बोनस, १ महिनाको आधारभुत तलब बराबरको बिदाको रकम, सवारी चालक १ जना बैंकले उपलब्ध गराएको छ । वार्षिक आम्दानीको कानून बमोजिम लाग्ने कर बैंकले कटाएर मात्र मलाई पारिश्रमिक दिने गर्दछ । 

म प्रभु बैंक लि.को प्रमुख कार्यकारी अधिकृतको रुपमा मेरो जिम्मेवारी तथा काम कर्तब्य अन्तर्गत बैंकको दैनिक कार्य संचालन सुचारु रुपमा गर्नको लागि व्यवस्थापकिय भूमिका निर्वाह गर्ने, नेपाल सरकारका विभिन्न निकाय तथा नेपाल राष्ट्र बैंकसँग आवश्यकता अनुसार समन्वय गर्ने, संचालक समिति समक्ष बैंकको सम्बन्धमा छलफल गर्ने, शेयर होल्डरहरुलाई वार्षिक प्रतिवेदनद्धारा बैंकको बारेमा सुसुचित गर्ने समेतका जिम्मेवारी रहेका छन् । प्रभु बैंक लि.ले बिप्रेषण कारोबार गर्नको लागि धेरै एजेन्टहरुसँग सम्झौता गरी बिप्रेषण कारोबार गरी आएको छ । बिप्रेषण कारोबार गर्ने एजेण्टहरु धेरै भएको कारण मलाई संख्या र एजेण्टहरुको नामको बारेमा एकिन छैन । बिप्रेषण भन्नाले विदेशमा रहेका नेपालीहरुले स्वदेशमा रहेका आफ्ना आफन्तहरुलाई कमाएको रकम सम्बन्धित देशको बैकिङ च्यानल तथा रेमिट्यान्स कम्पनीहरुबाट पठाउने प्रकृया भन्ने बुझिन्छ । 

बैंकसँग बिप्रेषण कारोबारको लागि सम्झौता गरेका स्वेदेशी वा विदेशी संस्थाको सफ्टवेयर प्रयोग गरिन्छ । विप्रेषण कारोबारको क्रममा बिप्रेषण कारोबार गर्न विभिन्न कम्पनी÷संस्थासँग गरीएको सम्झौताको आधारमा इन्फरमेसन फ्लो  र क्यास फ्लो युनिफाईड सिष्टम र छुट्टा छुट्टै सिष्टमबाट समेत आदान प्रदान भई कारोबार हुने गर्दछ । प्रभु बैंक लि.हुनु भन्दा अगाडी प्रभु फाईनान्स लि. हुँदाको समय २०६८ साल देखि नै प्रभु मनि ट्रान्सफर प्रा.लि.सँग बिप्रेषण सम्बन्धी पटक पटक सम्झौता गरी कारोबार गरी आएको छ । 

कारोबार गर्ने क्रममा उक्त सम्झौतामा उल्लेख भए अनुसार प्रभु बैंक लि. ले प्रभु मनि ट्रान्सफरसँग लिनु पर्ने सम्पूर्ण ब्याज लिई सकेको छ । हाल कुनै पनि रकम प्रभु मनि ट्रान्सफरसँग प्रभु बैंक लि.ले लिनु पर्ने छैन । सो कुरा प्रभु बैंक लि.लाई पत्राचार गरी सोधेमा प्रष्ट हुन्छ । प्रभू मनि ट्रान्सफर प्रा.लि. को खाताबाट प्रभु बैंक लि. को के कुन खातामा रकम जम्मा गरी आएको छ हाल मलाई एकिन भएन । प्रभु बैंक लि.मा रेमिट्यान्स कारोबारबाट प्राप्त ब्याज रकमको लागि छुट्टै  इनकम अदर्स खाता रहेको छ, खाता नं. हाल मलाई याद छैन । सोही खातामा रियल टाइम सेटलमेण्ट नभई बिप्रेषण वापत प्रि फण्डिङको रुपमा एम्भान्स दिएको रकमको हिसाव मिलान नभएको अवस्थामा ब्याज गणना गरी सो को ब्याज असुल गरी सोही खातामा जम्मा गरीने गरेको हो । 

सम्झौता बमोजिम वार्षिक प्रतिशत ब्याजदर तथा मासिक आधार दर अनुसारको म्यानुअली एक्सेल सिटमा राखेर रेमिट्यान्स कारोबारको लागि दिएको रकमको ब्याज क्याल्कुलेसन  गर्ने गरीएको थियो । प्रभु बैंक लिमिटेड र प्रभु मनि ट्रान्सफर प्रा. लि. बीच बिप्रेषण रकम भुक्तानीको लागि औसत दैनिक तथा मासिकरुपमा के–कति रकमको कारोबार हुने गर्दछ सो सम्बन्धमा मलाई एकिन थाहा हुदैन । सो कुरा सम्बन्धित रेमिट्यान्स विभागले हेर्ने भएको हुँदा मलाई एकिन थाहा हुदैन । कारोबार शुरु भए देखी करिव २०२० सम्म प्रभु बैंक लिमिटेडले प्रभु मनि ट्रान्सफर प्रा. लि.लाई एडभान्स भुक्तानी दिने गरेको थियो, करिव २०२० देखी करिव २०२४ सम्म बिप्रेषण रकम भुक्तान भई सके पछि मात्र प्रभु मनि ट्रान्सफर प्रा.लि.लाई बिप्रेषण बापतको रकम भुक्तान दिने गरेको थियो ।

सन् २०२४ देखि हाल सम्म प्रभु मनि ट्रान्सफर प्रा.लि.ले बिप्रेषण रकम भुक्तानी दिए पश्चात बैंकको क्थकतझ बाट अटोमेटिकल्ली प्रभु मनि ट्रान्सफर प्रा.लि.को खातामा उक्त रकम जम्मा हुने व्यबस्था हुँदै आएको छ । तत्कालिन समयमा प्रभु बैंक लिमिटेडले प्रभु मनि ट्रान्सफर प्रा. लि.लाई कारोबारको आवश्यकता अनुसार एडभान्स भुक्तानी दिने गरेको थियो । नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी भएको निर्देशन अनुसा एड्भान्स फण्डिङ र बिप्रेषण कारोबारको लागि विदेशी एजेन्टसँग सम्झौता गर्दा ति एजेन्टहरुले वा बैंक ग्यारेण्टी मार्फत् कारोबार गर्न सक्ने ब्यवस्था भए बमोजिम नेपालका जुनसुकै बैंकहरुसँग सम्झौता गर्दा उक्त प्रकृया पुरा गरी कारोबार गर्न सक्दछन् । 

उक्त बैंक ग्यारेण्टी विदेशस्थित कुनै पनि बैंकले जारी गरेको हुन सक्दछ । प्रभु बैंक लिले विदेश स्थित विभिन्न बैंक तथा रेमिट्यान्स कम्पनीहरुसँग एड्भान्स फण्डिङ र बैंक ग्यारेण्टीको आधारमा बिप्रेषणको कारोबार गर्ने गरेको छ । उक्त कम्पनीहरुको नाम हाल मलाई एकिन भएन । बैंक ग्यारेण्टी राखेको थाहा छ । तर, के कति रकम राखि आएको छ मलाई एकिन भएन सो सम्बन्धमा मातहतको सम्बन्धित विभागका कर्मचारीहरुलाई थाहा हुन्छ । प्रभु ग्रुप इन्क यूएसए र प्रभु बैंक लिबीच विप्रेषण कारोबार गर्नको लागि प्रभु ग्रुप इन्क यूएसएले सोइल चार्टर्ड बैंक यूएसएको बैंक ग्यारेन्टी लिएको छ । सोइल चार्टर्ड बैंक यूएसएको बैंक ग्यारेण्टीको आधारमा बिगत केहि बर्ष देखी कारोबार हुँदै आईरहेको छ । 

आज सम्म कारोबारको क्रममा केही कुनै किसिमको समस्या सिर्जना भएको छैन । नेपाल राष्ट्र बैंकबाट हरेक पटक सम्झौता नवीकरण गर्ने क्रममा अनुमती लिएर मात्र गर्ने गरिन्छ । त्यस कारणले बैंकबाट जारी भएको बैंक ग्यारेण्टी नक्कली हुने भन्ने सम्भाबना रहँदैन । शुरुमा प्रभु ग्रुप इन्क यूएसएसँग सम्झौता गर्दा प्रभु बैंक लि. मा रिलेसनसिप मेनेज्मेन्ट एथ्नेटिसिएन नभएकोले प्रभु ग्रुप इन्क यूएसएले तत्काल बैंक जमानत एन एम बि बैंक लि. मार्फत् प्राप्त भएको हो । उक्त बैंक जमानत एन एम बि बैंकले एकिन गरेको होईन उक्त बैंक जमानत एन एम बि बैंकमा प्राप्त भए पछि प्रभु बैंक लि.लाई एमभाइस मात्र गरेको हो । पछि प्रभु बैंक लि.मा रिलेसनसिप मेनेज्मेन्ट एथ्नेटिसिएन व्यवस्था भए पछि प्रभु ग्रुप इन्क यूएसएले डाइरेक्ट प्रभु बैंक लि.मा बैंक जमानत पठाएको हो ।

स्विफ्टमा एथ्नेटिसिएन मेसेज आदान प्रदान गर्नको लागि बैंक तथा बित्तिय संस्थाहरुमा प्रयोग गरीएको सिस्टम हो । स्विफ्ट सूचना आदान प्रदान गर्ने माध्यम मात्र हो अनिवार्यरुपमा यसबाट नै हुनु पर्छ भन्ने छैन । सोइल चार्टर्ड बैंक यूएसए स्विफ्टको सदस्य रहदा सम्म स्विफ्ट मार्फत् पठाएको थियो, त्यस पछि अन्य माध्यम मार्फत् पठाएको हो । १४ सेप्टेम्बर २०१४ मा प्रभु विकास बैंक, जेनिथ फाईनान्स लि., किष्ट बैंक र गौरीशंकर विकास बैंक एक–आपसमा मर्ज भई प्रभु बैंक लि. को एकिकृत कारोबार शुरु भएको थियो त्यसैले सिष्टम परिवर्तन भएको हुनाले अर्को सिष्टमको लेजरमा ट्रान्सफर गर्दा फरक भएको हुनुपर्छ, उल्लेखित विवरणहरु बैंकबाट माग गरी हेर्दा थाहा हुन्छ । 

प्रभु बैंक लि.बाट विवरण माग गरी अध्ययन गर्दा जानकारी हुन्छ । कारोबार गर्ने क्रममा विप्रेषणको रकम चाडपर्वको बेलामा एकै चोटी धेरै प्राप्त हुने गर्दछ, त्यसो भएर एकै दिनको लागि बैंक ग्यारेण्टी खाम्ने भन्दा बढी देखिएको हुन सक्छ त्यसैले प्रभु बैंक लि.को सञ्चालक देवी प्रकाश भट्टचनको लगानी रहेको एजेण्ट प्रभु ग्रुप इन्क यूएसएसँग मिलेमतो गरी बैंकलाई हानी नोक्सानी हुने गरी कारोबार गरेको होइन । रेमिटको सिस्टममा को कसको पहुँच म मातहतका सम्बन्धित रेमिटेन्स विभागमा कार्यरत कर्मचारीहरुको हुने गर्छ, एडमिन, सुपर एडमिन को को छ त्यसको विवरण बैंकबाट माग गर्दा थाहा हुन्छ । रेमिटको सिस्टमको बारेमा सम्पूर्ण जानकारी सम्बन्धित विभागसँग हुने भएको हुनाले प्रकृयाका सम्बन्धमा सबै कुराको मलाई जानकारी हुदैन । प्रभु बैंक लि. र प्रभु मनि ट्रान्सफर प्रा.लि.बीच २०६४ मा भएको सम्झौताको आधारमा बिप्रेषणको कारोबार भई आएको हो । 

उक्त सम्झौताको परिधिभित्र बसेर विप्रेषण सम्बन्धी कारोबारलाई निरन्तरता दिइएको र सम्झौतामा उल्लेख भए बमोजिमको मिति देखिनै उक्त कम्पनीसँग बैंकले असुल उपर गर्नुपर्ने सम्पुर्ण ब्याज रकम असुली गरेको छ । माथि उल्लेख भए बमोजिम नेपाल राष्ट्र बैंकको निरीक्षण पश्चात उक्त कम्पनिसँग प्रि फण्डिङ एडभान्स कार्य पुर्णरुपमा बन्द गरिएको छ, नेपाल राष्ट्र बैंकमा पेश गरिएको उक्त प्रतिवेदन सम्बन्धमा हाल मलाई एकिन भएन । मलाई थाहा भए सम्म मैले मेरो जिम्मेवारी अनुसारको काम गरी आएको छु । बिप्रेषण कारोबार सम्बन्धमा प्रभु बैंक लिले प्रभु मनि ट्रान्सफर प्रा.लिलाई भुक्तानी दिएको रकम र सो रकमको ब्याज तथा मासिक आधार दर बमोजिम हुन आउने रकमहरु लिएको छ । 

त्यस्तो रकम इन्ट्रेष्ट इनकम अदर्स भन्ने खातामा जम्मा गर्ने गरेको छ । उक्त रकम सम्झौता अनुरुप नै समयमा नै प्राप्त हुने गरेको छ । विप्रेषण कारोबारको सम्बन्धी सम्पूर्ण जिम्मेवारी सम्बन्धित बिभागलाई हुने गरेको छ । विप्रेषण कारोबारको सम्बन्धमा सम्बन्धित विभागले समय समयमा जानकारी गराउने गर्दछ र म प्रमुख कार्यकारी अधिकृतको हैसियतले आवश्यकता बमोजिम निर्देशन दिने कार्य गर्ने गरेको छु । उक्त प्रा.लिसँग लिनु पर्ने सम्पुर्ण ब्याज र एडभान्स रकम हाल बाँकी नरहेको जानकारी मलाई गराइएको हो । डीसीईओलाई जानकारी दिनु पर्ने व्यवस्था अर्गानोग्राममा नभएकोले जानकारी गराउनु परेन । प्रभु बैंक लि. र प्रभु मनि ट्रान्सफर प्रा.लि.बिच हालसम्म पनि विप्रेषणको कारोबार भइरहेको छ । प्रभु बैंक लिले प्रभु मनि ट्रान्सफरबीच भएको सम्झौता अनुरुप लिनु पर्ने ब्याज रकमको हिसाब किताब मासिकरुपमा एकिन गरी भुक्तानी लिने व्यवस्था रहेको थियो । 

उल्लेखित कार्य प्रभु बैंक लि.को फाइनान्स डिपार्टमेन्टबाट हिसाब किताब हुने गरेको हो । प्रभु बैंक लिले प्रभु मनि ट्रान्सफर प्रा.लिलाई विप्रेषण वापतको रुपमा भुक्तानी गरेको रकमको ब्याज भुक्तानि लिई सकेको छ, प्रभु मनि ट्रान्सफर प्रा.लिले महिना महिनामा एकमुष्ट ब्याज रकम भुक्तानी दिई आएको छ । हाल उक्त कम्पनिसँग सम्झौता अनुरुप लिनु पर्ने ब्याज बांकी नरहेको व्यहोरा जानकारी गराउछु । प्रभु बैंक लि.ले प्रभु मनि ट्रान्सफर लि.बाट एक अर्ब तेह्र करोड उनान्चास लाख छब्बिस हजार नौ सय सतरी रुपैयाँ एकसट्ठी पैसा लिनु पर्नेछ भन्ने सम्बन्धमा सम्झौता अनुसार सम्पुर्ण रकम लिई सकेकोले बाँकी छ जस्तो मलाई लाग्दैन । 

प्रभु मनी ट्रान्सफर प्रा.लिले विप्रेषण बाहेकको अन्य बैंकिङ कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट अनुमति समेत नलिई प्रभु मनी ट्रान्सफर प्रा.लि. र सो प्रा. लिका सञ्चालक देवी प्रकाश भट्टचनले आ.व. २०७८÷७९ मा इन्द्रवति हाँडिखोला क्रसर उद्योग प्रा.लि समेत विभिन्न ८ वटा कम्पनीहरुमा एक अर्ब चौबीस करोड रुपैयाँ ब्याजमा कर्जा प्रवाह गरी सो कर्जा बापत ब्याज समेत लिएको सम्बन्धमा मलाई थाहा छैन, सो सम्बन्धमा सम्बन्धित व्यक्तिलाई जानकारी हुनुपर्छ । 

मैले प्रभु बैंक लिमा रही प्रचलित कानून, नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी भएका निर्देशनहरुको पूर्ण पालना गरी आफ्नो पदिय दायित्व अनुसार आफ्नो जिम्मेवारी निर्वाह गरेको छु । मैले कुनै पनि व्यक्तिगत फाइदा तथा प्रलोभनमा परी बैंकलाई नोक्सान हुने काम गरेको छैन । माथि उल्लेख भए बमोजिमका मेरो जिम्मेवारी अन्तर्गत पर्ने कार्यहरु अनुरुप तयार पार्नु पर्ने सम्पूर्ण नीतिहरु, बार्षिक बजेट, कार्ययोजनाहरु बनाई सञ्चालक समितिबाट हरेक वर्ष पारित गरी लागु गरीएको छ । बैंकको कर्मचारी विनियमवाली भित्र रही हाल करिब ३२०० जना कर्मचारीहरु कार्यरत रहेका छन् । 

सञ्चालक समितिका निर्णयहरु, वार्षिक साधारण सभाहरु र नेपाल राष्ट्र बैंकका निर्देशनहरुको पूर्ण पालना गरीएकै कारण आज सम्म कुनै किसिमको कारबाही बैंकले ब्यहोरेको छैन । बैंकका सम्पूर्ण सुचकहरु नेपाल राष्ट्र बैंकद्दारा निर्देशित सिमा भित्रै रहेका छन् । यसर्थ मैले मेरो जिम्मेवारी पूर्ण रुपमा पालना गरेको पुष्टी हुन्छ । मैले प्रभु बैंक लि. मा रही प्रचलित कानून, नेपाल राष्ट्र बैंकबाट समय समयमा जारी भएका निर्देशनहरुको पूर्ण पालना गरी आफ्नो पदिय दायित्व अनुसार आफ्नो जिम्मेवारी निर्बाह गरी प्रभु बैंक लि.ले प्रभु मनि ट्रान्सफर प्रा.लि.बाट रेमिटेन्स कारोबार मार्फत् प्राप्त ब्याज समेतको रकम बैंकले प्राप्त गरी सकेको हुनाले यसमा मलाई कारबाही हुनु हुँदैन । 
 

Share News