आरम्भ चौतारी लघुवित्तको खुद नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक करोड २९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४.८८ प्रतिशतले बढेको छ । संस्थो गत आर्थिक वर्ष २०७६/७७ को पहिलो तीन महिनामा एक करोड २३ लाख रुपैयाँ नाफा गरेको थियो । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी ३ करोड ५८ लाख रुपैयाँबाट बढेर ५ करोड ६३ लाख रुपेयाँ पुगेको छ । त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा एक करोड ९४ लाख रुपैयाँबाट बढेर २ करोड रुपैयाँ नाघेको छ । २६ करोड ३४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ८ करोड २७ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा लघुवित्तको चुक्ता पुजी १९ करोड ९० लाख रुपैयाँ रहेको थियो भने जगेडा कोषमा २ करोड २५ लाख रुपैयाँ सञ्चित रहेको थियो । समीक्षा अवधिमा लघुवित्तको निक्षेप ९४ करोड रुपैयाँबाट बढेर १ अर्ब ७० करोड पुगेको छ भने कर्जा १ अर्ब ६५ करोड रुपैयाँबाट बढेर २ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, संस्थाको निष्क्रिय कर्जा ०.६० प्रतिशतबाट बढेर १.९१ प्रतिशत पुगेको छ । कष्ट अफ फण्ड घटेर ७.२६ प्रतिशत र सीडी रेसियो बढेर २२६.६५ प्रतिशत कायम भएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर आम्दानी १९.७० रुपैयाँ पुगेको छ । त्यसैगरी, संस्थाको प्रतिसेयर कुल सम्पत्तिको मूल्य ११६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३७.४५ गुणा कायम भएको छ ।
बोनसपछि गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । बिहीबार गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.२५ प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५७६.७२ रुपैयाँ रहेको छ । यसअघि इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६०७ रुपैयाँ रहेको थियो । मूल्य समायोजन पछि खुलेको बजारमा कम्पनीको सेयर मूल्य बढ्ने क्रम जारी रहेको छ । बिहीबार कारोबार खुलेको एक घण्टाको अवधिमा कम्पनीको सेयर मूल्य १३ रुपैयाँले बढेर प्रतिकित्ता ५९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।
सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सर्किट, दुई दिनमै ६५ रुपैयाँले बढ्यो भाउ
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबारदेखि दोश्रो बजारमा कारोबार शुरु भएको कम्पनीको सेयर मूल्यमा दोश्रो दिन पनि सर्किट लागेको हो । बिहीबारको बजार खुलेको केही समयमै कम्पनीको सेयर मूल्य ९.९४ प्रतिशतले बढेर सर्किट लागेको छ । प्रतिकित्ता ३४२ रुपैयाँदेखि कारोबार शुरु भएको कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता ३७६ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३४ रुपैयाँले बढी हो । अघिल्लो दिन अर्थात कार्तिक १९ गते भएको कम्पनीको पहिलो कारोबारमा पनि सेयर मूल्यमा सर्किट लागेको थियो । सो दिनको बजारमा कम्पनीको सेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४२ रुपैयाँ पुगेको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३११ रुपैयाँदेखि शुरु भएको थियो । आजसम्म अर्थात कारोबार शुरु भएको दुई दिनको अवधिमै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६५ रुपैयाँले बढेर ३७६ रुपैयाँ पुगेको छ । यो समाचार तयार पार्दासम्म बिहीबारको बजारमा कम्पनीको ८ लाख ४१ हजार ९ सय २२ कित्ता सेयर किन्न लगानीकर्ता इच्छुक रहेका छन् भने बेच्ने कोही पनि छैनन् ।