काठमाडाैं । लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ११ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.४६ प्रतिशतले बढी हो ।
बैंकले गत आवको पहिलो त्रैमासमा ९ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा बैंकले २ करोड ११ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ ।
बैंकको प्रतिसेयर आम्दानी १६.४५ रुपैयाँ रहेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात १३.१९ गुणा र प्रतिसेयर नेटवर्थ १६०.९८ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, गत वर्ष १३ करोड ८४ लाख रुपैयाँ रहेको बैंकको सञ्चालन मुनाफा चालु आवमा बढेर १५ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।
गत असोज मसान्तमा बैंकले खुद ब्याज आम्दानीबापत २४ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको यही अवधिमा ३० करोड ६९ लाख रुपैयाँ थियो ।
बैंकले समीक्षा अवधिमा ३२ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब ४५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष सोहि अवधिमा बैंकले २८ अर्ब ५ करोड रुपैयाँ निक्षेप संकलन गरी २४ अर्ब २४ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।
बैंकको जगेडा कोषको रकम बढेर १ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । जुन गत आवको तुलनामा ९.५६ प्रतिशतले बढी हो । विकास बैंकले गत वर्षको सोहि अवधिमा १ अर्ब ३१ करोड रुपैयाँ सञ्चित गरेको थियो ।
बैंकको एनपीएल २ प्रतिशतबाट बढेर २.३६ प्रतिशत पुगेको छ । बैंकको आधार दर घटेर ९.६५ प्रतिशतमा झरेको छ ।